‘आजको भोलि नै मन्त्रिमण्डल पूनर्गठन हुने सम्भावना छैन, काम नगर्नेलाई कालो सूचिमा राखेका छौं’

कात्तिक ९, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार अहिले सही दिशामा रहेकोले अब परीणाम देखिने स्पष्ट पारेका छन् । उनले अब जनताले देखिनेगरि विकास र समृद्धिको अनुभुति गर्न पाउने पनि सुनाए ।   

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले ०७४/०७५ आधार वर्षको रुपमा लिएको र अब २०७५/०७६ योजना वर्षको रुपमा अघि बढेको बताए । उनले बर्तमान सरकार सबै मोर्चामा प्रत्येक दिन एक कदम अगाडि बढिरहेको बताउँदै सरकार गठन भएदेखि हामी एक कदम अगाडि बढिरहेको जिकिर गरे । 

उनले विस्तारै सरकारले गति लिएको विश्वास दिलाए । ‘यो सरकार प्लानिङ गरेअनुसार पूर्वाधार र विकासको क्षेत्रमा अगाडि बढिरहेको छ । आर्थिक वृद्धिद्धर बलियो भैरहेको छ । अहिले शान्ति, सुरक्षाको स्थिति देशभरि व्यवस्थित भएको छ ।’ उनले भने । उनले सरकार नेपाल भ्रमण वर्ष–२०२० को तयारीमा जुटिसकेको बताए ।   

सरकारले कृषिमा नयाँ–नयाँ प्रविधि भित्र्याईरहेको पनि उनले दाबी गरे । उनले भने,‘सरकारले कृषि क्षेत्रमा पनि फड्को मारेको छ । भूमि सुधारको क्षेत्रमा धेरै नयाँ–नयाँ कानून बनाएका छौं । कतिपय कानून संशोधनको अन्तिम स्थितिमा आएका छौं । नयाँ कानूनहरु संसदमा छलफलको क्रममा रहेका छन ।’   

मन्त्री महासेठले विकास र समृद्धिको यात्रामा पनि वर्तमान सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको कुरा दोहोर्याए । ‘मिडियामा मैले हेरेको थिएँ की सडकको क्षेत्रमा खासै प्रगति भएन भनिएको छ, तर म भन्छु धेरै प्रगति भएको छ । एक वर्षमा एक हजार किलोमिटर सडक बनायौं ।’ उनले भने । 

काठमाडौं उपत्यकाको सडक भनेर कहिलेकाहीँ सामाजिक सञ्जालमा भारतको बिहार र बंगलादेशका भत्किएका सडकहरुको फोटोहरु सार्वजनिक गर्ने गरिएकोमा उनले गुनासो पोखे । यद्धपी आफूहरुले त्यसलाई पनि नकारात्मक रुपमा नलिएको स्पष्ट पारे । ‘यो देखेर हामी सतर्क हुन्छौं, प्रत्येक राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न भएका छन् । हुलाकी राजमार्ग, मदन भण्डारी मार्ग, मध्य पहाडी राजमार्ग, महेन्द्र राजमार्गलगायतका राष्ट्रिय राजमार्गहरु समयभन्दा पहिले नै सम्पन्न गर्न गैरहेका छौं ।’ उनले भने ।   

उनले काठमाडौं उपत्यकाभित्र सडकमा धेरै समस्या भएपनि राष्ट्रिय राजमार्ग समयभन्दा पहिले काम सम्पन्न हुन गइरहेको जिकिर गरे । उनले महेन्द्र राजमार्ग बुटवलदेखि–काकँडाभिट्टासम्म ८ लेनको बनाउँन बुटवलदेखि नारायणघाटसम्म काम सुरु भैसकेको जनाए । यसैगरी कमलादेखि कन्चनपुर पथलैयादेखि कमलासम्म, कन्चनपुरदेखि काँकडाभिट्टा काम भैरहेको महासेठले जानकारी दिए । 

रेलमा पनि आफूहरुले लक्ष्यअनुसार काम गरिरहेको उनको दाबी छ । ‘पूर्व–पश्चिम रेलमार्ग निर्माणको पनि काम सन्तोषजनक छ । प्रधानमन्त्री चीन भ्रमणमा जाँदा नै काठमाडौं–केरुङ रेलमार्गमा एम.ओ.यु गरेका थियौं । अहिले चरणबद्ध रुपमा प्राविधिक काम गर्दैछौं । त्यस्तै, काठमाडौं–विरगन्ज रेलमार्गको लागि पनि काम भैरहेको छ । प्रि–फिजिविलटी काम हुन्छ । रेलवे निर्माण काममा पनि हामी लक्ष्यभन्दा पछाडि छैनौं ।’   

उनले ७७ वटै जिल्लामा सरकारको कामको नतिजा देखिएको सुनाए । ‘पहिले केही काममा बाधा र अड्चन थिए । तर, अहिले त्यो चिजलाई हटाएका छौं । कानूनहरु संशोधन गरेका छौं । काम गर्नेलाई पुरस्कार र खराब गर्नेलाई कारबाही गरिरहेका छौं । काम नगर्नेलाई कालो सूचिमा राखेका छौं ।’ उनले भने । मन्त्री महासेठले चालू आर्थिक मसान्तभित्र काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने बताए । ‘अब काम नगर्नेहरुको दिन गयो । मैले प्रधानमन्त्रीको अगाडि भनेंको छु । अब माघ पनि कुर्नुपर्दैन । काठमाडौंलाई चाहिने व्यवस्थित गर्छौं । तिहार सकिएपछि तपाईहरुले परिवर्तन महशुस गर्नुहुन्छ ।’ महासेठले काम नगर्ने निर्माण व्यवसायीहरुलाई मात्रै नभएर राष्ट्रसेवक कर्मचारीहरुलाई पनि त्यहीअनुसार काम गर्न चेतावनी दिएको सुनाए ।   

मन्त्री महासेठले अब प्लानिङअनुसार काम गर्ने सुनाए । उनले थपे,‘आउने मंसिर १ गतेदेखि सम्भवतः त्यो भन्दा पहिलेदेखि सबै ठाउँमा म हात हाल्दैछु । म आएको १९ महिना भयो । अब २ महिना समय मागेको छु । काठमाडौं उपत्यकाभित्रका सबै सडकहरु व्यवस्थित गर्छु ।’   

दिनहुँ पत्रपत्रिकामा सरकार आउने÷जाने भनेर समाचार आएकोबारे उनले त्यसमा कुनै सत्यता नभएको टिप्पणी गरे । ‘त्यो त्रास अहिले देखिएको छ । मन्त्रिमण्डल परिवर्तन हुने कुराहरु दिनहुँ मिडियामा आईरहेका छन्, पछिल्लो १३/१४ महिनादेखि पत्रिकाले लेख्न छोडेका छैनन् । यो अधिकार प्रधानमन्त्रीको क्षेत्रभित्र पर्छ । उहाँले चाहेकै दिन मन्त्रिमण्डल चेन्ज हुन्छ । तर, अहिले सम्भावना देखेको छैन ।’ उनले भने ।   

उनले सरकारलाई कमजोर पार्नको लागि यस्तो हल्ला भैरहेको जिकिर गरे । ‘मन्त्रिमण्डल हेरफेर र सरकार परिवर्तन हुँदैछ भनेर सरकारको प्रगति र कामदेखि धेरै खुशी नहुने साथीहरुले हल्ला गरेको हो ।’ मन्त्री महासेठले जनताले अब विकासको अनुभुति गर्न सक्ने स्पष्ट पारे । उनले आफ्नो मन्त्रालयमा व्यापक सरुवा भयो र आर्थिक चलेखेल भयो भन्ने आरोप लागेको बारेमा पनि खण्डन गरे । ‘जब सरुवा नै भएको छैन, यस्तो कुरा कसरी आएको होला ? समाचार लेख्दा पनि कम्तिमा पनि ५० प्रतिशत सही कुरा लेख्नुहोस् । हामीले केही गरेकै छैन् ।’ उनले भने ।   

त्यस्तै, उनले काठमाडौंको कालिमाटीको पुलका कारण ठूलो जाम हुने गरेको सुनाए । ‘कोटेश्वरमा बढि जाम छ । चावहिलमा छ । गौशालामा छ । ७ वटा ठाउँलाई पहिलो प्रिफेरेन्समा राखेका छौं । सैद्धान्तिक सहमतिकोलागि सम्बन्धित निकायमा पठाएका छौं । कोटेश्वर, गौशला, चावहिल, नयाँ बानेश्वर, थापाथली, त्रिुपरेश्वर र कालिमाटीको कुरा छ । आधुनिक ओभरहेड ब्रिड, अन्डर पास र टनेल बनाउनेबारे डिजाईन गरिसकेका छौं ।’ 

सुरुङमार्गमा त ४२ महिनाको समय दिएपनि, ३६ महिनामा सम्पन्न गर्न भनिसकेको सुनाउँदै उनले भने,‘सम्झौताअनुसार निर्माण व्यवसायीले काम गर्नुपर्छ । पुल भाँचिएर वा भासिएर दुर्घटना भयो भने हामी नै जिम्मेवार हुनुपर्छ । कालीमाटीको हकमा निर्माण व्यवसायीले रातारात विभागलाई थाहा नदिई काम गरेको रैछ । तोड्न निर्देशन दिएको हुँ । जबरजस्ती बनाएकोले समस्या भएको हो । अदालतबाट टेस्टको आदेश भएको छ । निर्माण कम्पनीले पनि टेस्टको माग गरेको छ । यो पुल कमजोर छ । अब एकदेखि डेढ महिनाभित्र नयाँ बन्छ । तिनकुनेको बाग्मती पुलमा पनि समस्या छ । हामीले दिएको रि–डिजाईनअनुसार काम गर्न भनेका छौं ।’ 

कलंकी–नागढुगा र जोरपाटी–साँखु सडकपनि आगामी मंसिर १५ भित्र व्यवस्थित गर्नको लागि निर्देशन भैसकेको उनले सुनाए । उनले भने,‘हामीले तुरुन्त पिच गर्न निर्देशन दिएका छौं । मंसिरभित्रै काम सम्पन्न भैसक्छ ।’ जोरपाटी–साँखु सडक देशकै सडक भएकोले यसबारेमा सरकार गम्भिर रहेको पनि उनको प्रतिक्रिया छ । ‘हामी मेयरलाई पनि सरकारकै मेयर मान्छौं । सांसद र मेयर (उहाँहरु) को लडाईमा पर्न चाहँदैनौं । १४ मिटर दिन तयार तयार छन् । २२ मिटरको डिजाईन हो । २२ मिटर बनाउँदा चार लेन बन्छ । यसो हुँदा ५०/६० वर्षको लागि पुग्छ । सडक विस्तारको क्रममा हुने क्षतिपूर्ति दिन्छौं ।’ 

महासेठले यही आर्थिक वर्षभित्र डोल्पा र हुम्लापनि सडक सञ्जालले जोड्ने बताए । उनले देशमा ७ वटा सुरुङमार्गको डिपिआरको लागि बजेट छुट्याईसकिएको बताए । विकास र समृद्धि नेपाल सरकारले मात्रै गर्ने होईन, भन्दै उनले सबैको साथ चाहिएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *