सुरक्षा दिने प्रहरीबाटै अस्पतालका कर्मचारीले कुटाई खाए

कात्तिक ९, चितवन । चितवनमा प्रहरीको कुटपिटबाट भरतपुर अस्पतालको पोष्टमार्टम कक्षमा कार्यरत २ जना कर्मचारी घाईते भएका छन् ।  कात्तिक ७ गते विहानको समयमा अस्पतालमा कार्यरत ४९ वर्षिय देव आनन्द राई र अर्का कर्मचारी ६० वर्षिय पूर्ण विकलाई प्रहरीका हवल्दारले निर्घात कुटपिट गरेका हुन् । 

प्रहरी हवल्दार जमिर अलिसेखको कुटाइबाट दुवै जना घाइते भएका छन् । घाइते राईको ढाडमा निलडाम छ भने विकको हात भाँचिएको छ । विहीबार ६५ वर्षीया एक महिलाको पोष्टमार्टम गर्ने क्रममा कानमा लगाएको गहना चोरी गरेको आरोपमा आफुहरुमाथि लाठीले हानिएको घाइते राईले बताए । 

घाइते राईकी श्रीमती पुनम राईले आफ्नै अगाडि प्रहरीले कुटपीट गरेको बताइन् । घाइते राई हिड्न सक्ने अवस्थामा छैनन् । घटना भए पनि भरतपुर अस्पताल प्रशासनले कुनै चासो तथा खोजिविन नगरेको उनको भनाइ छ । घटनाका आरोपीत प्रहरी हवल्दार जमिर अलिसेखले चोरी भएको गहना खोज्ने क्रममा कुरा नखोलेपछि सोधपुछका क्रममा कुटपीट गरेको स्वीकार गरे । 

आफुहरुमाथि कुटपीट गर्ने प्रहरी हवल्दार अलिसेखविरुद्ध राई आफैले शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका छन् । उजुरीमाथि छानविन गरि दोषीलाई कारवाही गरिने चितवन प्रहरी प्रवत्ता डिएसपी एकनारायण कोइरालाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *