गुण्डा लगाएर विद्यार्थी कुट्ने अन्सारीसँग प्रधानमन्त्रीको साँठगाँठ किन ?

कार्तिक ८, काठमाडौं । चिकित्सा शिक्षा संघर्ष समितिले नेश्नल मेडिकल कलेज वीरगञ्जमा कलेज सञ्चालक तथा निजी मेडिकल कलेज एसोशिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट तथा हातपात गरेको भन्दै घटनाको निन्दा गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै संघर्ष समितिले हिजो कार्तिक ७ गते भएको घटनाको उक्त मेडिकल कलेजका सञ्चालक अन्सारीकै उपस्थिति र निर्देशनमा जायज माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि हातपात, विद्यार्थीको गाडी तोडफोडजस्ता अमानविय र घृणित घटना घटाइएको भन्दै घोर भत्र्सना गरेको हो ।
चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्द र चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टको संयुक्त नाममा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजो राति होस्टल परिसरभित्रै केही स्थानीय गुण्डा र आफ्नो नजिकका सिनियर विद्यार्थीद्वारा गरिएको निर्घात कुटपिटजस्ता अपराधिक घटनाले हामी विद्यार्थीहरु स्तब्ध भएका छौं । राज्यको न्यायिक निकाय र अस्पताल सञ्चालनको माफियामुखी र भ्रष्टाचारमुखी प्रणालीप्रति विद्यार्थीको अविश्वास छ । राज्य र अस्पताल प्रशासन दुवै विद्यार्थी र आम नागरिकप्रति गैरजिम्मेवार बन्दै जानुको परिणाम स्वरुप उक्त घटना भएको हो भन्नेमा दुई मत छैन ।’

चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्दले हिजो भएको घटनाको कडा निन्दा गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोटो खिचाएर नेश्नल मेडिकल कलेज वीरगञ्जका सञ्चालक अन्सारीले आफू शक्तिशाली भएको देखाउन खोजेको टिप्पणी गरे ।
उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यू, तपाईसँग खिचेको तस्विरको अन्सारीले दुरुपयोग गरिरहेका छन् । यसबारेमा हामी तपाईंको ध्यानाकार्षण गराउन चाहन्छौँ ।’
विद्यार्थीसँग चर्को शुल्क असुल्ने अन्सारीजस्तालाई राजनीतिक संरक्षण नदिन पनि उनले प्रधानमन्त्री ओलीसँग आग्रह गरे । उनले भने, ‘विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरेर आफ्ना जायज माग राखिरहेको अवस्थामा कलेज प्रशासनले ज्यादती गर्दापनि सरकार मुकदर्शक हुनु दुःखद् हो । हामी माग पूरा नभएसम्म संघर्षलाई निरन्तरता दिन्छौँ ।’
उनले मेडिकल माफियाहरुले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर विद्यार्थीमाथि चरम दमन र शोषण गरेको हो भने आफूहरु सडक संघर्षमा एप्रोसनसहित कडा रुपमा उत्रिने चेतावनी दिए । प्रधानमन्त्री ओलीले थ्रेट गर्नुपर्ने मान्छेसँग तस्विर खिचाएर उल्टै संरक्षण गर्नु दुर्भाग्य भएको पनि उनको टिप्पणी छ ।
शक्तिको आडमा बसेर अन्सारीले विद्यार्थीहरुको गाडी तोडफोड गर्न लगाएको घटनाको पनि उनले कडा निन्दा गरे । उनले भने, ‘विद्यार्थीको गाडीमाथि किन तोडफोड भयो ? यसको प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिन्छ ।’
आफूहरुको माग पूरा नभएसम्म एम.बि.बि.एस.को पहिलो र दोस्रो वर्षको वार्षिक परीक्षा हुनै नदिने पनि उनले चेतावनी दिए । उनले आफूहरुले उठाएको विषय कुनै संघ, संस्थाको भन्दापनि राष्ट्रको विषय भएको स्पष्ट पारे ।
त्यस्तै, कार्यक्रममा समितिका प्रवक्ता नरेश भट्टले मुलुकबाट निरंकुशता हटेको भनेर दाबी गरिए पनि हिजोको घटनाले अझै पनि मुलुकमा निरंकुशताको अवशेष बाँकी नै रहेको टिप्पणी गरे । उनले भने, ‘विद्यार्र्थीहरुले शान्तिपूर्ण आन्दोलन गर्दा कलेज प्रशासन, खासमा सञ्चालक अन्सारी आफैँ उपस्थित भएर विद्यार्थीमाथि हातपात, कुटपिट र अमानवीय व्यवहार भएको छ । यो हाम्रो लागि कुनैपनि हालतमा क्षम्य छैन । हामी निरन्तर संघर्षमा छौँ ।’
उनले सरकारले मेडिकल माफियाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरे । उनले आफूहरुले संघर्ष समिति गठन गरेको नै दुई महिना व्यतित भएको र यो बीचमा बढि शुल्क फिर्ता गर्ने सहमति भएतापनि अहिलेसम्म कार्यान्व्यन नहुनु दुःखद् भएको टिप्पणी गरे ।
उक्त घटनाबारे सरकारले तत्काल छानबिन गरि संलग्न जो कोही भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने समितिको माग छ । ‘उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुको अधिकारको सुनिश्चित गरी जनधनको रक्षा गर्न सम्बन्धित सबै सरोकारवाला निकाय, गृह प्रशासन, प्रदेश सरकार र मानवअधिकारकर्मीलाई विनम्र अनुरोध गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।








