प्रधानमन्त्रीकाे स्वास्थ्यमा संक्रमण देखियो, दोस्रो पटक डायलासिस गरिँदै

कार्तिक १४, काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार दोस्रो पटक डायलासिस गरिँदैछ ।   

प्राप्त जानकारी अनुसार बुधबार आकस्मिक रुपमा डायलासिस गरिएको थियो । संक्रमण देखा परेपछि चिकित्सकले उपचार सुरु गरिसकेका छन् । संक्रमण निको भएपछि आज पनि डायलासिस गरिने बताइएको छ ।   

प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो । पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको चिकित्सकले जानकारी दिएका छन् । चिकित्सकका अनुसार शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढेमा मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ । दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ ।   

प्रधानमन्त्री ओली भाइटिका देखि नै अस्वस्थ थिए । दौडधुप बढी भएका कारण शरीरको तापक्रम पनि बढेको स्रोतको भनाइ थियो ।   

प्रधानमन्त्री ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । उनको दुई महिनाअघि सिङ्गापुरमा प्लाज्मा फेरेसिसमार्फत शरीरमा जम्मा भएको एण्टीबडी नष्ट गरिएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *