‘ओली सरकारले सम्पूर्ण मौका खेर फाल्यो’


कार्तिक २५, काठमाडौं । अध्यक्ष पशुपति शमशेर जबराले नेपाली जनताको चाहनाविपरित नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाईएकोमा आफूहरुको सुरुदेखि नै आपत्ति रहेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘यो एजेण्डा जनतालाई सोधेर लादिएको होइन । बिना छलफल र बिना जनअनुमोदन यो मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाईयो, यो अपराध हो ।’ उनले नेपाललाई संविधानतः हिन्दूराष्ट्र नबनाएसम्म आफूहरुको अभियान आन्दोलन, संघर्ष र अभियान जारी रहनेपनि विश्वास दिलाए ।
नेपाल विश्वमै एक्लो हिन्दूराष्ट्र भएको गौरवशाली ईतिहास सुनाउँदै आफूहरु नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्ने अभियानमा लागेको सुनाए । उनले भने, ‘नेपाल हिन्दूराष्ट्र भए विश्वभरिका धार्मिक पर्यटकहरु नेपाल आउँछन् । यहाँको पर्यटनको ठूलो विकास हुन्छ । यसतर्फपनि सबैले ध्यान दिनुपर्छ ।’
फरक प्रसंगमा उनले वर्तमान सरकार गठन भएको २० महिना बितिसक्दा पनि सरकारले आफ्नो सुनौलो मौका खेर फालेको आरोप लगाए । उनले भने, ‘यो दुई तिहाई बहुमतको साम्यवादी सरकार गठन भएको एक वर्ष ८ महिना भइसक्यो, तर यो सरकारले सम्पूर्ण मौका खेर फाल्यो । यो अवधिमा सरकारको तर्फबाट खास केही काम भएको छैन ।’
सरकारले आफू सर्वहाराहरुको प्रतिनिधित्व भनेपनि यथार्थमा त्यस्तो नभएको उनको टिप्पणी छ । उनले सरकारबाट विकाससम्बन्धी ठोस केही पनि काम नभएको जिकिर गरे । उनले भने,‘सरकारले जनहितमा केही पनि काम गर्न सकेन । सरकारले बास्तवमा अनहोनी मौका पुरै खेर फालेको छ ।’
अध्यक्ष जबराले कालापानी, लिपुलेक नेपालकै भू–भाग भएको सुनाए । १९६२ मा भारत र चीनबीच युद्ध हुँदादेखि नै लिपुलेकमा भारतीय चेक पोष्ट बसेको र यसबारेमा यसअघिका कुनैपनि सरकारले कुरा उठान नसकेको उनको गुनासो छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा हालै बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको सुनाउँदै सरकारले आफ्नो कुटनीतिक कौशल प्रदर्शन गरेर सीमा विवादको समाधानको काम पार लगाउनुपर्ने अध्यक्ष जबराको भनाई छ ।
त्यस्तै पार्टीले नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित यही कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ ।
पार्टीका अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर जबराको संयुक्त नाममा जारी विज्ञप्तीमा भनिएको छ, ‘सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुको आधारशीला हो । यसै मान्यता शिरोधार्य गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले आगामी कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा सम्पन्न गर्नेछ ।’
पार्टीले दिएको जानकारी अनुसार माता सीताको जन्मभुी जनकपुरधामबाट माता सीताको समाधिस्थल चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ ।
‘यो रथ यात्रालाई सार्थक र उपलब्धिमुलक बनाउन व्यापक जनसहभागिताको आवश्यकत्ता पर्दछ नै । यस सन्दर्भमा मुलूकलाई हिन्दूराष्ट्र कायम गर्ने यस अभियानमा सम्पूर्ण नेपाली जनताको साथ, सहयोग र समर्थनको लागि हामी अपिल गर्दछौं’, राप्रपा (संयुक्त) द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जनताको राय बिना लादिएको धर्म निरपेक्षता हाम्रो मूलुक, देश काल परिस्थिति अनुकुल नभएको राप्रपाको भनाइ छ ।
