पर्यटन प्रर्वधनका लागि नारायणी र त्रिशुली नदीमा मोटरबाेट संचालन

असोज १७, चितवन ।    त्रिशुली र नारायणी नदीमा मोटरबोट संचालनमा ल्याईएको छ । आयुस्मा मोटर बोट कम्पनीले शुक्रवारबाट मोटरबोट मार्फत जलयात्रा सुरु गरेको हो ।  कालिखोलाबाट सानो गढीसम्मको ४५.५ किलोमिटर दुरीमा  मोटरबोट सञ्चालन गरेको कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले बताए । 

सुरुमा २ वटा मोटरबोट प्रयोगमा ल्याएको छ । अहिले १० सिट र १४ सिटको मोटरबोट संचालनमा आएपनि केही महिनाभित्र ४० सिटको संचालनमा ल्याईने उनले बताए । अहिले जलयात्रा गरिने रुट नेपालकै सबैभन्दा लामो रुट भएको उनको दाबी छ ।  

कम्पनीले फिस्लिङदेखी मेघौलीसम्मको रुटमा जलयात्रा गराउन अनुमति माग गरेपनि अहिले कालिखोलादेखी सानोगढी सम्मको रुटमा अनुमति पाएको उनले जानकारी दिए । २१ जना शेयर सदस्य रहेको कम्पनीले मोटर बोट सञ्चालन गर्न एक करोड रुपैयाँ लगानी गरेको छ । 

अहिले सञ्चालनमा हुने २ वटा मोटरबोट सामान्य भएपनि ४० सिटे मोटरबोटमा भने लक्जरी सिट र ओपन चियर सिटको व्यवस्था हुने उनको भनाई छ । ४५.५ किलोमिटर दुरीको यात्रा दुई घण्टामा पुरा हुनेछ । यात्राको क्रममा नास्ता र खानाको समेत व्यवस्था हुने कम्पनीका मार्केटिङ म्यानेजर समिर श्रेष्ठले जानकारी दिए ।  

रमाईलो जलयात्राका लागि स्वदेशी पर्यटकका लागि कम्पनीले ३ हजार ५ सय रुपैयाँको प्याकेज तयार गरेको छ । जसमा मोटरबोटको जलयात्रा, खाना तथा नास्ताको व्यवस्था र एक रात नारायणगढमा बसाईको व्यवस्थालाई समेटीएको छ । रमाईलो जलयात्राको शुभारम्भले पर्यटनको विकास र विस्तारमा योगदान पुग्ने कम्पनीको विश्वास छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *