उपनिर्वाचन विशेषः धरानलाई साझा उम्मेदवारको खाँचो

नेपालीहरूको महान् चाड दशैं तिहार र छैठको रमझम सँगै यति बेला धरानलगायत देशका विभिन्न वडा, गाउँ र नगरहरूमा उप निर्वाचनको सरगर्मी बढेर गएको छ । 

यही मङ्सीर १४ गते निर्वाचन आयोगले देशका विभिन्न जिल्लाका स्थानीय, प्रदेश तथा संसदको लागि रिक्त रहेका स्थानहरूमा उपनिर्वाचन गर्ने भएपछि धरान उपमहानगरपालिकामा पनि गत वर्ष मेयर तारा सुब्बाको निधनपछि रिक्त रहेको नगरप्रमुख (मेयर) पदको लागि राजनीतिक दलहरूबीच दौडधुप शुरु भएको देखिन्छ । वामवर्चस्व रहेको धरानमा यस पटक नेपाली काङ्ग्रेसले सर्वसम्मत उम्मेदवार तय गरेर चाँडै चुनावी दौडमा सामेल भइसकेको छ भने नेकपाभित्र आकाङ्क्षीहरू धेरै भएका कारण उम्मेदवार छनौटमा निकै सकस परेको देखिन्छ । 

यता समाजवादी पार्टी, लिम्बुवान तथा स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दिने तयारी गरिसकेका छन् । अन्ततः चुनावी भिडन्त नेकपा र नेपाली काङ्ग्रेसका बीच नै हुने भएकाले पनि अब नेकपाले कस्तो अनुहारलाई टिकट दिने हो व्यग्र प्रतीक्षाको विषय बनेको छ । टिकट जसले पाए पनि धराने जनताको भावना समेट्ने, इमानदार, स्वच्छ छवि भएको र विकाशका कामहरूमा सृजनशील दृष्टि भएको साझा व्यक्तित्व होस् भन्ने यस लेखकको उद्देश्य हो । 

हाम्रो नगर प्रमुख, राम्रो नगर प्रमुख 

धरानको विकाशमा जनसहभागिताको उल्लेख्य भूमिका रहँदै आएको छ । यहाँको सडकदेखि मठमन्दिर, पार्क, खेलकुद भवन, प्रहरी चौकी, सुधार गृहहरू सबै जनसहभागितामा निर्माण भएका छन् । जनसहभागिता जुटाउन यहाँका पूर्व नगर प्रमुखहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ । नगर प्रमुख भनेको एउटा साझा व्यक्तित्व हो । चुनाव अघि जुनसुकै पार्टीको भए पनि चुनाव जितेपछि सबैको साझा अभिभावकको भूमिका निभाउनुपर्ने हुन्छ । 

सबैले हाम्रो नगरप्रमुख भन्नुपर्ने भएकाले हाम्रो नगर प्रमुख राम्रो नगर प्रमुख हुन आवश्यक छ । जसका लागि त्यो नगर प्रमुखमा नगरको सबै भूगोल र समुदायको ज्ञान हुनुपर्दछ । जसका लागि ऊ स्थानीय पनि हुनुपर्यो । सबैसँग समान व्यवहार गर्ने नम्र बोलीचालीको धनी, व्यक्तिगत स्वार्थमा नफस्ने इमान्नदार व्यक्ति भए त्यो सबैको साझा मेयर बन्न सक्छ । अझ पछिल्लो समय त जसले भ्रष्टाचारको खरो विरोध गर्दै काम गर्ने गर्छ उसले ठुलो जनसमर्थन पाउने देखिएको छ । किनभने अहिले देशको हरेक क्षेत्रमा ठुलो समस्याको रूपमा भ्रष्टाचार देखिएको छ । भ्रष्टाचारदेखि जनता आजित छन् । भ्रष्टाचारले गर्दा जनताले ठुलो दुख पाइरहेका छन् । जनताले व्यर्थै सास्ती खेपिरहनु परेको छ । 

भ्रष्टाचारकै कारण गरिब झनझन गरिब धनी झनझन धनी बनिरहेका छन् । न्याय प्रशासनलाई पङ्गु बनाइएको छ । चोरी, चकारी, गुण्डा, लफडा, अल्छी, जाली, झेली, दलाल र डनहरूले सबैतिर हाबी भएर जनताको आर्थिक शारीरिक शोषण गरेका छन् । उनीहरूले सबैको अवसर र सुविधा खोसेका छन् । सोझासिधा, मेहनती, स्वाभिमानीहरूले गल्लीको कुकुर जस्तो व्यवहार सहनु परेको छ । त्यसैले जसले आफू पनि भ्रष्टाचार गर्दैन र अरूलाई पनि गर्न दिँदैन त्यस्ता नगर प्रमुख नेता नै आजको आवश्यकता हो । 

त्यो नै हिरो पनि हुनेछ । धरानको हकमा पनि नगर प्रमुखले यहाँ ठुला ठुला योजनाको आश्वासन बाँड्नुपर्ने आवश्यकता देख्दिन किनभने अब आउने नगर प्रमुखको समय अवधि केवल दुई वर्षको मात्र हुनेछ । यस अवधिमा उनले योजना अधि बढेर पाइप लाइनमा रहेको खानेपानीको व्यवस्थापन, बसपार्कको निर्माण, फोहोर मैला व्यवस्थापन गर्ने कारखानाको उद्घाटन मात्र गर्दा पनि पुग्छ । बरु उसले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कार्य नै नगरपालिका भित्रको सुशासन, भ्रष्टाचार मुक्त क्रियाकलाप र जनसहभागितामा आधारित विकाशलाई निरन्तरता दिनु हो । धराने जनताले यसभन्दा ठुलो अपेक्षा राखेको पाइँदैन । बरु कर वृद्धिले गर्दा केही गुनासाहरू बढेको देखिन्छ तर जनताले तिरेको करको सही सदुपयोग गरेर सो करको प्रत्यक्ष फाइदा जनतालाई दिने हो भने त्यो करदाताको लागि ठुलो कुरा हुने छैन । 

कर भनेको लिने र दिने बीचको समझदारीमा भर पर्ने कुरा हो । बरु धरानको अर्को ठुलो समस्या भनेको लागूपदार्थ दुर्ब्यसन र भड्किलो संस्कार संस्कृति हो । यसका लागि पनि भ्रष्टाचार नियन्त्रणभन्दा कठोर भएर लाग्नु आवश्यक छ । जसरी एकताका चोरी, डकैती, भ्रष्टाचारीले गर्दा छिमेकी मुलुक भारतको विहार राज्य अन्तर्राष्ट्रिय जगतमै बद्नाम भएको थियो । तर, मुख्यमन्त्री पदमा जितेर आएका अमितकुमारले रक्सी चुरोटमा प्रतिबन्ध लगाए । भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरेपछि अहिले विहारको मुहारै फेरिएको छ । अहिले विहारलाई संसारले हेर्ने नजर नै बदलिएको छ । केवल एक जना इमानदार, निर्भीक जनप्रतिनिधिले कतिसम्म समाजलाई बदल्न सक्छ भन्ने यो राम्रो उदाहरण हो । यस्तै धरानमा हाल देखा परेको लागूपदार्थ, मादक पदार्थको बढ्दो खपतलाई नियन्त्रण गर्न नयाँ मेयरले अभियान चलाउने हो भने यस विषयबाट पनि ऊ हिरो बन्न सक्छ । यहाँ त कसैले चन्दा उठाएर पुनर्जीवन केन्द्र र प्रहरी हिरासत बनाउँदै जाने अनि दुर्ब्यसनी र चोर फटाहा बढाउँदै जाने हो भने कहिँ नभाको जात्रा हाँडी गाउँमा भने जस्तो हुनेछ धरानमा पनि । 

त्यसो त नेकपा बाहेक धरानका अन्य ठुला पार्टीहरूले आफ्ना उम्मेदवारहरू चयन गरेर भोट माग्न खटाइ सकेका छन् । उनीहरूले उम्मेदवार छनौटमा कतिको न्याय गरे अब त्यसको मूल्याङ्कन मतपत्रले गर्ने नै छ । तर, अब बाँकी रहेको पार्टी नेकपाले कस्तो उम्मेदवार दिने हो भन्ने सबैको चासोको विषय बनेको छ । अहिलेसम्म देखापरेका आकाङ्क्षी अनुहारहरूमा पार्टीभित्र काम गर्दै आएका युवा हस्तीहरू नै छन् । यीमध्ये कसलाई बनाउने भन्ने कुरामा पार्टी कमिटीलाई साह्रै अप्ठ्यारो पर्न सक्छ । त्यस्तै अवस्था रहिरहेमा बाहिरी अनुहार पनि खोज्नु राम्रो हुनेछ । बाहिरका भन्नाले पार्टीका साधारण सदस्य वा समर्थक भए पनि समाजमा सबैले रुचाएका इमानदार व्यक्तित्वहरूको पनि खोजी हुन आवश्यक छ । जो व्यक्तिलाई टिकट दिँदा सबैले अपनत्व महसुस गर्न सकून् । धरानको नेकपाभित्र त्यस्ता व्यक्तित्वहरूको पनि अभाव भने छैन । 

भर्खरै चीनका राष्ट्रपतिले नेपाल भ्रमणका क्रममा दिएर गएका पार्टी शुद्धीकरणका मननीय सन्देशहरू नेकपाले अवलम्बन गर्दा राम्रो हुनेछ । उम्मेदवार छनौट गर्दा पार्टीले कसैको दबाव र रवाफभन्दा पनि इमानदार व्यक्तिको पहिचान गर्न सके जनताले पनि ठुलो राहत पाउनेछन् । अन्यथा जुन जोगी आयो कानै चिरेको भन्न नपरोस् । धरानको नगर प्रमुख भनेको केवल खानेपानी तथा फोहोरमैला व्यवस्थापन गर्ने, ढल सडक बनाउने, बिजुलीको पोल गाड्ने लोग्ने स्वास्नीको झगडा मिलाउने मात्र नभएर सिङ्गो शहरको प्रतिनिधित्व गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बोल्न, काम गर्न सक्ने र सर्वत्र आफ्नो नगरको पहुँच बढाउन सक्ने हुन आवश्यक छ ।  

समय सापेक्ष दूरदृष्टिका साथ नगरको विकाशको रेखा कोर्नुको साथै एउटा असल संस्कार र संस्कृति पनि छाडेर जान सक्ने होस् । सबै पार्टी र नगरवासी बीच एकता भाइचारा कायम गर्न सक्ने सबैको साझा व्यक्तित्वको खोजी गर्नु जनताको चाहना हो । विकाश निर्माणको लम्बेतान योजना र खोक्रो आश्वासन अनि प्रतिपक्ष पार्टीलाई सत्तो सराप गरेको घोषणापत्र बोकेर आउने उम्मेदवारको कुनै काम छैन । यस विषयमा सम्बन्धित पार्टीहरूको ध्यान जान आवश्यक देखिन्छ । 

[email protected] 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *