सरकारी कार्यालयमा भनसुन र घुस, कानुन बनाउने नै कठघरामा, उपचार भन्दै यौन शोषण, पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

अशोज ३०, काठमाडौँ । आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरकफरक विषयलाई लिएर समाचार छापेका छन् ।   

शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ 

नेपाली समाजमा वर्षौँ परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ ।   

null

शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो । तर, वर्तमान सरकारले अपराध कर्म गरेका र शक्तिमा रहेकालाई समेत धमाधम पक्राउ गर्न थालेपछि भने केही आशा पलाएको छ तर कानुनी राजका यस्ता शृंखलाले निरन्तरता पाउलान् ? सर्वत्र चासोका साथ यस्तै प्रश्न सोध्न थालिएको छ । 

जनताबाट विश्वासको मत पाएर निर्वा्चित भएपछि माननीय (सांसद) बनेका वा त्यसअघि उनीहरूले गरेका गलत क्रियाकलापको धमाधम भेद खुल्न थालेपछि उनीहरू पक्राउ पर्ने शृंखला बढेको हो । विगतमा राजनीतिक शक्तिका आडमा विभिन्न गतिविधिमा सक्रिय रहेका सांसद तथा नेताविरुद्ध परेका उजुरीउपर प्रहरीले धमाधम एक्सन लिन थालेपछि उनीहरू पक्राउ परी कानुनी प्रक्रियामा आउन थालेका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।   

उपचार भन्दै यौनशोषण 

धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । 

निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ ।   

दक्षिणकाली, चान्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई करकाप र झुक्यानमा पारी एवं शरीर बन्दक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो । उच्च अदालतको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ ।   

लामाकी सहयोगी मनीषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।   

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक 

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको प्रयासमा भारतीय भूमि तथा पूर्वाधार प्रयोग गर्नुपर्ने हुन्छ । 

यसका लागि आवश्यक छलफल गर्न भारतको विदेश मन्त्रालयले नेपाल–भारत–बङ्गलादेश ऊर्जा सचिव स्तरीय त्रिपक्षीय बैठक बोलाउने भएको छ । मङ्गलबार भारतको बैङ्गलोरमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठकमा भारतको विदेश मन्त्रालयले यस्तो बैठक तीन महिनाभित्र आह्वान गर्ने सहमति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।   

भारतका विद्युत् मन्त्रालयका सचिव एससी गर्ग र नेपालका ऊर्जा सचिव दिनेश घिमिरेको नेतृत्वमा सचिव स्तरीय बैठक सम्पन्न भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापेको छ । 

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो 

पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । 

पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको टर्कीमा २१.८ प्रतिशतको वृद्धिदर छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर छ । 

पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । त्यस्तै सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बढी पनि हो । 

प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि छ । ६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।   

सरकारी कार्यालयमा अझै भनसुन र घुस 

मुलुक संघीय शासन प्रणालीअनुसार सञ्चालन भइसक्दासमेत अधिकांश सरकारी कार्यालय अझै पनि सोसफोर्स, भनसुन र घुसका आधारमा चल्ने गरेको पाइएको छ ।   

जसका कारण संघीय शासन प्रणालीमाथि चुनौती थपिएको प्रशासनविद्को भनाइ छ ।  राष्ट्रिय सर्तकता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका नियामक निकायले विभिन्न सरकारी कार्यालयमा गरेका नियमित अनुगमन तथा छड्के निरीक्षणका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । यस्तो तथ्यसँगै यी निकायमा अनुगमन बढाइएको छ । 

नियामक निकायका अनुसार विशेषगरी मालपोत कार्यालय, नापी, यातायात कार्यालय, श्रम विभाग तथा कार्यालय, वैदेशिक रोजगार विभाग र मातहतका कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, राजस्व कार्यालय, खानेपानी तथा सिँचाइका विभिन्न कार्यालय, सडक विभाग र मातहतका कार्यालय, स्थानीय तहलगायतका निकायमा अझै पनि घुस तथा सोर्सफोर्स र भनसुनका आधारमा मात्रै काम हुने गरेको पाइएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्तकता केन्द्रले विभिन्न समयमा गरेका अनुुगमनका क्रममा ती कार्यालयको काम कारबाही र सेवा प्रवाहसमेत निकै कमजोर रहेको पाइएको हो । 

कार्यालयमा हुने यस्ता क्रियाकलापका कारण सेवाप्रवाहमा ढिलासुस्ती भएको भन्दै सतर्कता केन्द्रमा केही उजुरी समेत आउने गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।   

कानुन बनाउने नै कठघरामा 

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरु निलम्बनमा परेका छन् ।   

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ । 

सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी फागुनमा निधन भएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =