विराटनगर महानगरपालिका तथा जोगवनी र फारवीसगञ्ज नगर परिषदबीच भगिनी सम्बन्ध कायम हुने

कात्तिक ३, विराटनगर । छिमेकी मुलुक भारत र नेपालका सिमावर्ती क्षेत्रका समस्या समाधानका लागि दुवै देशका छिमेकी स्थानीय तहबीच समन्वय आवश्यकता रहेको सरोकारवाला व्यक्तिहरुले बताएका छन् ।   

जोगवनी नगरपञ्चायत मेयर अनिता देवी, फारवीसगञ्ज नगरपालिकाका उपमेयर मोती खान, भाजपा जोगवनी नगर पन्चायतका अध्यक्ष राजनन्दन यादव र जोगवनी र फारविसगंजका विभिन्न वडाका पार्षद, उपपार्षदहरु र विराटनगर महानगरपालिका मेयर भीम पराजुली उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी र भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेश शर्मा सम्मिलित भेटवार्तामा सहभागिहरुले दुवै देशका छिमेकी स्थानीय तहसँग समन्वय आवश्यक रहेको आँैल्यएका छन् ।   

छलफलका क्रममा  विराटनगर र जोगवनी दुवै क्षेत्रमा हुने बाढीको प्रकोप समाधान गर्न सिमाक्षेत्र नेपाल र भारतका वडाध्यक्ष सम्मिलित बैठक बसि समाधान गर्ने,  लागुऔषध दुव्र्यसनी प्रयोगमा हुने नियन्त्रणका लागि समन्वय गर्ने र मानव वेचविखन नियन्त्रणका लागि समन्वय गर्ने जस्ता विषयमा समहती भएको हो ।   

यसैबीच भेटवार्तामा विराटनगर महानगरपालिका तथा जोगवनी र फारवीसगञ्ज नगर परिषदबीच भगिनी सम्बन्ध कायम गर्न प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको छ ।   

यस्तै नेपाल भारतको सीमावर्ती नगरपालिकाहरुको बीचमा भाइचारा, सद्धाव र समन्वय अभिवृद्धी गर्न प्रत्येक ३ महिनामा एकपटक पदाधिकारी सम्मिलित बैठक बस्ने निर्णय समेत भएको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए । 

 दुवै छिमेकी मुलुक त्यसमा पनि सिमावर्ती नगरसँग भएका समन्वयात्मक भेटवार्ता समय अनुकुल रहेको र सफल भएको प्रतिक्रिया  पराजुलीले दिएका छन् ।  यस्ता खाले कार्यक्रमले दुवै देशका छिमेकी स्थानीयतह बीच समन्वय हुन सक्दा दुवै देशलाई फाइदा हुने विश्वास नगर प्रमुख पराजुलीको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *