धरानमा उपचिर्वाचनको लहरः नेकपाले सार्वजनिक गर्यो उम्मेद्वार

कात्तिक १९, धरान । आउँदो मंसिर १४ गतेको उपनिर्वाचनको लागि धरानमा दलहरुले आफ्ना अभियानलाई तिब्रता दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले हिजो औपचारिकरुपमा धरानमा मेयरको उम्मेद्वार घोषणा गरेसँगै दलहरु चुनाबी मैदानमा उत्रिएका हुन् । 

यसअघि प्रमुख प्रतिपक्षले तिलक राईलाई सर्वसम्मत उम्मेद्वार घोषणा गरिसकेको अवस्थामा नेकपाले हिजो प्रकाश राईलाई उम्मेद्वार घोषणा गर्यो । धरानमा समाजवादी पार्टी, लिम्बुवान मञ्च र एक स्वतन्त्र उम्मेद्वारले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् । 

नेकपाले हिजो सोमवार उपमहानगर निर्वाचन परिचालन कमिटि तथा उम्मेदवार घोषणा गर्दै धरानको सर्वाङ्गिण विकासमा नेकपाको विकल्प नभएको बताएको छ  । कार्यक्रममा नेकपाका सुनसरी जिल्ला सदस्य प्रकाश राईलाई मेयर पदको उम्मेदवारको रुपमा घोषणा गरियो ।   

नेकपाले केन्द्रमा प्रकाश राईसँगै, चोत्लुङ, वेणु काफ्ले र विजय राईको नाम पठाएको थियो । नेकपाको  आइतबार बसेको सचिवालय बैठकले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।   

नेकपाले निर्वाचनकै लागि अनुगमन तथा सुपरीवेक्षण समितिका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज धर्मराज निरौलाको संयोजकत्वमा ५३ सदस्यीय कमिटि गठन गरेको छ । प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव रमेश बस्नेत संयोजक रहने गरी २१०५ सदस्यीय उपमहानगर निर्वाचन परिचालन समिति समेत गठन गरिएको घोषणा गरियो । 

निर्वाचन परिचालक समिति संयोजक बस्नेतले उक्त समितिमा धरान घर भएका सबै जिल्ला सदस्य, नगर र वार्डका सदस्यहरु, जनप्रतिनिधिहरु, साविक एमाले र साविक माओवादीका जनसंगठनका नगर र सोभन्दा माथिका सबै सदस्यहरुलाई समेटिएको बताए ।   

नेकपाले अशोक राईको संयोजकत्वमा जनपरिचालन उपसमितिको गठन गरेको छ । उक्त समितिअन्र्तगत ज्येष्ठ नागरिक, महिला, युवा तथा विद्यार्थी, बुद्धिजिवि, मजदुर, जनजाति र दलित लगायत विभिन्न क्षेत्रको जिम्मेवारी तोकिएको छ । निर्वाचनकै लागि स्रोत व्यवस्थापन तथा आर्थिक उपसमिति संयोजकमा मिनकुमार सुब्बा, प्रचारप्रसार तथा प्रकाशन उपसमिति संयोजकमा भीम राई ज्वाला, कानुनी परामर्श उपसमिति संयोजकमा पदम लिम्बु रहेका छन् । 

कार्यालय समन्वयन उपसमितिको जिम्मेवारी धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, राजनीतिक दलहरुसँग अन्तर संवादको जिम्मेवारी इन्द्र राईलाई दिइएको छ । 

चुनाबी प्रचासप्रसारलाई तिब्रता दिन नेकपाले आज मंगलबारदेखि वडास्तरमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । भने, वडास्तरीय निर्वाचन परिचालन समिति पनि गठन गर्ने र प्रचार सामग्री तयार गर्ने बताएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *