भन्सार कार्यालयद्वारा ८ अर्बभन्दा बढी राजश्व सङ्कलन

कार्तिक ६, मोरङ ।  विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महीनाको अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ ।   

यो लक्ष्यको तुलनामा रु चार अर्ब ९४ करोड ९३ लाख ५० हजार कमी हो । उक्त अवधिका लागि विराटनगर भन्सार कार्यालयलाई कूल रु १३ अर्ब ९४ करोड ३१ लाख ५९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । गत वर्ष सोही अवधिमा रु १० अर्ब पाँच करोड २९ लाख ९५ हजार राजश्व सङ्कलन भएको थियो । 

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक अर्ब ५७ करोड ५६ लाख ४० हजार राजश्व कम उठेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए । 

Image result for भन्सार

चालू आवमा सङ्कलित राजश्वमा भन्सार महशुलतर्फ रु तीन अर्ब ३५ करोड ९६ लाख ८९ हजार, मूल्यअभिवृद्धि करतर्फ रु चार अर्ब ४२ करोड १४ लाख ६७ हजार र अन्तःशुल्कतर्फ रु ६९ करोड ६२ लाख छन् । गएको वर्षमा सो अवधिमा भन्सार महशुल रु चार अर्ब ४३ करोड ६० लाख तीन हजार, मूल्यअभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ४८ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।   

भन्सार असुलीको प्रगति हेर्दा चालू आवको साउन महीनामा ६८ दशमलव १० प्रतिशत, भदौ महिनामा ६५ दशमलव ९९ प्रतिशत र असोज महीनामा ४९ दशमलव ७६ प्रतिशत भएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *