इप्रका धरानको हिरासत भवनलाई ११ लाख सहयोग

कात्तिक ९, धरान । धरानको इलाका प्रहरी कार्यालय परिसरमा निर्माण भइरहेको हिरासत भवनलाई बेलायत र हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । 

बेलायतमा बसोबास गरिरहेका धरानेहरुको संस्था धरान समाज युके र हङकङमा भएका धरानेहरुको संस्था धरान हङकङ मञ्चले हिरासत भवन निर्माणको लागि शनिवार निर्माणधिन भवन परिसरमा नै पुगेर सहयोग हस्तान्तरण गरे । उक्त निर्माणाधिन भवनलाई युकेबाट नगद १० लाख सहयोग भएको छ भने हङकङबाट एक लाख सहयोग प्राप्त भएको छ ।   

धरान समाज युकेका अध्यक्ष सुर्यमान गुरुङले हिरासत भवन निर्माण समितिका अध्यक्ष मिनकुमार सुब्बा, कोषाध्यक्ष सुनिता केसी राई लगायतलाई सहयोग रकम हस्तान्तरण गरे । धरान हङकङ मञ्चका पुर्वअध्यक्ष तथा हिरासत भवन समितिका प्रतिनिधि नानीचन्द्र सिंघक लिम्बूले कार्यक्रममा एक लाख रुपैया प्रदान गरे ।   

धरान समाज युकेका अध्यक्ष सुर्यमान गुरुङले आफुहरु विदेशमा भएपनि आफनो देश र समाजको माया धेरै लाग्ने गरेको बताए । धरानबाट हिरासत भवन निर्माणको लागि पत्र पाएपछि सामाजिक कार्यको लागि सहयोग गर्ने निर्णय भएवमोजिम नै आफुहरुले १० लाख रुपैया संकलन गर्न सफल भएको गुरुङले बताए ।   

हिरासत भवन निर्माण समितिका अध्यक्ष मिनकुमार सुब्बाले भवन निर्माणको क्रममा धेरै चुनौती र अफ्ठ्याराहरु आइपरे पनि निरन्तर लागिपरेको बताए ।  उनले सहयोग गरेको भन्दै बेलायत र हङकङमा रहेका सम्पुर्ण नेपालीहरुलाई धन्यवाद पनि दिए ।   

कार्यक्रममा निर्माण समितिकी कोषाध्यक्ष सुनिता केसी राईले हालसम्मको आय व्यय विवरण प्रस्तुत गरेकी थिइन् । राईका अनुसार हाल सम्म १ करोड ४ लाख ३१ हजार ३ सय ८१ रुपैया नगद सहयोग संकलन भएको छ । जसमा ४ लाख ६० हजार ९ सय ७२ रुपैया बराबरको जिन्सी पनि सहयोग प्राप्त भएको छ । हिरासत भवन निर्माणमा १ करोड ९ लाख ४ सय ७९ रुपैया खर्च भइसकेको छ् ।   

हिरासत भवनमा विभिन्न आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा राखिने छ । इप्रकाको थुनुवा कक्ष अत्यन्तै साघुरो र अव्यवस्थित हुँदा थुनुवाहरुले कष्टपुर्ण रुपमा बस्नुपर्ने बाध्यता रहदै आएको छ । नयाँ भवन निर्माण भएसँगै थुनुवाहरुले कष्ट व्यवहोर्नु नपर्ने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *