पशुपति आर्यघाटका कामदारहरुको आन्दोलन स्थगित, दाह संस्कारको मूल्य बढ्यो

कात्तिक ६, काठमाडौं । आज बिहानबाट सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका पशुपति आर्यघाटका शव जलाउने कामदारहरु सहमतिमा आएका छन् । बिहानबाट आन्दोलन थालेपछि तनावग्रस्त पशुपति आर्यघाट सञ्चालनमा आइसकेको छ ।   

पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक राजु रेग्मीले पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत कामदारसँग सहमति भएको बताए । 

पशुपति आर्यघाटका घाट सेवा केन्द्रका कामदार आज बिहानबाट आन्दोलनमा उत्रिएका थिए । कामदारका माग पूरा नभएसम्म आन्दोलनमा उत्रिएको घाटका कामदारहरुको माग सुनुवाई भएपछि आन्दोलन स्थगित गरिएको थियो ।   

Image result for पशुपति आर्यघाट

२०७२ सालमा जारी भएको निर्देशिका अनुसारको सेवा सुविधा कम भएको भन्दै उनीहरुले विरोध गरेका थिए । सहमतिसँगै आर्यघाटमा दाहसंस्कारको ज्याला बढेको छ ।   

दाहसंस्कारको यसअघि १२ सय रुपैयाँ रहेकोमा अब १५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । दाउराको ४ सयबाट बढेर ६ सय पुगेको छ भने चपटीको ४ सयबाट ६ सय पुगेको छ । यो सँगै प्रत्येक २ वर्षमा दाहसंस्कार खर्च १० प्रतिशत बढाउने सहमतिसमेत भएको छ । 

अब त्यहाँ कार्यरत कामदारको उपदान बढ्ने भएको छ । यसअघि ५० हजार उपदान पाउँदै आएकाले १ लाख ५० हजार उपदान पाउने भएका छन् । 

त्यसैगरी १ लाख उपदान पाउँदै आएकाले ३ लाख उपदान पाउने भएका छन् । स्वास्थ्य शीर्षकमा वार्षिक रुपमा ५ हजार पाउँदै आएकाले १५ हजार पाउने भएका छन । २० हजार पाउनेले ३० हजार पाउने सहमति भएको छ । वार्ताबाट कामदारको अवकाशको उमेर हदसमेत बढाइएको छ । यसअघि ६० वर्ष तोकिएकोमा अब ६५ वर्षसम्म काम गर्न पाउने सहमति भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *