नेपाल संवत् ११४० नयाँ वर्ष तथा म्हःपूजा कात्तिक १२ गते मनाउन आग्रह

असोज ७, काठमाडौं । नेपालभाषा मंकाः खलः काठमाडौंले यो वर्ष नेपाल संवत् ११४० नयाँ वर्ष तथा म्हःपूजा कात्तिक १२ गते मंगलबार मनाउन आग्रह गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको पात्रोअनुसार परम्परामा अलमल सिर्जना भएको भन्दै नयाँ वर्षको प्रथम दिन नै म्हःपूजा गरिने खलःले जनाएको छ ।  

यस्तै, कात्तिक ११ गते सोमबार औंसीका दिन लक्ष्मीपूजा तथा कात्तिक १३ गते बुधबार द्धितीयाको दिन भाइटीका मनाउन नेवार समुदायलाई आग्रह गरेको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभइ परम्परादेखि चल्दै आएको व्यवहारमा पनि ध्यान दिन आग्रह गरे । 

प्रा. डा. त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपायहरु रहँदा–रहँदै पनि समितिले गर्ने बेवास्ताप्रति असन्तुष्टि जनाए । धर्मोदय सभाका अध्यक्ष यज्ञमान पतिले लक्ष्मीपुजा, म्हपुजा र किजापुजा तीन दिन मनाउने चलन परमपरागत संस्कृति रहेको जानकारी गराए । नेपाल पचाङ्ग समितिको प्रकाशित पात्रोमा यी तिथिहरु निरन्तर छ, दोहरिएको वा खण्डित छैन ।   

 नेपाल संवत् सदा कछलाथ्व प्रतिपदाका दिन परिवर्तन हुने, यसै दिनमा नेवारहरूले म्हपुजा गर्ने चलन सयौंवर्ष अघिदेखि व्यवहारमा रहेको छ । औसिका दिन म्हपुजा गर्नु र द्धितियाका दिन नेपाल संवत् परिवर्तन हुने भनी दुष्प्रचार गर्नु र म्हपुजा र नयाँ वर्ष अलग गरी विभाजन ल्याउनु, किजापुजा प्रतिपदाका दिन गर्ने भनी विवादास्पद तिथि उल्लेख हुनु नेपालको मौलिक नेवार संस्कृति र परम्परागत मान्यताको विपरित रहेको तथ्य विज्ञ, संस्कृतिविद हरुको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *