यस्तो हुन्थ्यो नारायणहिटी दरबारको दशैँ

विजया दशमी अर्थात् बडा दशैँ हामी नेपालीहरुको महान चाड हो । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य तथा खुशियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमारा लगाउने चलन छ ।
राष्ट्रिय चाड समेत मानिने दशैँ हिन्दू धर्मालम्बीहरुले आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) दुर्गाको नौ रुपको पूजा आराधना गर्ने गर्दछन् । दशौँ दिन अर्थात् दशमीको दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टिका प्रसाद ग्रहण गरी दशैँ मनाउने गरिन्छ ।
राजपरिवारमा पनि दशैँ मनाउने तौरतरिका उस्तै हो । यो सनातन वैदिक परम्परा हो । हिन्दू धर्मालम्बीको धार्मिक नियम, विधि सबै एउटै हुन्छ । राजपरिवार पनि हिन्दू धर्मालम्बी भएका कारण हामी सर्वसाधारणले गर्ने र राजपरिवारले गर्ने धार्मिक विधि विधान, परम्परा, रितिथिति एउटै हुन्छ । फरक यति हो कि त्यहाँ विधि टुटफुट हुँदैन । कुनै पनि विधि छुटाइँदैन थियो । दरबार र सर्वसाधारणको साइत पनि फरक हुन्थ्यो ।

नारायणहिटी दरबार (राजदरबार) मा पण्डितहरुको अफिसका साथै पुस्तकालय पनि थियो । गएर हाजिर गरिन्थ्यो । पण्डितहरु जाने, बस्ने, पढ्ने गर्थे । त्यहीँ अर्को पट्टी पूजा गर्ने छुट्टै कोठा थियो । पुजा घरै थियो । बिहान बेलुका दैनिक नित्य पूजा हुन्थ्यो । दैनिक नित्य पूजाका लागि छुट्टै पण्डित हुन्थे ।
राजपरिवारको निर्देशन बमोजिम सबै काम पण्डितबाट हुन्थ्यो । नवरात्रका पहिलो दिन घटस्थापनामा चोखो ठाउँबाट बालुवा ल्याएर पुजाआजा गरी विधिपूर्वक सोही मन्दिर (पूजा कोठा) मा जमारा राखिन्थ्यो । त्यही दिनदेखि नवरात्रभर (नवमीसम्म) पण्डितहरु बसेर चण्डी पाठ गर्थे । पण्डितहरु धेरै हुने हुँदा नवरात्रभर झण्डैँ एक हजार आवृत्ति पुग्थ्यो (पढिन्थ्यो) । सबै देवीको स्तुति हुन्थ्यो दिनहुँ । वेद पनि पढिन्थ्यो ।
अहिले पनि हनुमानढोकामा जमरा छरिन्छ । त्यहीँको जमरा लगेर क–कसले टिका लगाउँछन् । म त्यहाँ गएको छैन । त्यहाँको विधि के कस्तो हुन्छ मलाई थाहा छैन ।
घटस्थापनादेखि नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरु क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धियात्रीको पूजा हुन्थ्यो । दिनहुँ हरेक देवीको पूजामा बलि (बोका बलि) चढाइन्थ्यो । अष्टमीको दिनमा अझै विशेष हुन्थ्यो ।
जसरी सर्वसाधारणले बढाईँ गरेर फुलपाती भित्र्याउँछन्, दरबारमा पनि त्यसरी नै भित्र्याउने हो । खासगरी दरबारमा भन्दा पनि राज्यको तर्फबाट प्रायः नवरात्रको सम्पूर्ण विधि हनुमान ढोकामा नै केन्द्रित हुन्थ्यो । राजपरिवारका लागि नारायणहिटी दरबारमा हुन्थ्यो ।
गोरखाबाट फुलपाती ल्याएर हनुमान ढोकामा भित्र्याइन्थ्यो । बडा महाराजधिराज पृथ्वी नारायण शाहले हनुमान ढोकाको परिपाटी बसालेका कारण त्यो चलन पछिसम्मै चल्दै आएको हो । उहाँहरुको कुलको परम्परा पनि त्यही नै हो । टिकाको दिन त्यहीँको प्रसादहरु चढाउने तथा ग्रहण गर्ने चलन थियो ।
दशमीको दिनमा देवीलाई पूजा गरेर दरबारमा टिका जमारा हुन्थ्यो । सर्वसाधारणमा प्राय घरका मुलि अर्थात् सबैभन्दा ठुला व्यक्तिले साइतको टिका लगाइदिने प्रचलन छ । दरबारमा भने साइतको टिका पण्डितहरुले लगाइदिने चलन थियो । त्यसपछि पारिवारिक रुपमा घरका ठुला सदस्यबाट क्रमैसँग टिका जमारा हुन्थ्यो । परिवार, इष्टमित्र, नातेदार सबैलाई टिका लगाइसकेपछि बाहिर सर्वसाधारणलाई लगाइन्थ्यो । लाइनमा आएर जति मान्छे बसेका हुन्छन्, ती सबैलाई रातिसम्मै राजाले टिका लगाइदिनु हुन्थ्यो । टाढा टाढाका जिल्लाबाट मानिसहरु आउँथे टिका थाप्न । विदेशबाट समेत आउँथे ।
अहिले पनि त्यो परम्परा कायम नै छ । दशैँका दिनमा निर्मल निवासमा राजाको हातको टिका थाप्नेको भीड लाग्ने गर्दछ । राजा भनेको सबैको साझा हो भन्ने नेपाली जनताको मान्यता थियो । किनकी राजाको कुनै पार्टी हुँदैन । सबै जनताका अभिभावक हुन् राजा । अहिले पनि त्यो मान्यता छ भन्ने कुरा निर्मल निवासमा टिका थाप्नेको भीडले प्रमाणित गर्छ ।
हुन त शीतल निवासमा पनि राष्ट्रपतिको हातबाट टिका लगाइदिने चलन छ अहिले । तर, निर्मल निवासमा जति भीड हुँदैन शीतल निवासमा । त्यहाँ टिका थाप्न जाने भनेका कर्मचारी, उनीहरुका पार्टीका कार्यकर्ता मात्रै हुन् । निर्मल निवास जाने भनेको सर्वसाधारण नेपाली जनता हो । जसको कुनै पार्टी छैन, जो कुनै पार्टीमा आबद्ध छैनन् ।
राजसंस्था हुँदा ७–८ जना पण्डित हुन्थे घटस्थापनामा । अहिले पनि निर्मल निवासमा ४–५ जना पण्डित हुनुहुन्छ । उहाँहरुले आफ्नो धर्म, नृत्य कर्म छोड्नु भएको छैन । पहिले–पहिले हनुमान ढोकामा बसन्त श्रवणी हुन्थ्यो सरस्वती पूजाको दिन । त्यो अहिले पनि गर्नुहुन्छ उहाँहरु । दरबारमा गरिने सबै धार्मिक काम अहिले पनि हुन्छ । पहिले समारोह गरिन्थ्यो भने अहिले उहाँहरुको आफ्नो पारिवारिक ढंगबाट हुन्छ ।
अहिले त मनपरी छ । हुन त सरकारको आलोचना गरेजस्तो हुन्छ । तर यो सरकार धर्मप्रति विश्वास गर्दैन । यो सरकारले ईश्वरको नाममा सपथ लिँदैन । उहाँहरु धर्मलाई एउटा नशा सम्झनुहुन्छ । देउता भन्दा आफू ठुला हौँ भन्ने सोच्नुहुन्छ उहाँहरु ।
वास्तवमा राजाले आफ्नो र अरु भनेर कहिल्यै भेदभाव गर्नुभएन । राजसंस्था हुँदा ठुलाठुला पदमा आफ्ना मान्छे मात्रै राख्ने, मन्त्री बनाउने काम पनि भएन । अहिले राजा नभएकै कारण देश विखण्डनको अवस्थामा छ । भ्रष्टाचार बढेको छ । देशको आम्दानी भन्दा खर्च बढेको छ । नेपाली जनताले रातदिन नभनि दुःख गरेर कमाएको पैसा मन्त्री, सांसदहरुको नचाहिँदो सेवासुविधामा खर्च गरिएको छ । कर अत्यधिक वृद्धि गरिएको छ । राजा हुँदा यस्तो थिएन ।
भन्न त उहाँहरु भन्नुहुन्छ, विदेशमा पनि कर लिइन्छ । तर विदेशको जस्तो सेवासुविधा खै त ? खोइ विकास ? राजाको सवारी हुँदा २० मिनेट बाटो थुनिन्थ्यो, अहिले एक घण्टा । उहाँहरुलाई कसैले हान्ला कि, मार्ला कि भन्ने डर छ । जनतामाथि विश्वास नै छैन । त्यसैले पनि राजाप्रति जनताको आस्था कायमै छ ।
(ज्योतिष पण्डित माधव भट्टराई नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष, राष्ट्रिय धर्मसभा नेपाल र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष हुन् । वि.सं २०५८ सालमा राजदरबारमा नायब बडागुरुज्यूको नियुक्ति पाएका उनी अहिले पनि राजपरिवारको धार्मिक क्रियाकलापमा सरिक छन् ।)
प्रस्तुतिः सृष्टि नेपाल








