तिहारका लागि सुनचाँदीका सामग्रीले सजियो बराह, हवात्तै बढे ग्राहक

कार्तिक ७, धरान । धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गर्न दीपावलीको अवसरमा सुनचाँदीका गहना र सिक्काहरु खरिद गर्ने प्रचलन बढ्दै गइरहेको छ । विशेषगरी धनतेरसका दिन यस्ता सामग्रीहरु जोड्ने प्रचलन छ ।
धरानस्थित बराह ज्वेलरी पनि तिहारका सुनचाँदीका सामग्रीले सजिएको छ । तिहार नजिकिएसँगै बराहमा सुनचाँदीका सिक्का, लक्ष्मीको मूर्ति तथा गहना किन्ने ग्राहकको भीड नै लागेको छ । लक्ष्मी पूजाको अघिल्लो दिन (धन त्रयोदशी) चाँदीको बिक्री धेरै हुने बराह ज्वेलरीका एम्बा ल्वागुनले जानकारी दिए ।
धनतेरसको अवसरमा गहना अथवा कुनै न कुनै सामग्री किनेको खण्डमा शुभमुर्हत हुने धार्मिक विश्वास रहेको छ । सो कारण अधिकांश नेपालीले आफ्नो हैसियतअनुसार नयाँ भाँडा तथा सुनचाँदी खरिद गर्ने प्रचलन मौलाउँदै गएको छ ।

अझ माता लक्ष्मीलाई सेतो धातु चढाउँदा फलिफाप हुन्छ भन्ने पौराणिक मान्यता छ । हरेक वर्ष कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन अर्थात् धनवन्तरी त्रयोदशीका दिन काग तिहार मनाइन्छ । काग तिहारको दिनलाई धनतेरस पनि भन्ने प्रचलन छ ।
यस दिन नयाँ भाँडा तथा सरसामान जोडेमा घरमा समद्धि हुने धार्मिक मान्यता छ । आफ्नो क्षमताअनुसार उच्च वर्गले सुन, चाँदी, हिरा नै लक्ष्मीमातालाई चढाउँछन् भने मध्यम तथा निम्नमध्यम वर्गीय परिवारले चाँदी र चाँदीबाट बनेका सामान चढाउँछन् । धनतेरसमा चाँदी किनेर मातालक्ष्मीलाई चढाउँदा धन सम्पत्ति बढ्ने जनविश्वास छ ।








