‘आत्महत्या आफैं कुनै रोग होइन, समस्या भने हो’

कात्तिक ९, विराटनगर । आफुले आफुलाई घात गर्नु या त आफैं मर्नु नै आत्महत्या हो । पछिल्लो समय दिनप्रतिदिन आत्महत्याका घटनाहरु बढेको पाइन्छ ।   

आत्महत्या आफैं कुनै रोग होइन तर, यावत कारणहरुले निम्त्याउने एउटा समस्या भने पक्कै हो । पछिल्लो समय मोरङ जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको पाइएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत महिना आत्महत्या गर्नेको संख्या २० जना रहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउजुले जिल्लामा आत्महत्याका घटना दोब्बर बृद्धि भएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांङक अनुसार २०७५ देखि ०६७ सम्म आत्महत्या गर्नेको संख्या ३६ रहेकोमा  २०७६ देखि ०७७ को तथ्याङमा दोब्बर बढेर ६६ को पुगेको छ । 

‘आत्महत्या शब्द आफैमा ‘फेक’ हो  यहीकारणले आफुलाई अन्त्य गरेको हो भन्ने थाहा हुदैन’ प्रवक्ता खिउजु भन्छन् ।  

सामाजिक संजाल आत्महत्याको कारण   

पछिल्लो समय प्रविधिको विकासले अत्यन्तै द्रुत गतिमा फड्को मारेको छ । अहिलेको पुस्ताले सामाजिक सञ्जाललाई सहि तरिकाले प्रयोग नगर्दा र चरम लापरवाहीको कारण अन्तिम विन्दु आत्महत्या भएको प्रहरीको निष्कर्ष छ । जिल्लामा बढेका आत्महत्याका केसको अनुसन्धान गर्दा धेरै आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण भइरहेको छ ।   

प्रवक्ता खिउजुका अनुसार अश्लिल भिडियो साथै चरित्रहत्या गर्ने नकारात्मक सामग्रीहरु सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने, त्यसैलाई आधार बनाएर ब्ल्याकमेलिङ गर्ने कारण पिडित आत्महत्याको निर्णयमा पुग्ने गरेका छन् । ‘अपरिचित व्यक्तिहरुसँग फेसबुकमा भएको क्षणभरको  चिनजानको भरमा विश्वास गरी सम्बन्ध राख्नाले पनि आत्महत्या बढेको छ । खासगरी युवायुवतिहरुमा यस्ता केस बढि छन् ।’ खिउजु भन्छन् ।   

प्रहरीले यस्ता खाल्का गतिविधिहरुलाई रोक्नका निमित्त केहि हद सचेतनामुलक कृयाकलाप गरिरहेपछि प्रभावकारी भने हुन सकिरहेको छैन । मुख्यतः सामाजिक सञ्जाल प्रयोगकर्ता आफैं सचेत नभएसम्म यस्ता घटना बढिरहन्छन् । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विशेषगरी शैक्षिक संस्थाहरुमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘सामाजिक सञ्जालको बढि दुरुपयोग टिनएजर्स युवा युवतिहरुबाट भइरहेकोले उनीहरुलाई फोकस गरी विद्यालय र कलेज स्तरका सचेतनाका कार्यक्रम चलाईरहेका छौं ।’ प्रवक्ता खिउजु भन्छन् ।   

आर्थिक विपन्नता आत्महत्याको अर्को कारण 

किशोर किशोरीहरुमा मात्र नभएर उमेर पुगेका व्यक्तिहरु पनि आर्थिक अवस्थाका कारण आत्महत्याको निर्णयमा पुग्छन् । कमजोर आर्थिक अवस्था भएर आत्महत्या गरेका घटना पनि जिल्लामा छन् । आर्थिक अभावका कारण आफुले सोँचेको जस्तो जीवनयापन गर्न नपाउनु पनि आत्महत्याको कारण रहेको प्रवक्ता खिउजुको भनाइ छ । 

विश्वव्यापी अध्ययन अनुसार लागु औषध दुव्र्यसन पनि आत्महत्याको अर्को कारण हो । ‘लागुऔषधको सेवन गर्न पैसा चाहिन्छ । यो आर्थिक पाटोसँग नै जोडिने भएकाले कहिलेकाहीँ आर्थिक अभावका कारण फ्रस्टेसन भएर पनि आत्महत्या गर्ने गरेको पाइएको छ ।’ प्रवक्ता खिउजु भन्छन् ।   

एक्लोपना   

आत्महत्या गर्नुको विविध कारणहरु भएता पनि मनोवैज्ञानिक हिसावले सामाजिक एक्लोपना पनि आत्महत्या गर्नुको एउटा कारण रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालका डा. शिखा उपाध्याय बताउँछिन् ।   

उनका अनुसार कुनै पनि मानिस जब प्रेममा फस्छ र प्रेमबाट धोका पाउँछ अन्तमा एक्लोपनाको महशुस गरेर आत्महत्याको बाटो रोज्दछ । 

आर्थिक, सामाजिक पक्षमा ठुलो नोक्सानी व्यहोर्नु पर्ने अवस्थामा समाजमा हुने एक्कासी वेइज्जतीका कारण धेरै जस्तो मान्छे आत्महत्या गर्ने गरेको डा. शिखा बताउँछीन् । ‘सामाजिक, आर्थिक रुपमा बलिया ब्यक्तिहरुलाई एक्कासी आर्थिक तथा सामाजिक प्रतिष्ठामा धक्का लाग्यो भने उनीहरु आत्महत्याको बाटो रोज्न सक्छन् ।’ डा. शिखा भन्छिन् ।   

आत्महत्या गर्न पुर्व थाहा हुन्छ 

डा. शिखा भन्छिन्–‘यदि कोहि मान्छे आफ्नो जीवनबाट हार खाएर आत्महत्या गर्न चाहान्छ भने आन्तरीकरुपमा योजना बनाउने गर्दछ ।’ उनी भन्छिन्–‘आत्महत्या गर्नुअघि आत्महत्या गर्न र बाँच्न रहर पनि लाग्ने द्विविधापूर्ण लक्षणहरु मानिसमा देखिन्छ ।’ केहिले मर्नु अगाडि आफु नजिकका कोहि व्यक्तिलाई आत्महत्याका बारेमा केहि न केहि लक्षण र भावनाहरु साटासाट गरिरहेका हुन्छन् । ‘तर यो विषयमा हामी अनविज्ञ नै रहन्छौ । ठुला मान्छे छन् भने आफ्ना व्यवहारहरु सबैलाई सुनाउने गर्दछन्, युवा पुस्ता भने इन्टरनेटको माध्यममा मृत्युको योजना खोजिरहेका हुन्छन् ।’ डा. शिखा भन्छिन् । 

आत्महत्या रोक्न सकिन्छ   

मानिसको जीवन सधैँ एकै नास हुँदैन । समयसँगै सोचाई, व्यवहारहरु परिवर्तन रहेको हुन्छ । यो विषयमा परिवारले ध्यान दिनसके केहि हदसम्म आत्महत्याका अप्रिय घटनालाई रोक्न सकिने डा. शिखाको भनाई छ ।   

दैनिक दिनचर्या भन्दा फरक व्यवहार भएमा, निराशाका कुरा मात्र गरेमा उक्त ब्यक्तिभित्र समस्या छ भनेर बुझ्न सकिन्छ यस्तो बेलामा हामीले परिवारमा एकअर्का प्रति ख्याल सद्धभाव, राखे कुनै पनि समस्यालाई एकआपसमा मिलेर समाधान गर्न सके आत्महत्या न्युनिकरण हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *