नेपाल प्रहरी जेसीज विकास रनिङ शिल्ड प्रतियोगिताको फाइनलमा

कार्तिक ७, चितवन ।  नेपाल पुलिस क्लब नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार भएको प्रतिस्पर्धात्मक दोस्रो सेमीफाइनल खेलमा संकटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली उपाधि नजिक पुगेको हो । 

 मध्यान्तरअघि गोलरहित बराबरी खेलेको पुलिसका लागि दोस्रो हाफको २७ औं मिनेटमा जर्सी नम्बर १६ का सौजन याक्खाले गोल गरे । सुमन लामाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रीकिक गोलरक्षकले पञ्च गरेपछि रिबाउण्डमा सौजनले सुन्दर गोल गरे । निर्णायक गोल गरेका सौजन म्यान अफ दी म्याच घोषित भए । 

विकास रनिङ शिल्ड फुटबल प्रतियोगितामा पुलिस क्लब फाइनलमा

खेलमा पहिलो हाफ संकटाले सुन्दर मौकाहरु गुमाएको थियो । दोस्रो हाफ भने पुलिसले आफ्नो नियन्त्रणमा लिएको थियो । तैपनि पाएका कयौं मौका पुलिसले पनि गुमायो । 

पुलिसले अब उपाधिका लागि कात्तिक ९ गते शनिबार चितवन–११ को सामना गर्ने छ । चितवन यसअघि नै बुधबार तुलनात्मक बलियो त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ । 

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *