तिहारमा पनि मन्त्री लामा पुगे किसानको माछा पोखरीमा

कात्तिक १०, चितवन । नेपालीहरुको दोश्रो महान चाड घरघरमा भित्रिसकेको छ । सवै जना तिहारको माहोलमा छन् । तर प्रदेश नम्वर ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा भने किसानको माछा पोखरी निरीक्षणमा व्यस्त छन् । 

किसानको समस्या बुझ्न उनी तिहारको विदाको समय सदुपयोग गर्दै पूर्वी चितवनमा किसानहरुले गरेको व्यवसायिक माछापालनको स्थलगत निरीक्षणमा पुगेका हुन् । मन्त्री लामा मत्स्य व्यवसायी संघ चितवनका प्रतिनिधीहसँग राप्ती र खैरहनीका किसानको पोखरी पोखरी पुगेका थिए ।   

मत्स्य व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष रमेश पाण्डे, वर्तमान कार्यसमिति सदस्यहरु मंजिव क्षेत्री, हरिनारायण थपलियासहित मन्त्री लामाले माछा पोखरीको अवस्था, किसानको समस्या बुझ्ने काम गरे । निरीक्षणका क्रममा कृषि मन्त्री लामाले प्रत्यक्ष किसान समक्ष नपुगे सम्म उनीहरुको समस्या थाहा नहुने भएकाले तिहारको मौका छोपेर स्थलगत निरीक्षणमा आएको बताए । 

माछापालक किसानहरुले मन्त्री लामालाई पोखरी मर्मतमा अनुदान, यान्त्रिकरणमा अनुदान र विद्युत महसुलमा सहुलियत गराउन माग गरे । विद्युत महसुल सहुलियतका लागि केन्द्र सरकार समक्ष पहल गर्नुपर्ने तर पोखरी मर्मत र यान्त्रीकरणमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री लामाले बताए । ‘विद्युतको विषय हाम्रो पहुँचमा छैन’ मन्त्री लामाले भने–‘तपाईहरु किसानसँग मिलेर केन्द्रमा डेलिगेसन जान तयार छु ।’ माछा पोखरीसँगै केरा बगानको समेत मन्त्री लामाले निरीक्षण गरेका थिए । 

आईतबार करिव १ दर्जन किसानको पोखरी पुगेका मन्त्री लामाले सोमबार पनि पूर्वी चितवन र पश्चिम चितवनको माछा पोखरीहरुको निरीक्षण कार्यक्रम रहेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले नयाँ पोखरी खन्न र यान्त्रीकरणमा वजेट विनियोजन गरेको छ ।   

चितवनमा २ हजार ७३ भन्दा बढि किसान मत्स्य व्यवसायी संघमा आवद्ध छन् । पूर्वी चितवनमा मात्रै ७ सय ८० भन्दा बढि किसानहरु व्यवसायिक रुपमा माछापालन गर्दै आएका छन् । त्यस मध्ये पनि खैरहनी माछाका लागि पकेट क्षेत्र हो । यहाँ ५ सय ८३ विगाहा क्षेत्रफलमा माछापालन गरिदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *