प्रधानमन्त्री ओली दोहामा, आजै काठमाडौँ आइपुग्ने

कात्तिक, १० काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् ।
दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्ववाज वाग्ले र नेपाली दूतावासका अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गरेका थिए । यही कात्तिक ८ र ९ गते भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालबाट बाकुका लागि प्रस्थान गरेका थिए ।
यसअघि बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई अजरबैजानका यातायात, सञ्चार तथा उच्च प्रविधिमन्त्री रमीन गुलुजादे, उपविदेशमन्त्री रामिज हुसेनोभ र विदेश मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुले बिदाइ गरे ।
null
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेश छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान काठमाडौँ पुग्ने छन् ।








