सी जिनपिङ भ्रमण: रेल, सुरुङ र ट्रान्समिसन लाइन नेपालकाे प्राथमिकतामा

असोज २३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा नेपालले रेल, सुरुङ र ट्रान्समिसन लाइनलाई प्राथमिकताका साथ उठाउने भएको छ । सी शनिबार २५ असोजमा काठमाडौं आउनेछन् । 

दुई देशका राष्ट्रपतिबीच त्यही दिन भेटवार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि मण्डलसहित वार्ता भए लगत्तै दुई देशबीच विभिन्न सम्झौता तथा समझदारीहरुमा हस्ताक्षर गर्ने तयारी छ । 

चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा उठाउने विषय र सहमतिबारे नेपालको तयारी पूरा भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी गराएका छन् । बास्कोटाका अनुसार नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई पहिलो प्राथमिकतामा राखेको छ । राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्गबारे नयाँ घोषणा हुन सक्छ । सम्भवतः चिनियाँ लगानीमा रेलमार्गको सम्भाव्यता अध्ययनको घोषणा गर्ने तयारी गरिएको छ । 

यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पनि चीनले नै गरेको थियो, जसले रेलमार्ग निर्माण गर्न सकिने तर जटिल भौगोलिक क्षेत्र रहेकाले निकै कठिन रहेको देखाएको छ ।काठमाडौं–केरुङ रेलमार्गबारे लगानीको मोडालिटीबारे सहमति जुट्न सकेको छैन । नेपालले चिनियाँ अनुदानमै बनोस् भन्ने चाहेको छ भने चीनले नेपालले पनि लगानी गरोस् भन्ने आशय राखेको छ । भ्रमणका क्रममा सडक सञ्जाल अन्तरगत अरनिको राजमार्गको स्तरोन्नती र रसुवागढी–छहरे–काठमाडौं टनेल एजेण्डामा छन् । नेपाललाई चीनसँग जोड्ने अरनिको राजमार्ग महाभूकम्प ०७२ ले क्षतिग्रस्त भएको थियो । यसलाई दुई लेनमा स्तरोन्नती गर्ने सहमतिमा हस्ताक्षर गर्ने तयारी छ । 

रसुवागढी–छहरे–काठमाडौं टनेलको भने प्रारम्भिक अध्ययन भइसकेको छ । टनेल निर्माणका लागि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन् । यो सडक बनेमा काठमाडौंबाट चिनियाँ सीमा क्षेत्र केरुङ एक घन्टा आसपासको दुरीमा समेटिने छ । चीनसँग जोड्ने सीमा सडकहरु किमाथाङ्का र कोरला उत्तर–दक्षिण कोरिडर पनि एजेण्डामा परेका छन् । त्यसैगरी जलविद्यतुमा चिनियाँ लगानीसँगै क्रस बोर्डर ट्रान्समिसन लाइन पनि नेपालको एजेण्डा सूचीमा छ । 

उच्च क्षमताको गल्छी–केरुङ अन्तरदेशीय प्रसारण लाइन बनाउन दुई देशका अधिकारीहरु लामो समयदेखि छलफलमा थिए । सीको भ्रमणका क्रममा यसको लगानी जुटाउने, डीपीआर गर्ने र जीटूजी मोडलमा निर्माणको प्रस्ताव गर्ने नेपालको तयारी छ । त्यस्तै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई सहयोग गर्नेबारे समझदारी हुनेछ । मनवानपुरमा बनाइने यो विश्वविद्यालयका लागि चीनले सहयोग गर्ने तयारी छ । 

सरकारले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई ऐतिहासिक बनाउने बताएको छ । ‘भ्रमणलाई पूर्ण सफल र ऐतिहासिक बनाउनुपर्छ भन्नेमा सिंगो राष्ट्र एकमत छ’ सरकारका प्रवक्ता बास्कोटाले भने । भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री ओलीले बिहीबार बिहान पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *