‘राइट थ्रु सिन्धुलीगढी’ साइकल यात्रा काठमाडौँबाट सुरु, पर्यटन मन्त्रीबाट उद्घाटन

मंसिर ६, काठमाडौँ । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा काठमाडौँस्थित पसुपति क्षेत्रबाट सुरु भएको छ । आज (शुक्रबार) बिहान पर्यटन मन्त्री योगेश भट्टराईले साइकल चढेर राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको उद्घाट गरे ।   

हरेक वर्ष झैँ यस वर्ष पनि समृद्ध सिन्धुली अभियानले साइकल यात्राको आयोजना गरेको हो । यस वर्षको यात्रामा १६७ जना साइकलयात्री सहभागी भएका छन् । त्यसमा १ सय ४८ जना पुरुष र म १८ जना महिलाहरुको सहभागिता रहेको राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीले जानकारी दिइन् । साइकल यात्री महिलाहरुलाई यस वर्ष संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिल प्रायोजन गरेको छ ।   

संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न विगत चार वर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ ।   

संयुक्त राष्ट्र संघले लैङ्गिक विभेद बिरुद्धको १६ दिने अभियानकै सन्दर्भ पारेर यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई प्रायोजन गरेको हो ।   

राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नेछन् । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएको साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको ब्यवस्था गरेर भब्य स्वागत गर्ने तयारी गरेका छन् ।   

सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव गर्ने भएको छ । साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । त्यहाँ भब्य सांस्कृतिक कार्यक्रम हुने छ । दोस्रो दिन साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव हुने छ ।   

त्यहाँ प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नेछन् । त्यसपछि साइकल यात्रीले ऐतिहासिक सिन्धुली गढी पुगेर त्यहाँका सम्पदाको अबलोकन गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *