धरानको उपनिर्वाचनमा नेकपालाई उम्मेद्वार छान्न सकस, आज नेकपाको सचिवालय बैठक

कात्तिक १३, धरान । आगामी मसिर १४ गते हुने उपनिर्वाचनको धरानमा सरगर्मी चढेको छ । धरान उपमहानगरपालिकाको मेयर पदका लागि सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसको मुख्य प्रतिष्पर्धा भएपनि साना दलहरुले समेत उम्मेद्वारी घोषणा गरिसकेका छन् । 

धरानको हकमा नेपाली कांग्रेस, समाजवादी पार्टी र संघिय लोकतान्त्रिक मञ्ज सबद्ध संघिय लिम्बुवान मञ्चले आफ्ना उम्मेद्वार सार्वजनिक गर्दा नेकपाले भने अझै उम्मेद्वार टुंगो लगाउन सकिरहेको छैन ।   

धरानको नेकपा भित्र उम्मेद्वारहरुका आकांक्षी बढि भएपछि सर्वसम्मत उम्मेद्वार टुंगो लगाउन नेकपालाई सास्ती बढेको छ ।  नेकपा केन्द्रीय कमिटीले कार्तिक १० गते भित्र उम्मेद्वारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन गरेपनि धरानले टुंगो लगाउन नसकेको हो । 

धरानमा सर्वसम्मत उम्मेद्वार चुन्न प्रयास भइरहेपनि नसकिएको नगर सचिवालयका एक सदस्यले मकालु खबरलाई बताए । ‘बाहिर राम्रो सन्देश जान नदिन सर्वसम्मत उम्मेद्वार चयन गर्न खोजिएको हो । अब चाँडैं टुंगोमा पुग्छौं ।’ ती सदस्यले भने ।   

धरानको रिक्त रहेको मेयर पदमा उम्मेद्वारी दिन झण्डै एक दर्जन आकाक्षी देखिएका छन् । वैद्य माओवादी परित्याग गरी नेकपामा प्रवेश गरेका पूर्वसभाषद् किरण राई, नेकपा प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, पूर्व नगर प्रमुख मनोजकुमार मेयाङम्बो, नेकपा केन्द्रिय सदस्य मुकेश मेयाङम्बो, चोत्लुङ, अशोक राई, नगर अध्यक्ष नारायण सुवेदी, प्रकाश राई, आइन्द्रविक्रम बेगा, जिल्ला सदस्यहरु प्रकाश राई, पदम इस्वो, तीर्थ मास्के तथा मजदुर नेता मोतिराज सुनुवार समेतले इच्छा देखाएपनि नेकपा धरानलाई सकस परेको छ ।   

सर्वसम्मत उम्मेद्वार चयन गर्न नेकपा धरान नगर कमिटीको आज २ बजे पार्टी कार्यालयमा सचिवालय बैठक बोलाएको छ । तथापि, आज नै सर्वसम्मत उम्मेद्वार चयन हुन सक्ने अवस्था नदेखिएको ती नगर सदस्यले बताए ।   

गत वर्ष मेयर तारा सुब्वाको निधन भएपछि धरानमा मेयरको जिम्मेवारी उपमेयर मञ्जु भण्डारीले सम्हाल्दैं आएकी छन् । धरानमा वाड नंं ७ को वडा अध्यक्षका लागिपनि निर्वाचन हुदैछ । वडाध्यक्ष भूवन मोक्तान र मेयर सुब्वाको गत वर्ष मृत्यु भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *