म्यानचेष्टर, लेष्टर सिटी र एभर्टन काराबाओ कपको क्वाटरफाइनलमा

कात्तिक १३, काठमाडौं । म्यानचेष्टर सिटी, लेष्टर सिटी र एभर्टन काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएका खेल जित्दै तीन वटै क्लबले क्वाटर फाइनलमा स्थान सुरक्षित गरे ।
खेलमा म्यानचेस्टर सिटीले साउथहृयाम्पटनलाई ३–१ गोल अन्तरले पराजित गर्यो । सिटीको जितमा सर्जियो अग्युरोले दुई गोल गर्दा निकोलस ओटामेन्डीले एक गोल गरे । साउथहृयाम्पटनका लागि ज्याक स्टेफेन्सले गोल गरे ।
ओटामेन्डीले खेलको २२ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा अग्युरोले गोल गरेपछि सिटी २–० गोलको अग्रतामा रहृयो ।

यता, खेलको ५६ औं मिनेटमा अग्युरोले नै गोल गर्दै सिटीलाई ३–० गोलको अग्रता दिलाए । खेलको खेलको ७५ औं मिनेटमा स्टेफेन्सले गोल गर्दै साउथहृयाम्पटनका लागि ३–१ गोलको स्थितिमा ल्याएपनि बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल सिटीले जितेको हो ।
यसैगरी लेष्टर सिटीले बुर्टोन अल्बियनलाई र एभर्टनले वाटफोर्डलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए । लेष्टरले बुर्टोनलाई ३–१ गोलअन्तरले पराजित गर्ने क्रममा पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दा एक गोल भने खान पुग्यो । लेष्टरको जितमा केलेची हेयनाचो, यउरी टिलेमान्स र जेम्स मोडिसनले गोल गरे । यता, बुर्टोनका लागि लियाम ब्वाइसले गोल गरे ।
खेलको सातौं मिनेटमा केलेची र २०औं मिनेटमा टिलेमान्सले गोल गर्दै लेष्टरलाई २–० गोलको अग्रता दिलाएका थिए । खेलको ५२औं मिनेटमा लियामले गोल गर्दै बुर्टोनलाई २-१ गेलको स्थितिमा ल्याए । तर खेलको ८९औं मिनेटमा जेम्सले गोल गर्दै लेष्टर सिटीलाई ३–१ गोलको जित दिलाउँदै क्वाटरफाइनलको स्थान सुरक्षित गरे ।
त्यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा वाटफोर्डलाई २–० गोलअन्तरले पराजित गर्दै एभर्टन क्वाटरफाइनल पुगेको हो । एभर्टनका लागि मासन हल्गेट र रिचर्लिसनले गोल गरे । खेलको ७२औं मिनेटमा हल्गेट र थप गरिएको अतिरिक्त समयमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई २–० गोलको जित दिलाएका हुन् ।








