आज जापानी सम्राटकाे गद्दी आरोहण हुँदै

कार्तिक ५, जापान । जापानी सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोह मङ्गलबार इम्पेरियल प्यालेसमा हुँदैछ । नयाँ सम्राटलाई बधाई तथा शुभकामना दिन देशविदेशका प्रतिनिधि राजधानी टोकियो पुगेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी राज्याभिषेक समारोहमा सहभागी हुन आइतबार राजधानी टोक्यो पुगेकी छन् । राष्ट्रपतिसहितको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी तथा सञ्चारकर्मी छन् । 

स्थानीय समयानुसार अपराह्न १ देखि १ः३० सम्म हुने समारोहमा सम्राट नोरुहितो सेदेन– मात्सु –नो –मा (स्टेट रुम) मा आउने छन् र उनको पछि राजप्रासाद सेवाका पदाधिकारीले तरबार, जवाहरत, राजकीय निशाना छाप आदि लिएर आउने छन् । त्यसपछि राजा नोरुहितो सिंहासनमा बस्नुहुनेछ र राजप्रासाद सेवाका पदाधिकारीले आफूले बोकेका वस्तु सिंहासनको टेबलमा चढाउने छन् । साम्राज्ञी मासाको पनि स्टेट रुममा आउने छिन् र आफ्नो आसनमा बस्ने छिन् । समारोहमा अतिथिहरुले सम्राट र साम्राज्ञीप्रति शुभकामना तथा सम्मान जाहेर गर्ने छन् । 

समारोहमा सम्राट नोरुहितोले सम्बोधन गर्ने र प्रधानमन्त्री सिन्जो आबेले बधाई मन्तव्य दिने पनि उल्लेख छ । साँझ अतिथिहरुको सम्मानमा राजकीय भोजको आयोजना हुने बताइएको छ । 

सन् १९६० फेब्रुअरी २३ मा जन्मिएका सम्राट नारुहितो गत मे १ मा क्रिसान्थेमम सिंहासनमा आसीन भएपछि रिवा युग सुरु भएको मानिएको छ । आफ्ना पिता अकिहितोले अप्रिल ३० मा सन् १८१७ देखि जापानी राजतन्त्रको इतिहासमा पहिलो पटक गद्दी परित्याग गरेपछि उनी जापानका १२६ औँ सम्राट बनेका हुन् । 

पूर्वी एसियामा पर्ने जापानमा संवैधानिक राजतन्त्रसहितको संसदीय सरकार छ । प्रशासनिक रुपले ४७ प्रिफेक्चरमा विभाजित जापानमा सम्राट् राष्ट्रिय एकताका प्रतीक र प्रधानमन्त्री सरकारका प्रमुख हुन्छन् । तल्लो सदनमा ४८० सदस्य चार वर्षका लागि र माथिल्लो सदनमा २४२ सदस्य ६ वर्षका लागि चुनिन्छन् । जापान अमेरिकापछिको प्रविधिमा शक्तिशाली अर्थतन्त्र र क्रयशक्तिका हिसाबले अमेरिका र चीनपछिको तेस्रो ठूलो अर्थतन्त्र मानिन्छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *