एनआरएनएको निर्वाचन आज, कुमार पन्त र कुल आचार्यको प्यानल चुनावी मैदानमा

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ महाधिवेशन एवं अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । काठमाडौँको हायात होटलमा ४२ जना पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो ।
आयोजकका अनुसार ४९ देशका करिब २ हजार ६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् । मतदान साँझ ५ बजेदेखि राति १० बजेसम्म हुने बताइएको छ । श्रोतका अनुसार निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने छ ।
मतदान विद्युतीय प्रणालीबाट हुने र मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । एनआरएनएको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन् ।
पन्त समूहबाट ५ उपाध्यक्षमा डा.बद्री केसी (रसिया), सोनाम लामा (मेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) हिक्मत थापा (अफ्रिका), र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहेका छन् ।
महिला उपाध्यक्षमा पन्त समूहबाट सपिला राजभण्डारी (रसिया)ले उम्मेदवारी दिने बताइएको छ । महासचिवमा बेलायत निवासी प्राध्यापक डा.हेमराज शर्मा, र सचिवमा अमेरिका निवासी गौरी जोशी, शिवकुमार बरुवाल (बेल्जियम) र मध्यपूर्वका राजेन्द्र कुमार शर्मा (आरके)मध्ये एक जनालाई अघि सार्ने बुझिएको छ ।
पन्त समूहबाट कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन्भने सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), गोबिन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका)ले दाबी गरेका छन् ।
त्यस्तै कुल आचार्य प्यानलमा पाँच उपाध्यक्षमा डा.केशव पौडेल (अमेरिका)। मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका)लाई अघि सारिएको छ । महासचिवमा जानकी गुरुङ (बेल्जियम)लाई अघि सारिएको छ भने कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी दिएका छन् ।
अध्यक्षका प्रत्यासी कुमार पन्तलाई नेकपा निकट र कुल आचार्यलाई कांग्रेसनिकट मानिएको छ भने राजनीतिक हिसावले प्यानल छुट्याएर उम्मेदवारी आएपछि संघमा राजनीतिकीकरण भएको आरोप लाग्न थालेको छ ।
उता संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले भने संघको स्थापनाको उद्देश्यविपरीत राजनीतिकीकरण भएको भन्दै मंगलबार सम्मेलनको उदघाटन समेत बहिस्कार गरेका थिए ।








