धरानको उपनिर्वाचनः कांग्रेसलाई अन्तरघातको डर, कम्युनिस्टलाई अलोकप्रियताको

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरान उपमहागरपालिकामा नेपाली कांग्रेसले चुनावी प्रचार–प्रसारलाई तिब्रता दिएको छ । धरानमा सत्तारुढ नेकपाले अझैपनि उम्मेद्वार छनौट गर्न नसकेको फाइदा उठाउँदै नेपाली कांग्रेस चुनाबी अभियानमा होमिएको छ ।   

धरानमा नेपाली कांग्रेसले सबैभन्दा पहिले सर्वसम्मत उम्मेद्वार घोषणा गर्दा नेकपा भने अझै अन्यौलतामा रुमलिएको छ । नेकपा भित्र उपनिर्वाचनमा मेयर पदका आकांक्षी दर्जन बढि भएपछि समस्या उत्पन्न भएको छ । यहि फाइदा उठाउँदै नेपाली कांग्रेसले भने वडा, नगर भित्र संगठन निर्माण र जनजागरण अभियानलाई तिब्रता दिएको हो ।   

‘धरानको विकास, निर्माणमा अब नेपाली कांग्रेसको विकल्प देखिएन, दुई तिहाईको कम्युनिस्ट सरकारका काम कारवाही जनताले चित्त नबुझाई रहेको अवस्थामा हामीले एक कदम अगाडी बढेर सर्वसम्मत रुपमा धरानको विकासका लागि चाहिने उम्मेद्वार छनौट गरेका छौं ।’ नेपाली कांग्रेस जिल्ला सचिब सुजेन्द्र तामाङ भन्छन् ।   

त्यसो त उपनिर्वाचन लड्नकै लागि भनेर सचिब तामाङले आफुले खाइपाई आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागीर समेत त्यागेर चुनाबी मैदानमा होमिएका थिए । तर, पार्टी र जनताको चाहना अनुरुप नगर सभापति तिलक राईलाई पुनः उम्मेद्वार बनाउने भनेपछि उनी पछि हटे ।   

आन्तरिक कलह तिलक राईको प्रमुख चुनौति 

तिलक राईलाई नेका धरान नगरसमितिले सर्वसम्मत निर्णय गरी क्षेत्रिय समितिमा पठाएको थियो । जसलाई क्षेत्रिय समितिले सर्वसम्मत रुपमा अनुमोदन गरी जिल्लामा पठाएकोले यस पटक तिलक राई स्थानीय निकायको निर्वाचनमा भन्दा बलिया उम्मेदवार भएका छन् । तथापि, आन्तरिक कलहको चुनौति भने पार्टी भित्र अझै छ ।   

गएको स्थानीय निकायको निर्वाचनमा किशोर राईलाई मेयरको टिकट दिने भनिएपनि पार्टीले तिलक राईलाई सिफारिस गर्यो । त्यसबाट रुष्ट बनेका किशोर राई लामो समयसम्म बुढानिलकण्ठ (पार्टी सभापति शेरबहादुर देउवा)को घर धाएपनि टिकट पाउन सकेनन् । अन्ततः उक्त निर्वाचनमा तिलक राईको पराजय भयो । यसपटक त्यहि दृश्य नदोहोरिएला भन्न सकिन्न ।   

तर, त्यो बेलाको र अहिलेको परिस्थिति बदलिएको स्वयं धराने कांग्रेसीहरुको भनाई छ । ‘त्यसबेला तिलक राई र किशोर राई विच अन्र्तद्वन्द्व थियो । आन्तरिक कलहले नै हामीलाई कमजोर थियौं ।’ एक नगर सदस्य भन्छन्–‘तर, अहिले परिस्थिति बदलिएको छ । राष्ट्रिय राजनीति र स्थानीय तहमा समेत नेकपा अलोकप्रिय भएको अवस्थामा हामीले सर्वसम्मत रुपमा उम्मेद्वार चयन गर्न सफल भएका छौं ।’ 

कांग्रेसले भने जसरी सजिलै धरानमा कम्युनिस्टको गढ भत्काउन सजिलो भने पक्कै छैन । फेरी अहिले एमाले र माओवादीको एकताले कम्युनिस्टहरुमा नयाँ उर्जा पैदा भएको छ । नेपालका कम्युनिस्टहरु फुटेर सकिए भन्ने उक्ती बदलिएको अवस्थामा सरकारको अलोकप्रियतालाई नै आधार बनाएर चुनाब जित्छु भन्नु कांग्रेसको कमजोरी हो । धरानको हकमा कांग्रेसले अहिलेसम्म कुनैपनि निर्वाचन जित्न सकेको इतिहास छैन । तसर्थ कम्युनिस्टहरुको आन्तरिक कलहमा खेलेर जनताको भोट जित्छु भनेर बस्नु धरानको कांग्रेसलाई घातक हुन सक्छ । २०४६ साल यता धरानको जति विकास भयो त्यसमा प्रत्यक्ष रुपमा कम्युनिस्ट नेतृत्वकै भूमिका बढि छ । र, नेकपाले पनि त्यहि कुरालाई आधार बनाउँदै उम्मेद्वार उठाउने भएकोले कांग्रेसलाई धरानमा चारतारे झण्डा गाड्नु फलामको चिउरा चपाउनु सरह हो ।   

नेकपाको अलोकप्रियतामा उमपेयरको भूमिका 

राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उखान टुक्काले नेकपालाई हावा पार्टी बनाइरहँदा धरानमा कार्यवाहक मेयर मञ्जु भण्डारीका हर्कतले पार्टी अलोकप्रिय बनेको छ । 

