रूप ज्योति विरुद्ध मुद्दा नचलाउने सरकारी वकिलकाे निर्णय


कार्तिक २९, काठमाडौँ । ठगी आरोपमा पक्राउ परेका ब्यवसायी तथा पूर्व अर्थ सहायक मन्त्री रुप ज्योति विरुद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गरेको छ ।
मुद्दा नचलाउने निर्णय गरेसँगै उक्त कार्यालयले उनलाई हाजिरी जमानतमा छाडिदिन पत्र काटेको जिल्ला न्यायाधिवक्ता नुमराज खनालले बताए । उनले भने -“मुद्दा नचल्ने भएपछि थुनामा राख्न मिल्दैन यसकारण महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरेको छौ”
उनका अनुसार रूप ज्याेति विरुद्ध परेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिललाई फाइल बुझाएपछि सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरिएको हो ।
कार्तिक २१ गते बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका रुप ज्योतिको यस अघि यो मुद्दा देवानी प्रकृतिको भएको हुँदा फौजदारी अभियोग आकर्षित नहुने निर्णय जिल्ला अदालत काठमाडौँले गरेको थियो ।
ठगी मुद्दामा उजुरी परेपछि रुप ज्योति सँगै प्रहरीले उनकी छाेरी सुरुचीलाई पनि कार्तिक २२ गते पक्राउ गरिएकाे थियाे ।
