लालिगाः ग्रानडासँग रियलकाे सहज जित, इडेन हाजार्डकाे पहिलाे गाेल

एजेन्सी : आफ्ना स्टार खेलाडीहरुले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा ग्रानडालाई ४-२ गोलले हराएको छ। घरेलु मैदानमा रियलका लागि करिम बेन्जेमा, लुका मोड्रिच, इडेन हाजार्ड र हामेस रोड्रिगुएजले एक एक गोल गरे।
खेलमा ३-० गोलले पछाडि परेको अवस्थामा दुई गोल फर्काउँदै ग्रानडाले पुनरागमनको प्रयास गरेको थियो। खेल सुरु भएको दोस्रो मिनेटमा रियल म्याड्रिडले अग्रता लिएको थियो। बेन्जेमाले गारेथ बेलको पासमा गोल गरेका थिए।
हाजार्डले इन्जुरी समयमा गोल थपेपछि पहिलो हाफमा रियल म्याड्रिड २-० गोलले अगाडि रह्यो। रियल म्याड्रिडका लागि हाजार्डको यो पहिलो गोल हो। उनी चेल्सीबाट स्पेनिस क्लब भित्रिएका हुन् ।

पूर्व फिफा वर्ष खेलाडी मोड्रिचले ६१ औँ मिनेटमा गोल थपेका थिए। त्यसपछि ग्रानडाले ६९ र ७७ औँ मिनेटमा लगातार दुई गोल फर्काएपनि भ्रमणकारी टोलीको हार टर्न सकेन। रोड्रिगुएजले इन्जुरी समयमा गोल गरे।
८ खेलबाट १८ अंक भएको रियल म्याड्रिड तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ग्रानडाको ८ खेलबाट १४ अंक छ। सात खेलपछि एट्लेटिको म्याड्रिड र बार्सिलोनाको समान १३ अंक छ।
रियल म्याड्रिड यो सिजन घरेलु लिगमा अपराजित छ। उ प्रतियोगितामा यो सिजन एकमात्र अपराजित टोली हो। सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा रियलका बेन्जेमा ६ गोलसहित घरेलु लिगको शीर्षस्थानमा छन्। बेटिसका लोरेन र भिल्लारियलका जेर्राड मोरेनोको पनि समान ६ गोल छ।








