आजका पत्रपत्रिकाः नागढुङगा सुरुङ मार्ग ४२ महिनामा, ३९ करोड रुपैयाँ ठग्नेलाई कारवाही, नेकपाको चीन मोह

आज असोज ७ गते राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविधि विषयलाई अग्र पृष्ठमा प्रकाशित गरेका छन् । अन्नपूर्ण पोस्ट, कान्तिपुर दैनिक, नागरिक दैनिक, राजधानी दैनिक तथा नयाँ पत्रिका र गोरखापत्रले विविध विषयलाई पस्किएका छन् ।   

कान्तिपुर दैनिकः 

आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले नागढुङगा सुरुङ मार्ग ४२ महिनामा शिर्षकमा कलंकी नागढुङ्गा सडक खण्डमा निर्माण गर्न लागिएको सुरुङ मार्ग ४२ महिनामा पुरा गर्ने गरी ठेक्का लगाइएको समाचार छ । आजको कान्तिपुरमै मेडिकल कलेजहरुले विद्यार्थीबाट उठाएको बढि शुल्क फिर्ता नगरे कारवाही गर्ने शिर्षकमा समाचार छ । यसैगरी पृष्ठ तीनमा ललिता निवास प्रकरणमा प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब ११४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि ठगी कसूरमा कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको समाचार छ ।   

यसैगरी कान्तिपुरले ‘सी विचारधारा’को प्रशंसैप्रशंसाः ओलीले भने विकास, समृद्धिको नयाँ अवधारणा शिर्षकमा पनि समाचार प्रकाशित गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा नेताहरुले ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तराष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रुपमा व्याख्या गरेका छन् ।   

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच सोमबार काठमाडौँमा सुरु ‘विचारधारात्मक छलफल’को उद्घाटनमा नेकपाका नेताहरुले अधिकांश समय सी विचारधाराको प्रशंसा गर्दै यही अवधारणाको सेरोफेरोमा नेपालले पनि चीनसँग विकास साझेदारी अगाडि बढाउन चाहेको बताए ।   

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको माहौल बनाउने उद्देश्यले आयोजित २ दिने छलफलमा नेकपाका अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले चीनसँग ‘शक्तिको दम्भ’ नरहेको बताए ।   

‘शक्तिशाली हुँदै गएपछि मुलुकहरुमा शक्तिको दम्भ हुन्छ । तर चीन शक्तिशाली भएपनि थिचोमिचो नगर्ने, शान्ति, मित्रताका साथ अघि बढेको छ,’ प्रधानमन्त्री ओलीले भने । यो समाचार दुर्गा खनालले लेखेका छन् । 

राजधानी दैनिकः 

मेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ ।  तोकिएभन्दा १३ लाख रुपैयाँ बढी लिएको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन तयारी थालेको हो ।   

चितवन मेडिकल कलेज, किस्ट कलेज, युनिभर्सल मेडिकल कलेज र नेसनल मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिएको पीडित विद्यार्थीको गुनासो छ । मेडिकल कलेजहरूले बढी असुल गरेको ३९ करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको विद्यार्थी संघर्ष समितिले जनाएको छ । यो समाचार प्रशान्त वलीले लेखेका छन् । 

अन्नपूर्ण पोस्टः 

यता अन्नपुर्ण पोस्टले चीनतिर ‘ढल्कियो’ नेकपा शिर्षकमा मुख्य समाचार बनाएको छ । समाचार अनुसार सत्तारुढ नेकपा चीनतिर ढल्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिष्ट पार्टीले काठमाडौँमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन् ।   

दुई पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल चलाएका छन् ।   

आगामी दिनमा दुई देशका केन्द्रीय पार्टी स्कुलमा प्रयोग गरिने पाठ्यक्रमको तयारी र अध्यापन विधि, नेताकार्यकर्ताको द्विपक्षीय अध्ययन भ्रमणमार्फत अनुभव आदानप्रदान गर्ने अवसरको सिर्जन गर्ने प्रतिबद्धता दुवै पार्टीका नेताहरुले गरेका छन् ।   

चिनियाँ राष्ट्रपतिको हुन लागेको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुई पार्टीबीच विकसित भइरहेको सम्बन्धले नेकपा चीनतिर ढल्किएको स्पष्ट हुन्छ । अन्नपूर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले लेख्छन् ।   

यस्ता छन् आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + two =