सबै जातजाति एकजुट भइ देश विकासमा लाग्नुपर्छः नेता रावल

कार्तिक ४, कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले गोदावरी नगरपालिका–६ स्थित आफ्नो निवासमा आइतबार आयोजना गरेको दशैँ–तिहार तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता रावलले सबै जातजातिले एकताबद्ध भएर लागेमा देश विकासले गति लिने बताए । थारू, पहाडी, दलित, जनजातिलगायत सबै जातिले हातेमालो गरी देश विकासमा लाग्नुपर्ने उनको भनाइ छ ।
नेता रावलले दशैँ, तिहार तथा छठपर्वको शुभकामना दिँदै सबै जातजातिमा भाइचाराको सम्बन्ध राख्नुपर्नेमा जोड दिए । उनले चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउने र जातीय सद्भाव कायम रहने विश्वास व्यक्त गरे ।

नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले विकासका कामसँगै विभिन्न जातजातिले मनाउने चाडपर्वमा एकता हुन जरुरी रहेको औँल्याए ।
प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले सबै जाताजातिले एकताबद्ध भएर लाग्नुपर्छ भन्ने सन्देश दिन प्रदेशका शीर्ष नेता बोलाएर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको उल्लेख गरिन् ।
कार्यक्रममा नेकपा सुदूरपश्चिम सहइन्चार्ज खगराज भट्ट, भानुभक्त जोशी, प्रदेश अध्यक्ष कर्ण थापालगायतको सहभागिता थियो । रासस








