कप्तान पारसको राजीनामाले भावुक सन्दीप, दिए यस्तो प्रतिक्रिया
असोज २८, काठमाडौं । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले कप्तान पारस खड्काको नेतृत्वमा नेपाली क्रिकेटरले ठूलो उपलब्धि हाँसिल गरेको भन्दै भविष्यको शुभकामना दिएका छन् ।
खड्काले कप्तानबाट राजीनामा दिएपछि सन्दीपले उनको भविष्यको कामना गरेका हुन् । कप्तान खड्काले धेरै युवालाई क्रिकेट खेललाई प्रेम गर्न सिकाएको तथा प्रेरित गरेको उनको भनाइ छ ।
सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तपाईँको नेतृत्वमा यात्रा सुरु गर्दै गर्दा हामी त्यस्ता स्थानहरुमा पुगेका छौँ, जुन नेपाली क्रिकेट यो भन्दा पहिल्यै कहिल्यै पुग्न सकेको थिएन । तपाईँले विगतका वर्षहरुमा म लगायत धेरै युवाहरुलाई प्रेरित गर्नुभयो र हामीलाई यो सुन्दर खेललाई प्रेम गर्ने सबै कारणहरू दिनुभयो । तपाईँ भविष्यका प्रयासका लागि शुभकामना ।’
उनले अघि लेखेका छन्, ‘हामी सबै जना तपाईँलाई सकेसम्म धेरै वर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौँ । तपाईं साँच्चिकै एक लिजेन्ड हुनुहुन्छ जसले हाम्रो सबै हृदयमा ठूलो छाप पार्नुभएको छ ।’