राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले दिए राजीनामा

असोज २८, काठमाडौं । पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् ।
१० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान रहेका खड्काले आज प्रेस विज्ञप्ति जारी गरी राजीनामाको घोषणा गरेका हुन् ।
सन् २००९ यता राष्ट्रिय टोलीका कप्तान बनेका पारस नेपाली क्रिकेट टोलीका सफल कप्तान मानिन्छन् । युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट उनलाई राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी दिइएको थियो।

पारस खड्काले नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्ने वर्ष खेलाडी उपाधि दुई पटक प्राप्त गरिसकेका छन् । उनले वि.सं. २०६६ र २०६९ को वर्ष खेलाडी उपाधि समेत जितेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसको नेतृत्वमा नेपालले वि.सं. २०६९ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो भने एकको फाइनलमा पुगेको थियो ।
पारस कप्तान रहेको टिमले मलेसियामा सम्पन्न आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन–४ र त्यस लगत्तै दुबईमा एसिसी एलिट ट्रफी २०१३ को उपाधि जित्यो । त्यस्तै चैतमा नेपालमा सम्पन्न एसिसी टि–ट्वान्टी कप २०१३को फाइनल खेलेको थियो । एसिसीका दुबै प्रतियोगितामा पारस ‘म्यान अफ द सिरिज’ बने ।
उनकै नेतृत्वमा सशस्त्र प्रहरी बल (एपिएफ) ले घरेलु प्रतियोगितामा पनि सफलता चुमेको थियो ।








