जसलाई ‘अमेरिकाले चिन्यो, नेपालले चिन्न सकेन’

असोज २३, काठमाडौं । ललितपुरको पाटनस्थित मंगलबजारको हाखा टोलमा जन्मिएका मुनि बहादुर शाक्य चिरपरिचित नाम हो । पिता बुद्धराज शाक्य र माता नानीमाया शाक्यको कोखबाट जन्मिएका उनी नेपालका पहिलो कम्प्यूटर वैज्ञानिक हुन् भन्ने विश्वलाई हेक्का छ । तर पिताको चाहनालाई लत्याएर यहाँसम्म आइपुग्दाको उनको संघर्ष कमैलाई मात्र थाहा होला ।   

उनी घरको जेठो छोरो । उनको बाबुको चाहना थियो, छोरोले सुनचाँदीको व्यवसाय गरोस् । किनकी उनी सुन चाँदी व्यवसायी थिए । आफ्नो व्यवसाय राम्रैसँग चलेका कारण छोराको भविष्य यतै कोरियोस् भन्ने चाहन्थे बुद्धराज । तर मुनिलाई त्यसतर्फ पटक्कै लगाव थिएन । उनको लगाव, झुकाव मात्रै विज्ञानमा थियो । लगाव, झुकाव र मिहेनत भएपछि अरु के चाहियो र सपना पुरा गर्नका लागि ? अनेक दुःख, पीडाका बाबजुद सपना त पुरा गरेरै छोडे । तर विडम्बना, सन् १९७९ मा नै माइक्रोचिप्सको प्रयोग गरी नेपालमा कम्प्यूटर निर्माण गरेका शाक्यको सपनाले त्यति आकार लिन सकेन जति उनले सोचेका थिए । उनलाई विश्वले त चिन्यो तर आफ्नै देशले चिन्न सकेन । न त उनको कम्पनी हाइटेक पायोनियरले नै देशव्यापी रुपमा वर्चस्व नै जमाउन सक्यो । लाखौँ कोशिसका बाबजुद किन उनको कम्पनी अन्तर्राष्ट्रिय स्तरमा पुग्न सकेन ? नेपालमा किन बिकेन उनको सिप र ज्ञान ? कम्प्यूटर वैज्ञानिक शाक्यसँग गरिएको कुराकानी संक्षेपः 

इन्जिनियर बन्ने सपना कसरी अंकुरायो ?   

मेरो औपचारिक शिक्षा पाटन हाई स्कुलबाट सुरु भयो । सानैदेखि विज्ञानप्रति झुकाव थियो । एकदमै उत्सुक स्वभावको थिएँ । विज्ञानसम्बन्धी जानकारी भनेपछि जहाँ भेटिन्छ, जे भेटिन्छ पढिहाल्ने । जब ७ कक्षा पुगेँ, एकदिन शिक्षकले हाइड्रोजन दुई भाग र एक भाग अक्सिजन परमाणु मिलेर पानी बन्छ भन्ने विषय पढाउनुभयो । मैँले घरमा सबै ट्युब लगायत सबै सामान जुटाएर प्रयोगात्मक परिक्षण गरेँ । विश्लेषण गरेँ । म आफैँले छुट्टाएँ पानीको हाइड्रोजन अक्सिजन परमाणु ।   

एसएलसी दिनु भन्दा अघि नै मैँले रेडियो, इलेक्ट्रिक पंखा बनाइसकेको थिएँ । म विज्ञानमा पढेका हरेक सिद्धान्त प्रयोगमा ढाल्थेँ । रातैभरी नसुतेर परिक्षण गर्थेँ । कति बेला निदाउथेँ पत्तो हुँदैनथ्यो । यही उत्सुकताले इन्जिनियरिङको सपना अंकुरायो ।   

वास्तवमा मेरो नाम मुनि बहादुर शाक्य होइन, मुनिराज शाक्य हो । बहादुर मेरो स्कुलको प्रधानाध्यापकले राखिदिनु भएको हो ।   

नाम नै परिवर्तन गरिदिनुको रहस्य छ कि ? 

मेरो स्कुलमा एउटा कक्षा कोठामा मात्रै १ सय १० जनासम्म विद्यार्थी हुन्थे । तर म सधैँ १ अर्थात् पहिलो हुन्थेँ । दोस्रो कहिल्यै भइनँ । तीन कक्षामा पनि पहिलो भएपछि प्रधानाध्यापकले ‘राज’ लाई काटेर ‘बहादुर’ लेखिदिनुभयो । प्रधानाध्यापकसँग कति गुनासो गरेँ त्यो नराखिदिनुुस् भनेर । किनकी हाम्रो सन्तानमा कसैको पनि बहादुर छैन । मेरो बुवा, हजुरबुवा सबैको राज नै हो । म मात्र बहादुर हुँदैन सर भनेँ । उहाँको जवाफ आउँथ्यो, ‘यतिधेरै विद्यार्थीहरुमा पहिलो हुने मान्छे बहादुर नभएर के हुन्छ त ?’   

त्यो वर्ष त्यतिकै भयो । दोस्रो, तेस्रो, वर्ष पनि उहाँले बहादुर नै राखिदिनु भयो । म तीन पटकसम्म गएँ नाम सच्याइदिनुस् भनेर । तर उहाँको जवाफ उही हुन्थ्यो, ‘तिमी बहादुर छौ, हौ । त्यसैले मैँले बहादुर राखिदिएको हुँ ।’ उहाँ नाम सच्याउनै मान्नु भएन । पछि मेरो नाम नै मुनि ‘बहादुर’ शाक्य भयो । मैँले बहादुरी कमाएँ ।   

इन्जिनियरिङतर्फ कसरी मोडिनुभयो ? 

१४ वर्षको उमेरमा मैँले एसएलसी पास गरेँ । त्यो समयमा नेपालमा इन्जिनियरिङ कलेज थिएन । पढ्नका लागि अरु देशमा नेपालीको पहुँच कम नै थियो । त्यसकारण भारत जाने निर्णय लिएँ ।   

मेरो बुवा मैँले सुन व्यवसाय नै गरोस् भन्ने चाहनुहुन्थ्यो । इन्जिनियरिङ पढ्ने मेरो निर्णय उहाँलाई मन परेको थिएन । त्यो पढेर के हुन्छ ? भन्नुहुन्थ्यो । दुःख पाउँछ भन्नुहुन्थ्यो । तै पनि म आफ्नै जोडबलले भारत गएँ र रेडियो इलेक्ट्रोनिक्स इन्जिनियरिङ पास गरेँ ।   

परिवारकै समर्थन रहेनछ, गाह्रो भएन पढ्न ?   

मैँले धेरै दुःख गरेर पढेको हुँ । काम पाउनै एक वर्ष लाग्यो मलाई । काम नगरी पढ्ने कुरो पनि आएन । त्यति गरिब त थिएनौँ, तर बुवा आमालाई दुःख दिनै मन लागेन । हाम्रो ४ दाजुभाई । म जेठो । उनीहरुलाई पनि पढाउनु पर्यो । त्यसैले म आफ्नो खुट्टामा उभिएर पढ्छु भन्ने सोचेँ । भारतमा आफन्तहरु थिए । काम नपाउन्जेलसम्म त्यहीँ बसेँ । उहाँहरुले धेरै माया गर्नुहुन्थ्यो । बल्ल बल्ल एक वर्षपछि काम भेट्टाएँ । तर ठुलै भेट्टाएँ ।   

त्यो जमानामा धेरै सस्तो थियो । पढ्नका लागि महिनामा ३५ रुपैयाँ भए पुग्थ्यो । मैँले सोचेको थिएँ, महिनामा १ सय ५० रुपैयाँ आम्दानी हुने जस्तोसुकै काम भएपनि गर्छु । किनकी मलाई पढ्नु थियो । तर मैँले सुपरभाइजरको काम पाएँ, त्यो पनि महिनाको ३ सय तलब । सोचेभन्दा दोब्बर । मलाई त पढ्न, खान, बस्न छ्यालब्याल नै भइहाल्यो नि । त्यसपछि भारतको राइज इष्टिच्युट अफ रेडियो इलेक्ट्रोनिक्स कलेजमा भर्ना भएँ ।   

त्यसपछि दुःखका दिन सुरु भए । ५ बजे उठ्नै पथ्र्यो । आफू बस्ने कोलकत्ता । कोलकत्ता भन्दा निकै टाढा थियो काम । ३० माइल टाढा । एक घण्टा लाग्थ्यो । रातको १२ बज्थ्यो घर फर्कँदा । खाना खान्थेँ । होमवर्कहरु गर्थेँ । अनि सुत्थेँ । कहिलेकाहीँ त रातभरी प्रयोगात्मक परिक्षण गरिरहनुपथ्र्यो । सुत्ने भनेको त मात्र ३ घण्टा ।   

मेरो मनमा निकै साहस थियो । दुःख कहिल्यै मानिनँ मैँले । किनकी मलाई मेरो सपना पुरा गर्नु थियो । मैँले सोचेको, रोजेको विषय पढ्न पाइरहेको थिएँ । म त झन् खुशी थिएँ । कहिल्यै बिरामी परिनँ । तर नेपाल धेरै सम्झिन्थेँ । भाइबहिनी आमाबुवा यतै हुनुहुन्थ्यो । धेरै याद आउँथ्यो उहाँहरुको । छुट्टीमा कहिलेकाहीँ भेट्न आउँथेँ । त्यसरी नै ५ वर्ष सुख दुःखले विताएँ । पढाइ पुरा गरेर नेपाल फर्किँदा १९–२० वर्षको थिएँ होला ।   

तपाईँको शिक्षा र सिपको सदुपयोग भयो त यहाँ ?   

फर्किएपछि मैँले रेडियो नेपालमा काम पाएँ । खुमलटारमा रहेको रेडियो स्टेशनको काममा रातदिन विदेशीहरुसँगै खटिएँ । त्यहाँ ब्रिटिसहरु थिए । उनीहरुसँग काम गरेँ । १९६९ तिर काम सकियो । १९७० को सुरुमै म इंग्ल्याण्ड गएँ । 

कसरी गएँ ? म एक्टिभ थिएँ । मेरो अंग्रेजी पनि राम्रो थियो । ती ब्रिटिसहरुले निकै मन पराउँथे । मैँले भने–भनेका कुरा तुरुन्तै हुन्थ्यो । उनीहरुले चार्टर इन्जिनियरिङ पढ्नका लागि इंग्ल्याण्डमा झण्डैँ एक लाख ७५ हजार पाउन्डको छात्रवृत्ति मिलाइदिए । त्यहाँ निकै नयाँ कामहरु सिक्न पाएँ । जेनेरेटर पनि म आफैँ बनाउँथेँ । धेरै इलेक्ट्रोनिक वस्तुहरु बनाएँ मैँले ।   

चार्टर इन्जिनियरिङ कोर्स पुरा गरेर पुनः नेपाल फर्किएँ । राष्ट्रिय समाचार समिति (रासस) मा काम पाएँ । त्यहाँ फ्रान्स, इण्डिया, रसिया लगायतबाट आएका समाचारहरु सबै मैँले नै व्यवस्थापन गर्नुपथ्र्यो । छाप हान्ने, प्रिन्ट गरेर सम्पादकहरुलाई दिने काम थियो मेरो । रातभरी १२–१ बजेसम्म काम गरेर भोलि बिहानै ४–५ बजेभित्र पठाइसक्नुपथ्र्यो पत्रिकाका लागि ।   

त्यहाँ (रासस) बाट पनि विदेश जाने अवसर जुर्यो कि ? कम्प्यूटर वैज्ञानिक बन्ने सपना कसरी पूरा गर्नुभयो ?   

राससमा काम गर्दै जाँदा मैँले फ्रान्सका लागि अवसर पाएँ । विज्ञान प्रविधि सम्बन्धी अझै धेरै सिक्न पाएँ । तर त्यहाँ मैँले आफ्नो बारेमा मात्रै सोचिनँ । मलाई सधैँ एउटै चिन्ताले सताउँथ्यो, ‘यहाँ के सिकेँ भने मेरो देशको लागि काम आउँछ । म मेरो देशको लागि के गर्न सक्छु ?’   

फ्रान्सबाट फर्कँदा कम्प्यूटर बनाउनका लागि पार्टपुर्जाहरु लिएर आएँ । विभिन्न देश गएर कम्प्यूटर बनाउन आवश्यक चिप्सहरु संकलन गरेँ (किनेँ) । ती सबै पार्टपूर्जा ल्याएर १९७९ मा मैँले कम्प्यूटर बनाएँ । त्यतिबेला २८–२९ वर्षको थिएँ होला ।   

त्यसपछि गोरखापत्र, मदरल्याण्ड, राइजिङ नेपाल लगायत पत्रिकामा समाचार छापियो । मैँले कम्प्यूटर बनाएको खबर अन्य एक दुई वटा देशसम्म पुगेछ । त्यसैक्रममा चाइनिज एम्बेसीबाट २ जना मान्छे मलाई खोज्दै आए । मलाई भेटेर उनीहरुले प्रश्न गरेका थिए, ‘खै तपाईँले बनाएको कम्प्यूटर कहाँ छ ? चल्छ त्यो ? चलाएर हामीलाई देखाउनुस् त । के–के काम गर्छ त्यसले ?’ मैँले चलाएर देखाएँ । सबै छक्क परे । उनीहरु गएको भोलिपल्ट त मैँले बनाएको कम्प्यूटर र मेरो बारेमा सिन्ह्वा न्यूजमा छापिएछ । हङकङमा छ सिन्ह्वा न्यूजको हेडक्वाटर । उनीहरुले अंग्रेजी, चाइनिज दुवै भाषामा नेपालमा मुनि शाक्यले कम्प्यूटर बनायो भनेर समाचार छापिदिएछन् । त्यसपछि ८८ देशका सबै पत्रपत्रिकामा एकैचोटी समाचार आयो । त्यो बेलामा मलाई भाग्यले साथ दिएकै हो ।   

त्यो समयमा विज्ञान, प्रविधिको अवस्था कस्तो थियो ?   

मैँले कम्प्यूटर बनाउँदा भारत, पाकिस्तानमा बनेकै थिएन । त्यतिबेला पेनड्राइभ, हार्ड डिक्स केही पनि थिएन । सबै काम हातैले गर्नुपथ्र्यो । एउटा प्रोग्राम हाल्नलाई आधा घण्टा भन्दा बढी समय लाग्थ्यो ।   

यहाँ सिंहदरबारमा थियो, कम्प्यूटर सेन्टर भन्ने । त्यो बेलाको सरकारले अमेरिकामा बनेको एकदमै ठुलो हात्तीजत्रो कम्प्यूटर भाडामा ल्याएको थियो । त्यतिबेला एसएलसीको परिक्षाफलहरु सबै त्यही कम्प्यूटरबाट निकालिएको थियो । त्यसको महिनाको मात्रै डेढ लाख बढी भाडा तिर्नुपथ्र्यो रे त्यतिबेला । मैँले बनाएको कम्प्यूटर त्यति ठुलो होइन, सानो टेबुलमै अट्ने खालको थियो, डेक्सटप कम्प्यूटर । समाचार छापेपछि त संसारभरी नै खलबली मच्चियो । सबैले चिनेँ मलाई ।   

पछि अमेरिकन पनि मलाई खोज्दै खोज्दै नेपाल आए । ‘मुनि शाक्य तपाईँले कम्प्यूटर बनाउनुभएछ । मैँले राइजिङ नेपालमा पढेँ । एकदमै खुशी लाग्यो । अब के गर्ने इच्छा छ तपाईँको ?’ भेटमा उनीहरुले सोधे । मैँले ‘यो विषयमा अझै धेरै कुरा सिक्नु छ’ भनेँ । उनीहरुले फेरि सोधे, कहाँ गएर सिक्न मन छ ? मेरो जवाफ थियो, ‘अमेरिका’ त्यसपछि उनीहरुले अमेरिका गएर यसैसँग सम्बन्धित कम्पनी भेटेमा खबर पठाउने आश्वासन दिएर गए । 

मलाई विश्वास लागेको थिएन । सपना जतिकै लागेको थियो । आश पनि गरेको थिइनँ । तर भाग्यले अर्को मोड लियो । उनीहरुले वाचा पुरा गरे । एउटा कम्प्यूटर वैज्ञानिकलाई असिस्टेन्ट चाहिएको रहेछ । रातदिन काममा खटिन सक्ने, इच्छाशक्ति भएको मान्छे, म जस्तै । चिठ्ठी आयो मलाई यहाँ । ‘मैँले कम्प्यूटर वैज्ञानिक भेट्टाएँ, आउने हो ?’ भनेर सोधेका थिए । हाइटेकको जन्मदाता पनि अमेरिका नै हो । मलाई त ‘के खोज्छस् कानो आँखो’ भनेजस्तै भयो ।   

अमेरिकामा चाहीँ के–कति उपलब्धि हाँसिल गर्नुभयो नि ?   

पैसा जम्मा गरेर अमेरिका गएँ, वैज्ञानिकसँग भेट भयो, ऊ पनि दंग पर्यो । सुरुमा तलब थिएन । त्यहाँ राति १२ बजेसम्म पनि काम गर्थेँ । पैसा थोरै थियो, खान लाउनलाई ठिक्क हुन्थ्यो । पछि परिवारलाई पनि त्यतै लगेँ । त्यहीँ राम्रो व्यवस्था भयो । एउटा कम्प्यूटर बनाउनै कति दिन लाग्थ्यो । त्यहाँ हजारौँ कम्प्यूटर बनाएँ ।   

केही वर्षपछि नेपाल फर्किएँ । फर्केर आउने बेलामा त्यहाँका चियरमेनहरु सबैले मलाई त्यतै बस भनेर कति आग्रह गरेका थिए । जे भन्छौ त्यहि पुर्याइदिन्छु भनेर विन्ती गरे । सुखैले बसको थिएँ । ‘तिमी नेपाल गएर धेरै दुःख पाउँछ मुनि शाक्य, त्यहाँ केही छैन भन्थे ।’ ‘तिमी दुःख खोज्न जान लाग्या हो ?’ भनेर प्रश्न गर्थे । तर मलाई त्यहाँ बस्नै मन लागेन ।   

नेपालीहरु अमेरिका भनेपछि मरिहत्ते गर्छन्, तपाईँ चाहीँ अमेरिकाले बिन्ती बिसाउँदा पनि बस्नुभएन ?   

हरेक पटक यहीँ सोच्थेँ कि, म अमेरिकामा मात्रै बसेर हुँदैन । मेरो जिन्दगी यहीँ बिति जान्छ । देशका लागि मैँले कहिले गर्ने ? यही चिन्ताले अमेरिकाप्रतिको मोह घट्दै गयो । अमेरिकामा कमाएको सिपको सदुपयोग गर्छु । आफ्नै देशमा केही गर्छु भन्ने सोचले नेपाल फर्किएँ ।   

नेपालीका लागि तपाईँले देखेका सपना पुरा भए त ?   

नेपाल फर्किएर कम्प्यूटरको के काम गर्दा नेपाल र सबै नेपालीलाई फाइदा पुग्छ भनेर सोच्न थालेँ । त्यसपछि सोच आयो, यसमा नेपाली भाषा (देवनागरी) हाल्छु । यसै शिलशिलामा मैँले सन् १९८३ मा देवनागरी कम्प्यूटर बनाएँ । पहिलो पटक कम्प्यूटरमा मैँले राष्ट्रिय गान ‘श्रीमान् गम्भीर’ टाइप गरेर राखेँ ।   

त्यतिबेला त्रिचन्द्र कलेजमा विज्ञान प्रविधिको प्रदर्शनी भएको थियो । त्यो कम्प्यूटर ७ दिनसम्म त्यहीँ राखेँ । सबैले अचम्म मान्दै हेरे । भीड नै लागेको थियो । लाखौँ लाख मानिसहरु हेर्न आउँथे । सबैलाई चलाएर देखाउँथँे, जानकारी गराउँथे, निःशुल्क । घाँटी पनि सकुेन मेरो । कृषि विकास बैंकले पदाधिकारीहरुले बैंकका लागि त्यस्तै कम्प्यूटर बनाइदिन आग्रह गरे । बैंकका लागि फिट हुने १९ वटा कम्प्यूटर बेचेँ मैँले । ८५ हजारका दरले । त्यो ठुलो सफलता थियो मेरो ।   

नेपाली शब्द र भारतीय शब्द मेल खाने भएपछि भारतले पनि मलाई बोलाएको थियो । मैँले बनाएको देवनागरी कम्प्यूटरले उनीहरुलाई पनि आकर्षित गरिरहेको थियो । तर म गइनँ । आफ्नै देशमा पौरख गर्छु भनेर अमेरिका त छोडेर आएको मान्छे म, भारत, पाकिस्तान, बंगलादेशले बोलाउँदैमा किन जान्थेँ र ?   

केही समयपछि कृषि विकास बैंककै नयाँ ब्रान्च खुल्यो । उद्घाटनका बेला मैँले नै बनाएको कम्प्यूटर राखिएको थियो । त्यो बेलाको अर्थमन्त्री प्रकाशचन्द्र लोहनी हुनुहुन्थ्यो । अर्थमन्त्रालयले पनि एउटा कम्प्यूटर किन्यो । पछि नेपाल बैंकले पनि किन्यो । म उत्साहित भएँ । नेपालमै कम्प्यूटर बनाउने कारखाना खोल्न मन लाग्यो । सबै नेपालीको लागि पुग्ने गरी कम्प्यूटर बनाउने सपनाले डेरा जमायो । त्यो सपनाले मलाई निदाउनै दिएन । अनेक गरी पैसा जम्मा गरेर कम्प्यूटर बनाउने मेशिन ल्याएँ । झण्डैँ ४ करोड पर्यो त्यो मेशिनको । त्यसबाट महिनाको ५० हजार कम्प्यूटर बन्छ । खाइ नखाइ गरेर मेशिन ल्याएँ तर यतिबेला भाग्यले साथ दिएन ।   

त्यो निकै ठुलो उपलब्धि थियो, किन अघि बढाउनु भएन व्यवसाय ?   

कम्प्यूटर त ल्याएँ । तर मैँले सोचेजस्तो सफलता हात लागेन । कति मन्त्रीहरु आए । दुई प्रधानमन्त्री त यहीँ आइसकेका छन् । मरिचमान सिंह पनि आएका थिए । उनीहरुले यो कम्पनीलाई विश्वव्यापी स्तरमा पुर्याउनुपर्छ भनेर आश्वासन दिएर जान्थे । मलाई पनि ओहो ! कतिलाई जनालाई सिकाउनु पर्छ होला भनेर रातभरी निन्द्रा समेत लाग्दैन थियो । दंग पर्थेँ । तर उनीहरु यहाँबाट गएपछि बिर्सिदारहेछन् । कसैले पनि राष्ट्रिय लेभलमा पुर्याउन पहल गरेनन् ।   

मैँले कम्प्यूटर बनाउने मेशिन ल्याउँदा कति देशहरुमा कम्प्यूटर बनेकै थिएन । यसलाई विस्तार गर्न सकेको भए अन्तर्राष्ट्रिय स्तरसम्म हाम्रै देशमा उत्पादित प्रविधि पुग्थ्यो । आज त्यो मेशिन यहीँ थन्किएर बसेको छ । त्यसबाट मैँले हजारौँ कम्प्यूटर बनाएको थिएँ । नेपाल बैंकमा मात्रै १३५ वटा बेचेको थिएँ ।   

त्यो मेशिन किन्नका लागि जति खर्च भयो त्यसको आधा पनि उठेको छैन । मेरो ध्यान अझै पनि यसलाई विश्वभर चिनाउनेतिर छ । तर घुम्ने मेचमा बस्नेहरुले कहिल्यै पनि सोचेनन् कि यसबाट धेरै आर्थिक लाभ लिन सकिन्छ भनेर । मैँले त्यत्रो दुःख गरेर कमाएको शिक्षा दिक्षा प्रयोग गर्न सकिनँ, यही दुःख लाग्छ ।   

तपाई त नेपालको शान, सरकारसँग सहयोग माग्नुभएन ?   

सरकारमा बसेका मन्त्रीहरुले मलाई आश्वासन मात्रै दिए । जसकारण मैँले बनाएको कम्प्यूटरले जुन मार्केट पाउनुपर्ने थियो, त्यो पाउन सकेन । सन् १९७० कै दशकमा स्थापना भएका कम्पनीहरुले विश्वमा वर्चस्व जमाइसकेका छन् । उनीहरुको सरकारले प्रविधिलाई चिन्यो । त्यसैले लाखौँ लाख उत्पादन गरेर विश्वव्यापीकरण गर्न सफल भए ।   

नेपालको घुम्ने कुर्सीमा बस्नेहरुलाई त्यो सोच कहिल्यै आएन । अझै पनि सरकारले चासो दिने हो भने म सबै कुरा सिकाउन तयार छु । सरकारसँग खर्बौँ बजेट छ, त्यो के का लागि ? कसले के पाइरहेका छन् , जता पनि भ्रष्टाचार मात्रै छ । पानी पनि दिन सकेको छैन ? म एक्लो परेँ । तर मैँले अझै पनि हरेश खाएको छैन । हतोत्साहित भएको छैन ।   

अहिलेसम्म के–के प्रविधिहरु सिर्जना गर्नुभयो नि ? अबको योजना के छ ?   

मैँले नेपाली बोल्ने रोबर्ट बनाएको छु । २००६ मा मैँले सुपर कम्प्यूटर पनि बनाएको थिएँ । १६ वटा कम्प्यूटर जोडेर एक ढिक्काको पावरफुल कम्प्यूटर । त्यसपछि ग्रीन कम्प्यूटर बनाएँ । कम पावरमा चल्ने । त्यो बेला लोडसेडिङ हुन्थ्यो । १६ घण्टा बत्ती बल्दैन थियो । ठुलोठुलो कम्प्यूटर कहाँ चल्थ्यो र ? यो ३५ वाटको पावरमै चल्ने । अन्यलाई २६० वाट चाहिन्थ्यो । बैंक र दूरसञ्चारले अलिअलि किन्यो यो खालको कम्प्यूटर ।   

सामान्य रोगले पनि मान्छेको ज्यान जान थालेपछि मान्छे बचाउनका लागि टेलिमेडिसिन सेवा दिन ग्रीन कम्प्यूटर बनाएँ । अहिले पनि विज्ञान प्रविधिसम्बन्धी नयाँ नयाँ कामहरु गरिरहेको छु ।   

कसरी बचाउँछ कम्प्यूटरले मान्छे ? टेलिमेडिसिन प्रविधि भनेको के हो ?   

झण्डैँ ११, १२ वर्षअघिको कुरा हो । जाजरकोटमा ३०७ जना मान्छेले ज्यान गुमाएको समाचार सुनेँ । साधारण झाडापखालाबाट त्यत्रो मान्छेले ज्यान गुमाएको सुन्दा निकै दुःख लाग्यो । सायद म डाक्टर भएको भए त्यहीँ गएर उपचार गर्थेँ । सबैलाई निको बनाउँथेँ । मलाई निकै पीडा भयो । त्यसपछि मैँले टेलिमेडिसिन बनाएको हुँ, क्यामेरासहितको । 

कम्प्यूटरले मान्छेको ज्यान कसरी जोगाउँछ भनेर मैँले गरेर देखाएँ । डाक्टरहरुलाई बोलाएँ । कालिकोटका बिरामीलाई यहाँ बसि बसि हेर्न मिल्थ्यो । ५–६ जना डाक्टरहरु यहीँ बसेर बिरामीको चेकअप गर्थे । न बिरामी यहाँ आउनु पर्यो, न डाक्टर कालिकोट जानुपर्यो । हामीले यहाँबाट कति बाकस औषधी पनि पठाइदिएका थियौँ । निःशुल्क ।   

नेपालबाटै कम्प्यूटर निर्यात कतिको सम्भव छ  ?   

नेपालमा के छैन र ? सबथोक छ । मात्र हामीले चाहनुपर्यो । अमेरिकाले पनि सबै चिज आफ्नै देशमा बनाएको हुँदैन । कुनै चीज मेक्सिकोबाट लिन्छ, कुनै जापान त कुनै जर्मनीबाट । अनि एक ढिक्का बनाएर कम्प्यूटर बनाउँछ । त्यो हामी पनि गर्न सक्छौँ । मात्र हामीले आफ्नो देशमा भएको स्रोत र साधनको सदुपयोग गर्न नजानेका हौँ । सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन नै गर्दैन अनि कसरी हुन्छ विकास ? वर्षमा हजारौँ इन्जिनियर निक्लिन्छन् यहाँ । पैसा हुनेहरु लाखौँ तिरेर विदेश गइरहेका छन् । कोही हलो जोतेर बस्न बाध्य छन् । अझै पनि ढिलो भएको छैन । यसमा थोरै लगानी गर्ने हो भने विज्ञान प्रविधिमा हाम्रो देश धेरै माथि उठ्छ । युवाहरु रोजगारीका लागि विदेश जानै पर्दैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *