जापानमा ‘हागिबिस’ का कारण ज्यान गुमाउनेहरुको संख्या ५६

असोज २८, काठमाडौं । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार विनासकारी आँधीपछि अझै १५ जना बेपत्ता छन् । 

यो संख्या अझ बढ्न सक्ने अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आँधीबाट धेरै घाइते भएको, खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान रहेको अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको छ । 

आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । आँधीका कारण जापानमा भइरहेको रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । 

Image result for ‘हागिबिस

आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेलभने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् । आँधीपछि उद्धारका लागि रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन् । 

आँधी कम भए पनि नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीले बताएका थिए । जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसले घरका झ्याल र कौसीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ । 

नागानोमा एउटा बुलेट रेल माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनहरुले सोमबार पनि प्रसारण गरेका छन् । हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *