अर्जेन्टिना र उरुग्वे बराबरीमा रोकिए

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र उरुग्वेले बराबरी खेलेका छन् । गएराती भएको खेलमा अर्जेन्टिना र उरुग्वे २–२ को बराबरीमा रोकिए ।
कप्तान लिओनेल मेस्सीले इन्ज्युरी समयमा पेनाल्टी गोल गरेपछि अर्जेन्टिना दक्षिण अमेरिकी टोली उरुग्वेसँग बराबरीमा रोकिएको हो ।
खेलको ३४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछाडी परेको अर्जेन्टिनालाई सर्जियो अगुएरोले ६३ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । उनले मेस्सीको फ्रिकिकमा हेडर मार्फत गोल गरे । तर त्यसको ४ मिनेट नबित्दै उरुग्वेका लुइस स्वारेजले फ्रिकिकमा आकर्षक गोल गर्दै खेल २–१ को स्थितिमा पुर्याए ।

तर, इन्ज्यूरी समयमा उरुग्वेका डिफेन्डर मार्टिन कासेरेसले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिए । उक्त अवसरलाई मेस्सीले सदुपयोग गर्दै अर्जेन्टिनाको हार टारे ।
बार्सिलोना स्टार मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा फर्केपछि लगातार दोस्रो खेलमा गोल गरेका हुन् । उनले शुक्रबार ब्राजिलविरुद्ध भएको सुपरक्लासिको खेलमा पनि गोल गरेका थिए । उक्त खेलमा अर्जेन्टिनाले पेनाल्टीबाटै १–० ले विजयी भएको थियो ।








