रुबिनाको अर्धशतकमा काठमाडौंको पहिलो जित, पोखरा ८२ रनले पराजित
असोज ३०, काठमाडौं । राजधानीमा जारी वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा क्वाट क्विन्स काठमाडौंले पहिलो जित हात पारेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै क्वाट क्विन्स काठमाडौंले पहिलो जित निकालेको हो । जितसँगै काठमाडौंले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो ।
काठमाडौंले दिएको १ सय ५३ रनको फराकिलो लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा अलआउट हुँदै ७० रनमा समेटियो ।
पोखराका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ रन जोड्दा बिन्दु रावलले १३ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले २–२ विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
काठमाडौंको लागि कप्तान रुबिना क्षेत्री ८३ रन अविजित रहिन् । ६७ बलको सामना गरेकी रुबिनाले १४ चौका र २ छक्का प्रहार गरिन् । जारी लिगमा यो पहिलो अर्धशतक समेत हो ।
त्यस्तै रोमा थापाले १९, सोभा आलेले १२ तथा ईश्वरी बिष्टले अविजित १० रन जोडिन् ।
पोखराकी अनुराधा चौधरीले ४ तथा कविता कुँवरले १ विकेट लिइन् ।