बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद तीन दिने भ्रमणको सिलसिलामा नेपाल आउने

कार्तिक २३, काठमाडौँ ।  बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आगामी मंगलबार तीन दिने भ्रमणको सिलसिलामा नेपाल आउने भएका छन् ।   

परराष्ट्र मन्त्रालयले आज  एक विज्ञप्ति मार्फत बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको हो ।   

बंगलादेशका राष्ट्रपति  नेपाल आउँदा राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नेछिन् । यस्तै उनले राष्ट्रपति हमिदको सम्मानमा रात्रिभोजको समेत आयोजना गर्ने परराष्ट्र मन्त्रालयले बताइएको छ ।   

भ्रमणका क्रममा हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।   

राष्ट्रपति हमिदले काठमाडौंँका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको भ्रमणका साथै पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   

सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि १९७२ मा नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।   

परराष्ट्र मन्त्रालयको अनुसार  बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *