यस कारण भुटान ‘जिवित संग्रहालय’

माटो र काठको पुरानो घर । कलात्मक शैली । सजाएर राखिएको बेडरुम । परम्परागत सामाग्रीहरु संग्रहित । पुरानो दरवार जस्तो । १८ औं शताब्दीमा पारोको तेइसौं गभर्नरलाई त्यो घर उपहारमा दिइएको रहेछ । एक धनाढ्य व्यक्तिले । हाल गभर्नरका तेस्रो पुस्ताहरु पारोमा छन् । घर वरपर नै बसोवास गर्दा रहेछन् ।   

अहिले उक्त घर भुटानको पर्यटकीय केन्द्र बनेको छ । भुटान आएका प्रत्येक पर्यटकलाई त्यहाँ घुमाउन लगिन्छ । बस्न इच्छा गर्ने पाहुनालाई बसोबासको सुविधा पनि जुटाइएको छ । सो घरमा भुटानका दुई युवाहरुले हेरिटेज होमस्टे सञ्चालन गरिरहेका छन् । 

नाम्खा दोर्ची र डाङ्डी नोर्चु स्कूलदेखिका साथीहरु हुन् । उक्त घर लिजमा लिएर होमस्टे सञ्चालन गरिरहेका छन् । उनीहरुले १२ कक्षासम्म अध्ययन गरेका रहेछन् । दोर्ची कला र कम्प्युटरका विद्यार्थी हुन् भने नोर्चु व्यवस्थापनका । दुवैले आ–आफ्नो अध्ययनको खुबीलाई व्यवसायमा उतार्ने प्रयास गरिरहेका छन् । उक्त होस्टेमा हैसे दोर्चीका आमाले गरिरहेकी छिन् । होमस्टे बाहेक ट्रेडिसनल स्टोन बाथ, पुराना र स्थानीय चिजबिजका गिफ्ट सप, स्थानीय र कन्टिनेटल खाना, स्थानीय पोसाक लगाउने व्यवस्था, सिकारी खेल, कुकिङ डेमोस्ट्रेसनलगायतका सेवाहरु प्रदान गर्दै आइरहेका छन् । उनीहरु अब फ्युजन रेष्टुराँ र बार पनि राख्ने योजनामा रहेको छ ।  

किन आधुनिक रेष्टुराँको आवश्यकता भन्ने प्रश्न गर्दा दोर्ची भन्छन्, ‘पाहुनाहरु विभिन्न देशबाट आउनु हुन्छ कसैलाई आफ्नैं स्थानको खाना नै मनपर्छ । अन्य स्थानको खाना उहाँहरुलाई सहज नहुन सक्छ । त्यसैले पनि रेष्टुराँको आवश्यकता महसुस भएको हो । जहाँ पाहुनाले आफूअनुकूल पकाएर पनि खान सक्ने व्यवस्था मिलाएका छौं ।’ गफिरहेको बेला सहकर्मी मित्र वासुदेव बरालजी र भुटानी मित्र रिन्छेन नोर्बु हाँस्न थाले । हाम्रो ध्यान त्यता तानियो । बरालजी शाहाकारी, नोर्बु र म मांसाहारी । खाना खाने बेला भयो कि शाहाकारी भान्छाघर कहाँ छ भन्दै खोज्न थाल्नु हुन्थ्यो बरालजी । उहाँका लागि हामी सबै भेजिटेरियन भएका थियौं । प्रत्येक पटक खाना खाँदा नोर्बु भन्थे, ‘वाउ…π भेज फुड इज बेष्ट ।’ छेवैमा बसेर हामीहरु गललल हाँस्थ्यौं । दोर्चुसँगको गफमा हाम्रो व्यथा पनि ठ्याक्कै मिलेकोे थियो । यसैले रहेछ उहाँहरु हाँस्नु भएको । खाना र वासमा सायदै कसैले सम्झौता गर्न सक्छ होला ? मानवीय गुण नै हो । हामीले होमस्टे वा आतिथ्यता भनेर आफू अनुकूल मात्र ध्यान पुर्याइरहेका हुन्छौं । पर्यटकको आधारभूत आवश्यकतालाई मनन गर्दैनौं । यसैले हामी चुक्ने गर्छौं । 

विशेषगरी अमेरिका, युरोप, चाइना र भारतका पर्यटकलाई उनीहरुले सेवा दिइरहेका छन् । सायद क्रस कल्चरको आकर्षण पनि होला पर्यटकहरुमा । यसैलाई युवाहरुले ‘क्याच एण्ड क्यास’ गरेका छन् । युवाहरु आफ्नो मौलिक कल्चरलाई जोगाइ राख्न आधुनिक होटलमा लगानीमा आकर्षित नभएको सुनाए । पर्यटकलाई अरुभन्दा फरक ‘सर्भिस’ दिनुपर्ने मान्यता उनीहरुमा रहेछ । यसले संस्कार र संस्कृतिको पनि जगेना भयो । ओहो ! कति राम्रो सोच । मलाई भुटान रहुन्जेल लाग्यो । सो भूमी नै पर्यटनमैत्री रहेछ । वरपरका हावा, पहाड, वन जंगल, घर, मानिस सबै चिजले पर्यटकको स्वागत गरिरहेको छ । सायद आफूले पर्यटनको नजरबाट हेरेकोले पनि होला की ।   

सरकारले पर्यटन पूर्वाधारमा लगानी गरिदिएको छ । प्रचारका लागि भरपूर सहयोग गरिरहेको छ । प्रत्येक पर्यटकबाट ‘रेभेन्यू’ लिएवापत उसले गर्नुपर्ने जिम्मेवारी मज्जाले निभाएको भान भयो । नीजि क्षेत्र पनि नीति, नियममा चलेका रहेछन् । दुवै पक्षको तालमेल गज्जबको रहेछ । यो हो नी त अधिकार र कर्तव्यको कम्बिनेसन । ट्राभल कम्पनीले पनि पर्यटकलाई झुक्याउने र ठग्न त परै जाओस्, कल्पना पनि गर्दैनन् कि भन्ने लाग्छ । नियम कानुनलाई अन्तरहृदयबाट शिरोपर गरेको लाग्यो ।   

हेरिटेज घर र घर वरपर हामीलाई दोर्ची र नोर्चुले मज्जाले घुमाए । सोही दिन टाइगरनेसको उकालाको हिँडाइ चटक्कै बिर्सियौं । उक्त घरमा बस्न पर्यटक आफैं खोज्दै आइपुग्दा रहेछन् । कतिले त ट्राभल एजेन्सीलाई शर्त नै राख्दा रहेछन् सो घरमा बसाउनु पर्छ भनेर । हाम्रो लागि पारोको सबैभन्दा पुरानो र ऐतिहासिक रिजर्ट बुक थियो । यसैले हेरिटेज होममा बस्ने चाहनालाई एक कुनामा राख्दै युवाहरुसँग विदा लियौं । उनीहरुले पनि फेरी आउनु होला है ! भन्दै हात हल्लाए ।  

हामी कुनै पनि स्थान जाँदा त्यहाँको मौलिकता हेर्न, बुझ्न र अध्ययन गर्न संग्रहालय जान्छौं । जहाँबाट हामीले उक्त स्थानको परम्परा र मौलिकता यस्तो पो रहेछ भनेर जान्ने मौका पाउछौं । तर, मैले भुटानलाई जीवित संग्रहालयको रुपमा पाए । परम्परा र मौलिकतालाई जगेर्ना गरिएको छ । साँच्चै शान्ति र खुसी यात्रा गर्नु मनपर्नेहरुका लागि ‘हेप्पिनेस इज प्लेस’ भुटान सबैभन्दा ‘बेष्ट’ गन्तव्य हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *