चितवनमा कार किन्ने घटे, मोटरसाईकलको सन्तोषजनक व्यापार

असोज १८, चितवन । विगतका वर्षहरुको तुलनामा यस वर्ष चितवनमा कार खरिद गर्ने ग्राहकहरुको संख्या घटेको छ । विषेशतः चाडवाडका वेला विभिन्न अफरहरु राखिने गरेतापनि यस वर्षको दशैंमा कार खरिद गर्नेको संख्या उत्साहजनक छैन । 

चाडपर्वको समय परेका कारण असोज व्यापारीका लागि अझ ठूलो उत्साहको महिना हो । किन्नेले पनि महँगा सामानका लागि दशैं, तिहार कुर्ने गर्छन् । किनकि यो समयमा बजारमा धेरै छुट पाइन्छ । तर, यो वर्ष बजारमा चहलपहल निकै कम छ ।   

गतवर्षको दशैं भन्दा यसवर्ष गाडीको व्यापार तीस प्रतिशतभन्दा बढीले घटेको चितवनको मुख्य बजारका अधिकांश गाडी बिक्रेताहरु बताउँछन् । यो ठूला बस, ट्रक तथा ट्रिपरहरुको समेत राम्रो व्यापार हुने समय हो । तर, बजारमा यी ठूला गाडीहरुको व्यापार शून्य छ । विगतलाई हेर्दा चाडपर्वको समयमा रातो नम्बर प्लेटका कारहरुको व्यापार पनि निकै हुनेगर्छ । तर, यसवर्षको व्यापारले व्यापारीलाई खल्लो बनाएको छ । चितवनमा टाटा ब्राण्डका गाडीको बिक्री वितरण गर्दै आएको सिप्रदी ट्रेडिङको अधिकारिक बिक्रेता सफल मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल भट्टराई निजी कारको व्यापार तीसदेखि चालिस प्रतिशतसम्म घटेको बताउँछन् ।   

व्यापार घट्नुको कारण ? 

गाडीको मूल्यवृद्धि सरकारले लगाउने करमा निर्भर हुन्छ । सरकारले हरेक वर्ष घोषणा गर्ने आर्थिक विधेयकमा समावेश हुने करको दरको आधारमा सबै वस्तुको मूल्य निर्धारण हुन्छ । हरेक वर्षजस्तै यसवर्ष पनि कर वृद्धिको प्रभाव वस्तुको मूल्यमा प¥यो । त्यसैगरी गाडी खरिदका लागि बैंकहरुले लिने व्याजको दरमा भएको वृद्धि पनि व्यापार घट्नुको अर्को कारण हो । राष्ट्र बैंकको नितिका कारण पनि कार किन्नेहरुको संख्या घटेको बताईन्छ । चितवन अटो डिलर एशोशियसनका सदस्य उत्तम अधिकारी राष्ट्र बैंकले कार खरिद गर्दा ५० प्रतिशत भन्दा बढि डाउन पेमेन्ट राख्नु पर्ने वाध्यकारी नितिका कारण कार किन्नेको संख्या विगतको तुलनामा यस पटक घटेको बताउँछन् ।   

मोटरसाईकलको व्यापार सन्तोषजनक   

कुनै समय साईकलको राजधानी भनेर चितवनलाई चिनिन्थ्यो । तर अहिले साईकल देख्न गाह्रो हुन्छ । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण पनि साईकल चढ्नेको संख्या निकै कम देखिन्छ । साईकलको विकल्पमा अहिले मोटरसाईकलको प्रयोग जिल्लामा अत्याधिक छ । चितवनको रत्ननगरका लागि वजाज व्राण्डका मोटरसाईकलको आधिकारीक विक्रेता निशाश मोटर्सका प्रवन्ध निर्देशक संजिव थापा यस वर्षको दशैंमा सन्तोषजनक रुपमा मोटरसाईकलको व्यापार भएको बताउँछन् । ‘आत्तिनु पर्ने अवस्था छैन ।’–थापाले भने–‘लक्ष्य अनुसार व्यापार भएको छ ।’ उनका अनुसार निशाश मोटर्स र खैरहनी स्थित आर्शिवाद अटो मोवाईल्सबाट दशैंका वेला अहिले सम्म करिब ३ सय वटा मोटरसाईकल विक्री भएको छ । विगतको वर्ष भन्दा यो वर्ष मोटरसाईकलको विक्री बढेको उनको दावी छ । यस वर्षको दशैमा वजाज कम्पनीको मोटरसाईकल खरिदका लागि राखिएको उपहार योजनामा एक जनालाई ५१ हजार रुपैया स्क्रयाच गर्दा परेको थापाले बताए । 

यता यामाहा मोटरसाईकलको आधिकारीकता विक्रेता कालिका मोटरसाईकल पार्टसमा पनि मोटरसाईकल र स्कुटर विक्री सन्तोषजनक छ । कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारी दशैंमा लिईएको लक्ष्य पुरा हुने अवस्था रहेपनि अघिल्ला वर्षहरुको जस्तो भीडभाड नभएको बताउँछन् । ‘चाडवाडका बेला अघिल्ला वर्षमा भीडभाड हुन्थ्यो यो वर्ष त्यस्तो छैन’–अधिकारी भन्छन्–‘भीडभाड नभएपनि व्यवसायिक लक्ष्य भने पुरा हुने अवस्था छ ।’ 

कालिका मोटरसाईकल पार्टसले खैरहनीको पर्सा, रत्ननगरको सौराहाचोक र राप्तीको भण्डाराबाट सेवा दिदै आएको छ । यि तीन वटा स्थानबाट शनिवार सम्म १७० भन्दा बढि मोटरसाईकल विक्री भएको अधिकारीले बताए । चालु आर्थिक वर्षमा भने कालिका मोटरसाईकल पार्टसले १ हजार ५० वटा मोटरसाईकल वा स्कुटर विक्री गर्ने लक्ष्य लिएको छ । यामाहाले भदौको ४ गतेदेखी कार्तिक मसान्त सम्म विषेश अफर योजना ल्याएको छ । हरेक दिन देशभरबाट एक जनालाई १ लाख रुपैया पुरस्कार, ७ देखी १ लाख सम्म स्क्रयाच अफर ल्याएको छ । कालिका मोटरसाईकल पार्टसबाट ३ जनालाई १ लाख रुपैया परिसकेको प्रवन्ध निर्देशक अधिकारीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *