चितवनमा ६ वटा तरकारी संकलन केन्द्र निर्माण

कार्तिक ३, चितवन । किसानले उत्पादन गरेको तरकारी तथा फलफुलको उचित मूल्य दिलाउन  चितवनमा तरकारी र फलफुलको संकलन केन्द्र निर्माण गरिएको छ ।   

संघीय सरकारको सहकारी बजार विकास कार्यक्रम अन्र्तगत चितवनमा ६ वटा तरकारी तथा फलफुल संकलन केन्द्र निर्माण गरिएको हो । बाँकी ६ वटा यसै वर्ष निर्माण गरिने सहकारी बजार विकास कार्यक्रमका फोकल पर्सन तथा जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष हरि प्रसाद पौडेलले जानकारी दिए ।   

चितवनको राप्ती, कालिका र रत्ननगर नगरपालिका यो कार्यक्रमका लागि छनौट भएको छ । प्रत्येक नगरपालिकामा ४,४ वटा कृषि सहकारी संस्थामा तरकारी तथा फलफुल संकलन केन्द्र निर्माण गर्न लागिएको हो ।  

  

राप्ती नगरपालिकाको साना किसान कृषि सहकारी संस्थामा निर्माण गरिएको केन्द्रको आयव्यय सार्वजनिक गरिएको छ । राप्ती नगरपालिका प्रमुख प्रभा वरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भवन निर्माण समिति संयोजक एवंम् सहकारीका उपाध्यक्ष वालानन्द ढुंगेलले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।   

  

कुल १५ लाख ७७ हजार ३५० रुपैयाँमा तरकारी संकलन केन्द्र निर्माण गरिएको हो । जसमध्ये ४ लाख ७३ हजार २०५ रुपैयाँ साना किसान कृषि सहकारी संस्था र बाँकी ११ लाख ४ हजार १४५ रुपैयाँ अनुदान रकमबाट केन्द्र निर्माण गरिएको सहकारीका मुख्य प्रवन्धक पुष्पराज रानाले जानकारी दिए ।   

केन्द्र संचालनपछि तरकारी र फलफुलमा प्रयोग हुने विषादी विस्तारै न्युनिकरण हुने र किसानले व्यापारी खोज्दै जानुपर्ने बाध्यताको अन्त्य हुने सहकारी बजार विकास कार्यक्रमका फोकल पर्सन पौडेलको विश्वास छ । 

पहिलो चरणमा चितवनसहित मकवानपुर, धादिङ, नुवाकोट, ललितपुर, काभ्रे जिल्लामा सहकारी बजार विकास कार्यक्रम लागू भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *