चाडपर्वको सम्बर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति सम्मान एवं प्रेमको भावना जागृत गर्न सहयोग पुग्नेः राष्ट्रपति

असाेज २१, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्बर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताएकी छिन् ।
“हाम्रो मुलुकमा परम्परागत रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सुदृढ गर्नका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन्,” राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा विजयादशमी पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो संविधानले सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बर्द्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको स्मरण गराएका छन्।
हाम्रो देशमा मनाइने सबै चाडपर्वले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आइरहेको उल्लेख गर्दै उपराष्ट्रपतिले सन्देशमा विजयादशमीकोे माध्यामबाट त्यो अक्षुण् रहने र अझ उन्नत हुँदै जाने विश्वास व्यक्त गरे।








