वीपी प्रतिष्ठानमा अर्को चेक काण्ड, अधिकारै नपाइ अस्पताल निर्देशकले दिए लाखौं भुक्तानी

कात्तिक २२, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्को चेक काण्ड घटेको छ । ०७५ बैंशाख २३ गते प्रतिष्ठानसँग कुनै कारोवार र साइनो नभएका जीवन पौडेलले भुक्तानी लिएको जस्तै प्रकृतिको घटना पुनः घटेको छ ।   

२०७५ बैशाख २३ गते एनआइसी एशिया बैंकमा रहेको प्र्रतिष्ठानको खाता नम्बर २३४१०१४८०५५२४०१४ को चेक नम्बर १६७५०६५० बाट जीवन पौडेलको नाम काटिएको चेक काण्डले प्रतिष्ठान बद्नाम भएपछि रातारात उक्त चेकको रकम पुनः प्रतिष्ठानको खातामा जम्मा गरिएको थियो । उक्त विषयमा अझै छानविन चलिरहेको छ । 

यो काण्ड प्रतिष्ठानका निलम्वित रजिष्ट्रार तुलवहादुर श्रेष्ठको निर्देशनमा भएको थियो भने, अहिले घटेको नयाँ चेक काण्डमा अस्पताल निर्देशक डा. गौरीशंकर शाहको प्रत्यक्ष भूमिका रहेको देखिएको छ ।  

मकालु खबरलाई प्राप्त सुचना अनुसार गत भदौ १९ गते सनराइज बैंकको ४ लाख ८० हजारको चेक विना काम र विना आधार एउटा ब्यक्तिका नाममा काटिएको छ । सुमसेन थापाको नाममा काटिएको उक्त चेक भदौ २७ गते सनराइज बैंकको मिर्चैया शाखाबाट साटिएको छ । स्रोतका अनुसार चेक अस्पताल निर्देशक डा.गौरीशंकर शाहले काट्न लगाएका हुन् । चेकमा उनकै हस्ताक्षर छ । प्रतिष्ठान स्रोत अनुसार उक्त चेक एक वर्ष अघि ल्याइएको थियो । 

रोचक कुरा यो छकि, भाद्र १९ गते अस्पताल निर्देशकले चेकमा हस्ताक्षर त गरे, तर उनलाई चेकमा हस्ताक्षर गर्ने अधिकार नै थिएन । अधिकार नै नदिइएको अवस्थामा कसरी चेक काटियो ? प्रश्न उठेको छ । वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा. राजकुमार रौनियारले पनि उक्त समय अस्पताल निर्देशकलाई चेकमा हस्ताक्षर गर्ने अधिकार नभएको बताए । ‘अस्पताल निर्देशकलाई चेक काट्ने अधिकारै थिएन, कसरी दिइयो ?’ उनले भने । 

सुमसेन थापाले सनराइज बैंकको चेक नं. ५४०२११० बाट पैसा निकालेका छन् । उक्त पैसा निजलाई किन र केका लागि दिइयो प्रतिष्ठानको लेखा शाखालाई समेत थाहा छैन ।   

बैंकका मिर्चैया शाखाका कर्मचारी अमित कुमारले चेकको डिटेल्स बैंकको क्षेत्रिय कार्यालय इटहरी पठाइ सकिएको जिकिर गरे । ‘सुमसेन थापाको नाममा काटिएको चेकको डिटेल्स इटहरी पठाइसकेका छौं, उतै बुझ्न्होस ।’ मकालु खबरसँग ती कर्मचारीले भने । बैंकको क्षेत्रिय कार्यालय इटहरीले प्रतिष्ठानले उक्त चेकका विषयमा छानविन गर्न निवेदन दिएकोले मिर्चैया शाखाबाट आवश्यक जानकारी लिएको बताएको छ ।   

बैंकले मिर्चैया शाखाबाट सुमसेन थापा स्वयंले आफ्नो परिचय पत्र दिएर चेक साटेको जिकिर गरेको छ । मकालु खबरलाई प्राप्त जानकारी अनुसार सुमसेन थापा काठमाडौंका नाक कान घाँटीका चिकित्सक हुन । यद्यपि, उनको विषयमा अन्य जानकारी प्राप्त भएको छैन । दुई चार दिन भित्रै छानविन सकिने बुझिएको छ ।   

उक्त समय प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार ८ लाख घुस काण्डमा निलम्बनमा परेका थिए भने, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ लगायत अन्य कर्मचारी समेत भ्रष्टाचारमा मुछिएर निलम्बित भएका थिए । सोहि बखत अस्पताल निर्देशक डा. गौरीशंकर शाहकै निर्देशन र हस्ताक्षरमा उक्त चेक सुमसेन थापालाई दिइएको प्रतिष्ठान स्रोतको दावि छ ।   

प्रतिष्ठानको लेखा शाखामा समेत चेक किन दिइयो पुरा विवरण छैन । प्रतिष्ठानकी लेखा प्रमुख रुपा सिंघाँची अग्रवाललाई केहि जानकारी नै छैन । ‘मलाई यो विषयमा केहि जानकारी छैन, म त्यत्तिबेला विदामा थिएँ ।’ अग्रवालले मकालु खबरसँग भनिन् । प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर शाहसँग यस विषयमा कुरा गर्न सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *