‘नेवाः समुदायले भाइटीका १२ गते नै गर्नुपर्छ, १३ गते सम्भव छैन’

विभिन्न चाडवाड, संस्कारका धनी तथा काठमाडौं उपत्यकामा आदिकालदेखि नै बसोवास गर्दै आएका आदिवासी नेवाः (नेवार) समुदायमा यो वर्ष तिहार पर्व कहिले मनाउने भन्नेमा मत विभाजित छ ।
नेवार समूदायमा औंसीका दिन म्हः पूजा गर्नु हुँदैन भन्ने मान्यता तथा तीथिमा हुन आएको घटबढीका कारण तिहार कहिले मनाउने भन्नेमा अन्यौलता छ । कुनै समुदाय कार्तिक १०, ११ र १२ गते लक्ष्मी पूजा, म्हः पूजा र भाइटीका मनाउने पक्षमा छन् भने कोही ११, १२ र १३ गते मान्ने पक्षमा छन् ।
कतिपय नेवार समुदायमा भाइटिकाको दिनमा म्हः पूजा र भोलिपल्ट (१३ गते) भाइटिका मनाउने कुरा चलिरहँदा नेवाः देय् दबू जिल्ला कार्य समिति गोरखाका अध्यक्ष देवी प्रसाद श्रेष्ठ भने ११ गते म्हः पूजा र १२ गते नै भाइटीका मनाउनु उत्तम हुने बताउँछन् ।

उनी भन्छन्– ‘ज्योतिषशास्त्र अनुसार २ मास हुन्छ । सूर्यमास र चन्द्रमास । नेवार समुदायले भने व्रत, तिथि, धर्म, कर्म यी सबैमा चन्द्रमासलाई मान्छ । म्हः पूजा पनि बेलुका गरिन्छ । यो वर्ष औंसीका दिन बेलुका परेवा तिथि लाग्छ । त्यसैले ११ गते नै म्हः पूजा गर्दा हुन्छ । १२ गते बेलुका त द्वितीया लागिसक्छ ।’
विभिन्न ठाउँमा १३ गते भाइटीका मनाउने सुन्नमा आएको प्रसंग उल्लेख गर्दै उनले १२ गते नै तिथि राम्रो रहेको बताए । उनले भने, ‘नेवार समुदामा ठिक लगन भन्दा पनि द्वितीयाका दिनभरी भाइपूजा गर्ने प्रचलन छ । १३ गते द्वितीया ११ पला मात्रै छ । १ घडी पनि छैन । भाइटीका मनाउनै भ्याइँदैन ।’
सबैका आ–आफ्नै ठाउँ, समुदाय, कुल तथा संस्कृति अनुसार गर्दा हुने तथा कसैले हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ छ ।
कस्तो छ यो वर्षको तिथि ?
लक्ष्मी पूजा बेलुकी मनाइन्छ । कार्तिक १० गते बिहान ११ः४५ पछि औंसी परेका कारण सोही दिन बेलुकी लक्ष्मी पूजा गर्नुपर्छ । त्यस्तै कार्तिक ११ गते बिहान ९ः४३ पछि प्रतिपदा परेकाले सोही दिन बेलुका म्हः पूजा गर्नुपर्छ । कार्तिक १२ गते बिहान ७ः५१ पछि द्वितीया परेकाले सोही दिन भाइटीका लगाउदा उत्तम हुने अध्यक्ष श्रेष्ठको भनाइ छ । १३ गते भाइटीका गर्दा द्वितीया तिथि नभेट्ने पनि उनले बताए । ‘१३ गते १ घडी पनि छैन द्वितीया । तृतियाको दिनमा टिका लगाउन त भएन नि !’, उनले भने ।
विशेषगरी नेवार समुदायले लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा भनि भाइटीका मनाउँदै आएको छ । ती तीन दिनलाई नेवारहरुले स्वन्ति नखः का रुपमा मनाउँछन् । नेवा समुदायमा स्वन्द भनेको तीन दिन र नखः भनेको चाडपर्व हो ।
नेवाः विशेष पर्वः म्ह पूजा
म्ह पूजा नेपाल संवत अनुसारको नयाँ वर्षको सुरुवात कार्तिक शुक्लपक्ष प्रतिपदाको दिन नेवार समुदायले मनाउने पर्व हो । म्ह पूजा भनेको आफूले आफैँलाई पुज्ने हो ।
जुनसुकै मानवको पनि आत्मामा ईश्वर हुन्छन् भन्ने मान्यता अनुसार नेवार समुदायले म्ह पूजा गर्दै आएको नेवाः देय् दबू जिल्ला कार्य समिति गोरखाका अध्यक्ष देवी प्रसाद श्रेष्ठ बताउँछन् ।
‘हरेक व्यक्तिको आत्मामा ईश्वरको वास हुन्छ भनिन्छ । आत्मा शुद्ध होस्, आफूलाई कुनै रोगव्याधी नलागोस् भनेर दिर्घायु, सु–स्वास्थ्यको निमित्त आफैँलाई पूजा गर्छौँ’, श्रेष्ठले भने ।
कसरी गरिन्छ म्ह पूजा ?
यस दिन परिवारका सबै सदस्यहरु एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्बित गरी आफैँले आफ्नो पूजा गरिन्छ । यसका लागि परिवारको सबैभन्दा जेठोे मान्छेले पूजा गर्छन् ।
पूजाका लागि सर्वप्रथम घरको बुँइगल वा अन्य खुला कोठाको भुईँमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्इका लागि एक–एक वटा मण्डल बनाइन्छ । यसबाहेक सबैभन्दा माथि एक र सबैभन्दा मुनि एक गरी दुई वटा थप मण्डल देवताका लागि बनाइन्छ ।
त्यसपछि पानीले भरिएको गाग्रो, नाङ्लो र कुचोका लागि पनि मण्डल बनाइन्छ । मण्डललाई रंगहरु प्रयोग गरी सिंगारिन्छ र फलफुल, धूप, फूल, गेडागुडी, धान, चामल, अक्षता, अबिर राखेर, पानी रोटीको पानसहरु बनाएर आफूले आफैँलाई पूजा गरिन्छ ।
म्हः पूजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार फरक फरक रहेको पाइन्छ । सबैले आफ्नो कुलमा चल्दै आएको विधि अनुसार गर्ने गर्दछन् ।