उपमेयर मञ्जु भण्डारीले धरानबासीको खासै मन जित्न सकिरहेकी छैनन् । धरानका लोकप्रिय मेयर तारा सुब्बाको असायमिक निधन पश्चात कार्यवाहक नगर प्रमुख भएर काम गर्दै आएकी भण्डारीका कतिपय निर्णयहरु विवादास्पद छन् । खासगरी उपमहानगरपालिका सञ्चालन, विकास निर्माण, बजेटको सदुपयोग र जनताका समस्या समाधान गर्न उनी असफल भएकी छिन् । नगरको कतिपय निर्णयमा निती र नियमावली भन्दा ब्यक्ति र परिवार नै हावी भएको आरोप उनमा छ । मञ्जु भण्डारीमा धरानका सबै दल र नागरिक समाजलाई मिलाएर लैजान सक्ने खुवी नभएपछि नेकपाको लोकप्रियता कमजोर बन्दै गएको छ ।   

यस्तो अवस्थामा तिलक राई धरानबासीको साझा उम्मेद्वार बन्न सके पासा नपल्टेला भन्न सकिन्न । तथापि, तिलक राईको स्टाटस पनि त्यत्ति गतिलो भने छैन । यातायात ब्यवसायबाट जमेका तिलक राईले धरानमा किशोर राईसँग लामो समय दुस्मनी साँधेका छन् । किशोर राई नेका धरानको सभापति, धरान फुटवल क्लबको अध्यक्ष र एन्फा उपाध्यक्ष भएको समयमा किशोर राईलाई क्लब र एन्फाबाट निकाल्न तिलक राईले अनेक हतकण्डा अपनाएको जगजाहेर छ । किशोर राईले त्यस बेला तिलक राईले खेलेको भूमिकालाई सायदै विर्सिए होलान् र ? तसर्थ, उपनिर्वाचनमा कांग्रेसले जतिसुकै एकताको डंका फुकेपनि स्थानीय निकायको परिदृश्य नदोहोरिएला भन्न सकिन्न ।   

साना दलको भूमिका 

धरानमा चलायमान दलहरु मध्ये नेपाली कांग्रेसपछि राप्रपा, समाजवादी चर्चामा आउने दलहरु हुन् । यसका अलावा अन्य राष्ट्रिय तथा क्षेत्रीय दलहरुको भूमिका नगन्य छ । यसपटक धरानको उपनिर्वाचनमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको समाजवादी पार्टीले स्थानीय गजेन्द्र इस्वोलाई उम्मेद्वार बनाएको छ । संघिय लिम्बुवान मञ्चले अमर इजमलाई उम्मेद्वार बनाएको छ । एक जनाले स्वतन्त्र उम्मेद्वार घोषणा गरेका छन् । धरान आदीबासी जनजातिहरुको शहर हो । जातिय सेन्टिमेन्टमा आधारमा यीनले केहि भोट पाउलान् तर, पार्टीगत रुपमा नेपाली कांग्रेस र नेकपाको जस्तो जनाधार छैन । त्यसकारण यीनले नेकपा र कांग्रेसको दुई चार हजार भोट काट्ने संभावना वाहेक अरु छैन ।   

धरानले यतिबेला साझा उम्मेद्वार खोजिरहेको छ । स्वर्गिय तारा सुब्बाले नेकपा एमालेको धरानको राजनीति र धरानबासीको भावना राम्ररी बुझेका थिए । उनले धरानको विकासमा सबै धरानबासीको अपनत्व हुनेगरी भिजन बनाएर काम गर्न खोजेका थिए । लामो समय स्थानीय निकाय जनप्रतिनिधि विहिन हुँदा धरानमा दलिय संयन्त्र मार्फत काम गर्दा तारा सुब्बाले बेग्लै पहिचान बनाएका थिए । त्यत्तिबेला तारा सुब्बाले खेलेको भूमिकाका कारण स्थानीय निकायको निर्वाचनमा उनले राम्रो मत पाए ।   

अब धरानमा आउने नेतृत्वले पनि तारा सुब्बाको यहि पदचापलाई पछ्याएका काम गर्न आवश्यक छ ।   

कुनै बेला धरानलाई मृत शहर भनिन्थ्यो । ०४६ साल आएपछि बृटिस लाहुरेहरुको बसोबासको केन्द्र बन्यो । स्थानीय विकासमा जनसहभागीता जुटाउँदै धरानको विकास गरियो । धरानमा जतिपनि विकास भएको छ । त्यसमा राज्यको भन्दा स्थानीय जनताको सहभागीता धेरै छ ।   

राजनीतिक रुपमा कम्युनिस्टको गढ भएकोले कांग्रेस सत्तामा रहँदा धरानलाई सधैं बक्रदृष्टिमा हेर्यो । कम्युनिस्टले कालो झण्डा देखाएको झोंकमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत गिरिजा प्रसाद कोइरालाले विराटनगर सार्न खोजेपछि कांग्रेस धेरै वर्ष धरानको नजरमा गिरेको छ । धरानमा भएका सरकारी कार्यालयलाई समेत अन्यत्र सारेर धरानलाई मृत शहर बनाउन धेरथोर कांग्रेसकै भूमिका थियो कि !  

अब धरानको विकासको लागि, धरानबासीको लागि कांग्रेसले आफुलाई बदल्नुपर्छ । यसका लागि स्पष्ट भिजन र साझा लक्ष बनाएर जनताको घरदैलोमा जान आवश्यक छ । भने, कम्युनिस्टले विगतमा पाएको लोकप्रियतालाई रक्षा गर्दै धरानको मूल समस्यामा केन्द्रित भएर राजनीति गर्न आवश्यक छ । यसका लागि पार्टीभन्दा माथि रहेर योग्य इमान्दार र स्पष्ट भिजन भएको ब्यक्ति छान्न आवश्यक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *