टी २० श्रृखलाः भण्डारीको अर्धशतकमा नेपालको जित

असोज १९, काठमाडौं । ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरेपछि ओमानमा जारी टि २० सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । ५ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । 

जितका लागि १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको हो । पहिलो बलमा नै कप्तान पारस खड्कालाई गुमाएको नेपालले ब्याटिङमा खराब सुरुवात गरेपनि मध्यक्रमका ब्याट्स्म्यान चम्किए । साथमा बलरले उत्कृष्ठ प्रर्दशन गर्दा नेपाल जितको हकदार भयो । 

नेपालका लागि विनोद भण्डारीले ४८ बलमा नटआउट ५४ रन जोड्नका लागि ४ चौका र ३ छक्का प्रहार गरे । आरिफ शेखले २१ र सोमपाल कामीले १३ रन जोडे ।   

एक समय ३६–४ को स्थितिमा रहेको नेपाललाई विनोद र आरिफको पाँचौ विकेटको साझेदारीले उकासेको थियो । यी दुईले ६२ रनको साझेदारी गरे । खेलमा पवन सर्राफ १०, दिपेन्द्रसिंह ऐरी ६ र रोहितकुमार पौडेल ५ रनमा आउट भए । हङकङका लागि काइल क्रिस्टी र नसरुल्लाह रानाले २–२ विकेट लिए । 

टस जितेर फिल्डीङ रोजेको नेपालका लागि बलरहरुले उत्कृष्ठ प्रदर्शन गरे । हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रनमात्र जोड्यो । सुरुवाती ओभरमा हङकङले राम्रो सुरुवात गरेपनि लय कायम गर्न सकेन । ४ ओभरमा विना विकेटको क्षति ३५ रन जोडेको अवस्थामा बलिङमा आएका करणले तेस्रो बलमा ओपनर अहसान अब्बासीलाई १३ रनमा रोहित पौडेलको हातबाट क्याच गराए । 

करणले पाँचौ बलमा अर्का ओपनर निजाकत खानलाई १३ बलमा २३ रन जोडेको अवस्थामा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए । लगत्तै अर्को बलमा शहिद वासिफ पहिलो बलमा नै करणको एलबीडब्लू धरापमा पारे । कप्तान किन्चित र वाकस बर्कतले ६३ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याएका थिए । किन्चितले ३१ बलमा ३१ रन तथा वकासले ४७ बलमा ३७ रन जोडे । एहसान खान १० रनमा नटआउट रहे । 

नेपालका लागि करण केसीले ४ विकेट लिए । अभिनाश बोहोराले ३ ओभरमा १७ रन खर्चेर १७ रन तथा ललित नारायण राजवंशीले ४ ओभरमा १७ रन मात्र खर्चे । प्रतियोगिताअन्तर्गत यो चौथो खेल हो । आइतबार भएको पहिलो खेलमा आयोजक ओमानले आयरल्यान्डलाई ४३ रनले पराजित गरेको थियो । त्यसअघि शनिबारको खेलमा ओमानले हङकङलाई ७ विकेटले तथा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =