प्रचण्ड नै मदन भण्डारी रहेको नेकपा अध्यक्षको दावि

कात्तिक ७, विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलभूत रुपमा पार्टी एकता टुङ्गाएको र सबैले पार्टी एकतामा  एैक्यवद्धता जनाए पार्टी अगाडी बढ्ने बताएका छन् ।  विराटनगरमा शुक्रबार  नेकपा मोरङले दसैं, तिहार, छठ पर्वहरूकाे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।   

‘पार्टी एकता कुनै क्षणिक स्वार्थको निम्ति या कुनै व्यक्तिगत आकांक्षको निम्ति गरेको होइन ।’ उनले भने–‘यो एकता राष्ट्रको आवश्यकता, राष्ट्रिय एकता र स्वाधिनताको आवश्यकता तथा जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न ऐतिहासिक आवश्यकतामा उभिएर गरिएको हो ।’   

प्रचण्डले आफुहरु राज्य सञ्चालन गर्ने ठाउँमा पुगिरहँदा विपक्षीले दया माया गरेर दिएको ठाँउ दिएको नभई नेपाली जनता जनताले पैदा गरेका पार्टी र कार्यकर्ताको संयुक्त पहलमा प्राप्त गरेको बताए ।   

 एकता र जितपछि अहंकार पलाएमा नेकपालाई कसैले हराउनु नपर्ने अध्यक्ष प्रचण्डले बताए ।  ‘२०६४ सालमा माओवादीले उधुमै जित्यो । जित्दाखेरि कसरी धर्ती छोडिँदो रहेछ, अहंकार कसरी आउँदो रहेछ भन्ने पनि थाहा भयो’ उनले भने– ‘२०७० सालमा नराम्ररी हार्दाको हालत पनि भोगियो । यो अनुभवलाई देशको समृद्धि र बलियो कम्युनिष्ट पार्टी बनाउन लगाउनुछ ।’ 

स्वर्गीय नेता मदन भण्डारी र प्रचण्डको ओरिजिन एउटै भएको दावी समेत अध्यक्ष प्रचण्डले गरे । ‘जसरी मदन भण्डारी झापा विद्रोहकालिन ओरिजिनल माले हुनुहुन्नथ्यो त्यसैगरी म पनि ओरिजिनल माओवादी होइन ।’ अध्यक्ष प्रचण्डले भने–‘हामी दुवै जना तत्कालिन पुष्पलाल समूहमा आवद्ध सदस्यहरु थियौं ।’ मदन भण्डारी र प्रचण्डबीच राजनीतिकरुपमा रहेका संयोग र समानताका किस्सा सुनाउँदै अध्यक्ष प्रचण्डले मदन भण्डारीको अनुपस्थितिमा प्रचण्ड नै मदन भण्डारी रहेको सम्म भने ।   

दुवै जना पुष्पलाल समूहबाट अन्य समुहमा आवद्ध भएर छोटो समयमा नै आन्दोलनको नेतृत्वको रुपमा स्थापित भएको र स–साना कम्युनिष्ट पार्टीहरुलाई समेट्दै दुवै नेताहरु एउटै समयमा छुट्टाछुट्टै पार्टीको महासचिव भएको प्रचण्डको भनाई छ ।  प्रचण्डले एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्ने अभियानमा मदन भण्डारी र आफुले विगतमा गरेको मेहनतलाई अध्ययन गर्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे । 

नेपालको राजनीतिमा कम्युनिष्टको नेतृत्व कसैको दयाले नभई जनताको लामो त्याग र बलिदानीबाट स्थापित भएकोले जनताको चाहना विपरित पार्टी सञ्चालन नहुने प्रचण्डले बताए । उनले पछिल्लो समय सरकारले दिर्घकालिन प्रभाव राख्ने पूर्वाधार विकासको काम गरिरहेको र चीन तथा भारत लगायत विश्वका अन्य देशहरुसँगको सम्वन्धमा सुधार हुँदै गएको बताए । 

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले जनता र कार्यकर्ताको चाहना तथा राष्ट्रिय आवश्यकता अनुसार पार्टी एकता भएकोले त्यसप्रति सबै इमान्दार रहनुपर्ने बताए । उनले कम्युनिष्टहरुको हित नचाहनेहरुले एकतालाई टुंगोमा पुग्न नदिने उपायहरुको खोजी गरिहेकोले नेतृत्वले त्यस्ता प्रयत्नहरुबारे ध्यान दिन आवश्यक रहेको पनि बताए । नेपालको आवश्यकता अनुसार बिचारको विकास गर्दै पार्टीलाई अघि बढाउने र कम्युनिष्ट पार्टीलाई बिचारहीन भीड नभई शक्तिमा परिणत गर्ने तर्फ ध्यान दिनुपर्नेमा मन्त्री पोखरेलले जोड दिए ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *