आर्थिक समृद्धि हासिल गर्न संघ सरकारसँग मिलेर जाने प्रदेश सरकारका सभामुखको धारणा

असोज ११, काठमाडौं । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले सहकारीलाई उत्पादन र रोजगारीमा जोडेर आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकार गम्भिर रहेको बताएका छन् । 

देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै सभामुख श्रेष्ठले ३ नम्वर प्रदेशले सहकारी ऐन पारित गरिसकेकोले कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकार गम्भिर रहेको बताएका हुन् । 

सभामुख श्रेष्ठले सहकारीको माध्यमबाट आयातलाई विस्थापन गर्दै कृर्षि, पर्यटन र उद्योगमा लगानी वृद्धि गर्न सकिए आर्थिक सबलिकरणमा जाने बताए । उनले देशको आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकार सँगै मिलेर सहकारीले लगानी गर्न सक्ने समेत बताए ।   

सरकारको तीन खम्वे अर्थ नितिलाई सहयोग गर्न र संघसँग बाझिएका कानुन संसोधन गरेर आर्थिक विकासका लक्ष्य सँगै जोडेर अगाडी बढ्ने उनको भनाई छ । प्रदेश सभा सांसद बेली मायाँ घलेले प्रदेशको बिकास र समृद्धिको लागि सहकारीको भूमिका अपरिहार्य रहेको धारणा राख्दै सहकारी अभियानकै कारण समग्र महिलाहरुको ससक्तिकरणमा टेवा पुगेको बताईन । 

सांसद घलेले सहकारीको एकीकृत पूँजीलाई उद्योग धन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए आर्थिक समृद्धि हासिल गर्न सकिने जिकिर गरिन् । ‘चन्द्रागिरी नगरपालिकामा १४० को हाराहारीमा सहकारी रहेकाले कुन कुन संस्थाले सदस्यको हितमा काम गरिरहेका छन् त्यसको लेखाजोखा गर्नुपर्ने बेला आएको छ त्यसका लागि प्रदेश सरकार गम्भिर छ ।’ उनले भनिन् । 

चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले सहकारीको पूँजीलाई उत्पादनसँग जोड्नुपर्ने बताए । मुलुक कृषि प्रधान भनिए पनि कुखुराको दाना बेल्जियम र फूल भारतबाट आयात गरि राख्नुपरेको उल्लेख गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय सदस्य देवेन्द्र प्रधानले सरकारको प्राथमिकता सहकारीको विकास व्यवस्थापन र तीन खम्बे नीति अनुरूप कार्यान्वयनको चरणमा हुँदा हुँदै पनि सोचे अनुरूप अगाडि बढ्न नसकेको वताए ।  

सभामा संस्थाका अध्यक्ष रामनारायण घिमिरेले संस्थाले गत आवको अन्त्यसम्म ३ करोड ३७ लाख ५६ हजार ५ सय शेयर पूँजी, ६३  करोड ९० लाख ७२  हजार ५ सय ७४ पैसा बचत  संकलन, ५६ करोड ३२ लाख ६ हजार ७ सय  ऋण लगानी गरी ७३ करोड ३८ लाख ९८ हजार ५ सय ७० रुपँया कुल कारोबार गरेको बताए । 

गत आवको नाफाबाट संस्थाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले घरायसी, लघु, हायरपर्चेज, मुद्दती रसिद, व्यवसायिक र छोटो अवधिका लागि कर्जा लगानी गर्दै आएको छ ।सभामा ७० वर्ष पुगेका ज्येष्ठ सदस्यलाई सम्मानपत्र, न्यानो कपडा, हिटर प्रदान गर्नुका साथै एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्राछात्रलाई देव दर्शन एक्सिलेन्स अवार्ड र आवधिक बचतकर्ता, उत्कृष्ट निक्षेपकर्ता, उत्कृष्ट व्यवसायी र खेलाडीलाई सम्मान समेत गरिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *