‘धरानको आजको चित्र भनेको नेकपाको नै देन हो’–चोत्लुङ

२०५७ सालदेखि राजनीतिमा सक्रिय युवा फोक्वा हाङ सुव्वा (चोत्लुङ) एक दशक भन्दा लामो समयदेखि धरानको भूगोल, माटो र धराने जनतासँग प्रत्यक्ष परिचित छन् । उनी तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सहभागि भएका कुशल योद्धा हुन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, धरान उपमहानगरको संयोजक समेत भईसकेका चोत्लुङ्ग धरान उपमहानगरपालिकामा सर्वदलीय संयन्त्रको संयोजक समेत बनेर काम गरिसकेका छन् । 

चोत्लुङ्ग अहिले नेकपा एमाले र माओवादी केन्द्रको एकता पश्चात् बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीको जिल्ला सदस्य हुन् । आगामी मंसिर १४ गते धरान उपमहानगरपालिका सहित देशभरका रिक्त रहेका जनप्रतिनिधिहरुको उपनिर्वाचन हुँदैछ । धरानमा नगरप्रमुख (मेयर) को उम्मेद्वार नेकपाले छनौट गर्न ढिलो गरिरहेको छ । यद्यपी फोक्वा हाङ सुब्बा (चोत्लुङ) नेकपाबाट मेयर बन्नुपर्ने आवाज उठिरहेको छ । यसै सन्दर्भमा मेयरको चुनाव र धरानको समग्र विकासमा केन्द्रित भई उनीसँग गरिएको कुराकानीः 

मंसिर १४ गते धरानमा मेयरको चुनाव हुन्छ त ? 

अवश्य हुन्छ । निर्वाचन आयोगले मंसिर १४ गते निर्वाचनको मिति सार्वजनिक गरि निर्वाचनको तयारी गरिसकेको छ । दल दर्ता देखि चुनाव चिन्ह दिने सम्मको काम सम्पन्न गरिसकेको छ । मलाई विश्वास छ कार्तिकको पहिलो साता निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजानिक गर्ने छ । फेरी यो आम चुनाव नभएर उपचुनाव हो । यो सरकारको नियमित र सामान्य कार्य भित्र पर्दछ । यसकारण निर्वाचन हुनेमा द्विविधा छैन । 

धरानको मेयर कस्तो हुनुपर्छ ? 

उपनिर्वाचन पछि आउने धरान नगर प्रमुखको कार्यकाल भनेको अढाई बर्ष हो । यसकारण यो छोटो अवधीलाई आउने मेयरले नेतृत्व गर्नुपर्ने हुन्छ । अब आउने मेयरको दुईवटा जिम्मेवारी हुन आउछ । पहिलो यस अगाडी नगर सरकारले सारेको योजनाहरुलाई कार्यान्वयन गर्दै पुरागर्ने र धरानको दिर्घकालिन योजनाहरुलाई तयारी गर्दै अगाडी बढाउने । र, अर्को सुशासन कायम गर्दै आम नगरवासीको सेवा प्रवाहलाई प्रभावकारी बनाउने । यो दुईटै अभिभारा पुरा गर्ने गर्नसक्ने सक्षम नेतृत्व धरानको आवश्यकता हो । धरानका निर्णय भईसकेका र निर्माणका क्रममा रहेका योजनाहरु बारे जानकार र समृद्ध धरान निर्माणको लागि स्पष्ट भिजन भएको मेयर आजको आवश्यकता हो । 

मेयरमा तपाईलाई पार्टीले टिकट दिएमा के गर्नु हुन्छ ? 

मलाई पार्टीले जिम्मेवारी दिएमा धरानको विकास र समृद्धीको अभियान अगाडी बढाउन तयार छु । १० वर्षसम्म धरान उपमहानगरपालिकाको विभिन्न कार्यमा दलिय संयन्त्रमा रहेर तथा पार्टी प्रतिनीधी भएर धरानको विकासको लागि गरेका कार्यहरुको अनुभवलाई धरानको विकास र समृद्धीको लागि सदुपयोग गर्नेछु । म २४ घण्टा नै उपमहानगरपालिकामा बसेर सेवा गर्न तयार छु । 

धरानमा नेकपाले जित हासिल गर्ने आधार के के हुन् ?   

धरान नेकपाको आधार क्षेत्र हो । बैचारिक, राजनैतिक र सांगठनिकको हिसावले नेकपाले धरानमा दुई तिहाई मतका साथ निर्वाचन जित्ने आधार छ । विगतमा नेपालका दूई ठुला कम्युनिष्ट पार्टीले छुट्टाछुटै निर्वाचन जितेका छन् । आज ति पार्टीहरु मिलेर नेकपा भएको छ । अर्को पाटो भनेको धरानको आजको चित्र भनेको नेकपाको नै देन हो । हिजो जनपक्षिय उमेद्वारहरु कृष्ण कुमार राई, बम देवानको नेतृत्वमा गरेको काम हुन या ४६ सालको आन्दोलन पछि ध्यान बहादुर राई, मनोज कुमार मेन्याङबो, तारा सुव्वाको नेतृत्व सम्म आउँदाको कुरा हेरौं ।   

पाचकन्यामा रमेश बस्नेत र विष्णुपादुकामा मणीराम राईको नेतृत्वमा भएका काम या मनमोहन अधिकारी, लिला सुव्वा, कुन्ता शर्मा, किरण राई, कृष्ण कुमार राई सम्मले नेतृत्व गर्दा धरानमा जे जति काम भएका छन् ति नेकपाको नेतृत्वमा भएका छन् । साथै हाल जति नयाँ योजनाहरु सञ्चालित छन् ति योजनाहरु प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य तथा धरान नगरका कार्यवाहक प्रमुखको नेतृत्वमा नै भईरहेका छन् । स्रोत साधनलाई आधार मानेर ७७ जिल्लालाई हे¥यौं भने धरान अब्बल छ । यी नै आधारमा नेकपाले धरानमा जित हासिल गर्नेछ । 

तपाई धरानको मेयर बन्नु भएपछि के के गर्नुहुन्छ ? 

पहिलो प्राथमिकता भनेको आम धरानबासी र नगर सरकार विच विश्वासको वातावरण निर्माण गर्नु हुनेछ । नगर सरकार र नगरबासीको विच विश्वासको वातावरण विना धरानको विकास सम्भव छैन । भ्रष्टाचार नियन्त्रण तथा सुशासन महत्वपूर्ण पाटो हो ।   

विगतमा हामी आफैँले अगाडी सारेको योजना र परियोजनाहरु, धरान खानेपानी आयोजना सम्पन्न गर्ने र खानेपानी बोर्डलाई धराने जनताको संस्था हो भन्ने विश्वास पैदा गराउने, सर्दु जलधार क्षेत्र लगायत जलधार क्षेत्रको संरक्षण कार्य गर्ने, धरान बसपार्क निर्माणको लागि आर्थिक स्रोत जुटाउने र ३ वर्षभित्र सम्पन्न गर्नेगरी काम अगाडी बढाउने, धरानमा वृहद् पार्किङ क्षेत्र तथा पानमारी, विष्णुपादुका शिवधारा, भेडेटार लगायत क्षेत्रमा बसस्टेण्ड तथा पार्किङ बनाउने । सुन्दर बस्ती जग्गा विकास आयोजनाको समस्या समाधान गर्ने, धरान विमानस्थल निमार्णको स्वीकृती भई सकेकोले नेपाल नागरिक उड्ययन प्राधिकरणले जग्गा व्यवस्थापन गर्न नगर सरकारलाई पटकपटक ताकेता गरिसकेको हुँदा तत्काल जग्गा व्यवस्थापनको लागि प्रकृया अगाडी बढाउने, धरान रंगशालालाई सम्पन्न गर्ने, खेलकुद ग्राम बनाउने, क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने योजना छ ।   

यसैगरी सर्दु तथा सेउतीको तटबन्धन तथा ग्रीनबेल्ट सहितको सडक कोरीडोर निर्माणलाई एकीकृत रुपमा अगाडी बढाउने, हाल निर्माणाधिन पुलहरुलाई पुरा गर्ने तथा पुल पुलेसा निमार्ण गर्ने । पर्यटन सँग सम्बन्धित पुर्वाधारहरु निजी सार्वजनिक साझेदारीमा अगाडी बढाउने, प्याराग्लाईडिङका लागी आवश्यक पुर्वाधार निर्माण गर्ने, शाहसीक खेलको प्रवद्र्धन गर्ने, सुविधा सम्पन्न रिसोर्ट तथा होटल निर्माण गर्न भेडेटार, दानावारी तथा चिण्डेडाँडा विष्णुपादुका लगायत क्षेत्रमा जग्गा व्यवस्थापन गरी निजी क्षेत्रलाई लगानी गर्ने बातावरण मिलाउने, विगथाउजन बुद्धको परियोजनालई सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने योजना बनाएको छु । 

विजयपुर क्षेत्रलाई ऐतिहासिक तथा धार्मिक क्षेत्र घोषणा गरी विजयपुर ऐतिहासिक धार्मिक सास्कृतिक नगरी निर्माण गर्ने तथा धार्मिक मठमन्दीर तथा दरवारको संरक्षण तथा पुन निर्माण गर्ने, धरान–भेडेटार केवलकार निमार्ण परियोजना अगाडी बढाउने, धरान मुलघाट सुरुङ मार्ग र यसलाई धरान इटहरी तथा विराटनगरको भविष्यमा खानेपानी व्यवस्थापन समेत जोडेर अगाडी बढाउन सहजीकरण गर्ने, छिमेकी नगरपालिका तथा गाउपालिकाहरु जोड्न निराजन बस्ती दानावारी कन्यापोखरी, धरान मंगलबारे विष्णुपादुका आहाले त्रिवेणी, जानकीचोक चिण्डेडाडा विष्णुपादुका बराहक्षेत्र, धरान भरौल, धरान हरीयाली बक्लौरी, पानमारी तालतलैया ईटहरी लगायत लिङक रोडहरुको निर्माण, धरान विराटनगर राजमार्गको विस्तार तथा मदन भण्डारी राजमार्गको चाँडो निर्माणको लागी पहल गर्नेछु ।   

बहुजातीय संग्रहालय निर्माण सम्पन्न गर्ने, विजयपुर दरवारक्षेत्रको पुन निमार्ण तथा समुदायीक वन सँगको सहकार्यमा पार्कहरु निर्माण, सार्वजनिक जग्गा संरक्षण गर्ने, दाह संस्कार स्थलहरुलाई व्यवस्थीत गर्ने, सभागृहको पुन निर्माण तथा प्रदर्शनी हल क्षेत्रको निर्माण, भानुचोक व्यवस्थापन, पानमारीमा औद्योगीक ग्रामको विस्तार गर्ने, गुणस्तरीय शिक्षामा विषेश जोड दिँदै धरानका सम्पुर्ण शैक्षिक संस्थाहरु सँग सहकार्य गरी शैक्षिक नगरी बनाउने आधार तयार गर्ने, विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरानवासीको अपनत्व हुने वतावारण बनाउने, बिषेशज्ञ स्वाथ्य सेवामा जोड दिने सोच बनाएको छु ।   

करको दर वृद्दी होईन दायरा बिस्तारको निती लिने बैज्ञानिक तथा व्यावहारीक कर लागु गर्ने, सुकुम्बासीको व्यवस्थापनको लागि हाल भईरहेको कार्यलाई सम्पन्न गर्दै लालपुर्जा र व्यवस्थित आवासमा जोड दिने, विष्णुपादुका र पञ्चकन्यामा योजनाबद्धरुपमा कृषी तथा पर्यटन प्रर्वदन गर्ने लगायत कार्य गर्ने, कला साहीत्यको विकासको लागी थिएटर हलको निर्माण गर्ने, धरानलाई स्मार्ट सिटी बनाउन विजुली, टेलीफोन लगायतको तारलाई भुमिगत गर्न शुरु गर्ने, सरसफाई व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने, जेष्ठ नागरिक, महिला बालबालिकालाई सेवा प्रवाहमा सहज वातावरण बनाउने, धरानलाई मिडीया हव बनाउने लगायत योजनाहरु छन् । 

खानेपानी, एयरपोर्ट, बसपार्क, रंगशाला आदिका विषय चुनावी मुद्दा मात्रै हो कि पुरा पनि हुन्छ ? 

हो, आजसम्म धरानको खानेपानी, एयरपोर्ट, बसपार्क, रंगशाला चुनावी मुद्दा जस्तो मात्र बनेको देखियो । तर, वास्तविकता त्यस्तो होईन । धरानको खानेपानी आयोजना हामी राजनैतिक दलहरुको सहमती र सिफारिसमा अगाडी बढेको योजना हो । ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको यो योजनालाई पुरा गर्नुपर्छ । कुनै राजनैतिक दलले चुनावी मुद्दा बनाउनु आवश्यक छैन । यदि परियोजना सञ्चालनमा गलत कार्य भएका छन् भने आवश्यक छानबिन गर्नैपर्छ ।   

धरान विमानस्थल स्वीकृत भईसकेको छ । उपमहानगरपालिकाले जग्गाको व्यवस्थापन गर्नुपर्ने कार्य बाँकी रहेको हुँदा निमार्ण कार्य शुरु गर्न सकिएको छैन । निर्वाचनमा धरान विमानस्थल नबनाउने भन्ने मुद्दा हुनै सक्दैन, बरु हामीले कसरी जग्गा ब्यवस्थापन गर्ने र बाँकी कामलाई सम्पन्न गर्दछौं भन्ने योजना अगाडी सर्ने हो । धरान रंगशाला निमार्णाधीन चरणमा छ । सर्दु र सेउती तटबन्धन तथा कोरीडोर निर्माणको लागि टेण्डर प्रकृया अगाडी बढ्दै छ । यसकारण यी कुरा चुनावी मुद्दा बनाउने मात्र होईन छिट्टै यथार्थतामा बदल्ने योजनाहरु हुन् । यसलाई केवल चुनावी मसला बनाउनु भन्दा यी योजनाहरु पुुरा गरी छाड्ने संकल्प गरी अगाडी बढ्दा धरानवासीको लागि हितकर हुने छ । 

अढाई वर्षका लागि मेयरको पदमा बस्नु भन्दा पछि हुने चुनावमा ५ वर्षका लागि मेयरको तयारीमा लाग्दा के हुन्छ ?   

यो गम्भीर प्रश्न हो । म धेरै मानिसहरुले यसै प्रकारको बहस गरेको पाउँछु । तर यो कुरा व्यक्तिसँग सम्बन्धित छ को व्यक्तिले कति चलाउने भनेर । यस प्रकारको बहस सही होईन भन्ने मेरो ठहर छ । हामीले सबै भन्दा माथी धरानवासीलाई राख्नु पर्दछ । कोही पात्र विषेशलाई होइन । हामीले यो साँढे दुई वर्ष धरानवासीको हो भन्ने बुझन पर्दछ । राजनैतिक दलहरुलाई साढे दुई वर्ष त हो नी ! भनेर धरानवासीको द्रुत विकासको चाहना र समृद्धीको सपनामाथि खेलवाड गर्ने छुट छैन । बरु सही पात्रलाई अगाडी सारेर दुई दिन भएपनि राम्रो काम गर्नुपर्दछ । यहाँ कसले अढाई बर्ष चलाउने वा ५ बर्ष चलाउने भन्ने होईन की अढाई बर्षको समयमा नगर सरकारले के के गर्नु पर्नेछ । कस्तो धरान बनाउने हो । ५, १० वर्षभित्र सम्पन्न गर्नुपर्ने योजनाहरु के हुन । अहिले देखि के के कुराको तयारी गर्नु पर्ने हो । र, त्यस्तो उपयुक्त पात्र को हुन सक्छ ? भनेर हामीले छलफल गर्नुपर्दछ । धरानको हकमा नेकपा यो विषयमा संवेदनशील हुन आवश्यक छ ।   

स्व. तारा सुब्बाको सहयात्री मध्ये तपाई प्रमुख पात्र हुनुहुथ्यो, उहाँका अपुरा कार्यलाई कसरी पुरा गर्ने सोंच बनाउनु भएको छ ? 

स्व.मेयर तारा सुव्वा र म २०६५ सालदेखि धरानको विकासमा संगै रह्यौं । म नेकपा माओवादीको तर्फबाट धरान नगर ईन्चार्जका हैसियतमा दलिय संयन्त्रमा थिएँ भने स्व.मेयर तारा सुव्वा तत्कालिन एमालेको नगर अध्यक्षको हैसियतमा दलिय संयन्त्रमा हुनुहुन्थ्यो । हामी स्थानीय निर्वाचनसम्म करिब १० वर्ष धरानको विकासमा निरन्तर सहकार्य गरी रह्यौं । सो समयमा हामीले करिब ८ वटा नगर परिषद् सम्पन्न गरी धरानको भिजन बनायौं । आवधिक योजना निमार्ण ग¥यौं, धरानको लक्ष्य “शिक्षा स्वास्थ्य तथा पर्यटकीय व्यापारिक पुर्वाधार, बहुसांस्कृतिक आबासीय समृद्ध शहर” तय गर्यौं । धरानको सबैभन्दा ठुलो खानेपानीको समस्या समाधान गर्न खानेपानी योजना अगाडी बढायौं । रंगशाला पुनः निर्माणको निर्णय गरी शुरु गर्यौं, धरान विमानस्थल स्वीकृत गरायौं ।  

बहुजातीय संग्रहालयलाई जग्गा दिने तथा बनाउने निर्णय गर्यौं, सर्दु सेउतीको तटबन्धन तथा कोरीडोर निर्माण, पाँचकन्या र विष्णुपादुका सँग समझदारी गरी धरानलाई उपमहानगरपालिका बनाउने निर्णय गरियो । विग थाउजन बुद्ध परियोजना, भक्तराज कन्दङ्वा क्रिकेट मैदान, सुकुम्बासीहरुलाई घर नं. दिने र धुरीकर लिने, उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने, धरान आसपासका क्षेत्रसँग धरानलाई जोड्न लिङक रोडहरु, सेउती, सर्दु, सेरा, अधेरी लगायत नदीहरुमा पुल निर्माणका योजनाहरुको लागि निर्णय साथै पहल गर्ने कार्य गरियो । स्व.तारा सुव्वा मेयर भएपछि यी योजनाहरु मध्ये कार्यन्वयन भई रहेकालाई सम्पन्न गर्न दृढता पुर्वक लाग्नुभो भने, शुरु नभएका परियोजनाहरुलाई शुरु गर्नुभो । यस बाहेक नयाँ योजनाहरु समेत अगाडी सार्नु भयो । हाल का.बा. मेयरको नेतृत्वमा यी योजनाहरु कार्यान्वयनको भईरहेको छ । मलाई लाग्छ यी योजनाहरुमा स्व.मेयर सुव्वाको सोच समायोजित छन् । त्यसकारण यी योजनाहरुलाई पुरा गर्दै स्व. सूव्वाको सपनालाई साकार पार्दै नयाँ धरान निर्माणको लागि अगाडी बढ्ने सोच छ । 

कमजोर उम्मेद्वारका कारण नेकपा पराजय भयो भने त्यसको जिम्मेवारी कसले लिनुपर्छ ? 

मेरो विचारमा कमजोर पार्टीले, जित्ने विश्वास नभएका दलहरुले बलियो उम्मेद्वार खोज्ने हो । जित सुनिश्चत भएको पार्टीले राम्रो उम्मेद्वार खोज्ने हो । जसले साच्चै स्थानीय सरकार जनताको हो भन्ने अनुभुती दिलाउन सक्छ । जसले शुसासन कायम गर्न सक्छ । भ्रष्टचार निर्मुल गर्न सक्छ । जो सँग धरान निर्माणको स्पष्ट भिजन छ उसलाई उम्मेद्वार बनाउनु उपयुक्त हुन्छ । बलियो त गलत मान्छे पनि हुन सक्छ । भिजन नभएको पनि हुन सक्छ । भ्रष्टचारी पनि बलियो हुन सक्छ । यस कारण पार्टीले जति सुकै बलियो होस गलत मान्छेलाई जनताको सेवा गर्ने ताला चाबी बुझाउनु हुँदैन । पार्टीले सहि पात्र अगाडी सार्यो भने त्यहाँ हार जित व्यक्ति विषेशको हुँदैन । जित हार पार्टीले जिम्मा लिन्छ । मलाई विश्वास छ सही व्यक्तिलाई जनताले सँधै साथ दिने छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *