पशुपतिमा राष्ट्रिय गानः सांसद भन्छन्– ‘यो परम्परा विरोधी छ’

केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईजीले पशुपतिको आर्थिक कार्यक्रममा जाँदा उहाँले आरती हुनुभन्दा अगाडी नेपालको राष्ट्रिय गान गाउनुपर्छ भन्ने निर्देशन दिएको सन्दर्भमा पछि सुन्नमा आएको छ नेपाल सरकारले पनि त्यसलाई क्याविनेटबाट अनुमोदन गर्यो भन्ने ।   

यो वास्तवमा हाम्रो धर्म, संस्कृति र परम्परा विरोधी कुरा हो । पशुपति आर्यघाटमा आरती मात्रै हुँदैन । त्यहाँ दाहसंस्कार गर्ने मलामी तथा आफन्तजन पनि हुन्छन् । त्यो नेपालको राष्ट्रिय गान गाइरहँदा त्यसको छुट्टै परम्परा छ, त्यसको आफ्नै गरिमा छ, त्यसको आफ्नै मौलिकता छ । त्यो गाइरहँदा, सुन्दा हामी उभिनुपर्छ । जसरी संसदमा उभिने गरेका छौँ । त्यो दाहसंस्कार गरिरहेको पुत्र पुत्रीले राष्ट्रिय गान बज्दा उभिने कि नउभिने ? दाहसंस्कार गर्ने कि रोकिने ? त्यस्तो प्रचलन हुन्छ ?   

एउटा मौलिक परम्परा भएको पशुपतिनाथ जो नेपाल हिन्दू मात्रै नभएर विश्वका करोडौँ जनसंख्या त्यो धार्मिक स्थलमा आउँछन् श्रद्धाका लागि । त्यसलाई के थाहा छ नेपालको राष्ट्रिय गान त्यहाँ बज्छ भनेर । पस्नासाथ उसले दर्शन गर्छ । उसले उभिएन भने के हुन्छ ? त्यो राष्ट्रिय गानको सम्मान हुन्छ कि बेइज्जत हुन्छ ?   

त्यसकारण नेपाल सरकारको निर्णयलाई पुनर्विचार गर्नुपर्छ । र त्यस्तो ठाउँमा राष्ट्रिय गानको गरिमा पनि हुँदैन । राष्ट्रिय गानप्रति अनादर पैदा हुन्छ । यो पञ्चायतको पुनरावृत्ति जस्तै भएको छ, सिनेमा हलमा गराउने । राष्ट्रिय गान त राष्ट्रपति, प्रधानमन्त्री, सभामुख जाने ठाउँमा, विभिन्न पार्टीको कार्यक्रममा, राष्ट्रिय कार्यक्रममा बजाउने हो नि । जहाँ पायो त्यहीँ बजाउने ? त्यस्तो कहीँ हुन्छ ?   

मानिलिऊँ, उहाँले एउटा हिन्दू समुदायमा यो नियम बनाउनु भयो । प्रत्येक शुक्रबार नेपालका मुस्लिम धर्मालम्बीहरुले घण्टाघरको नजिकैको मस्जिदमा नमाज पढ्छन् । नमाज पढ्नेबेलामा पनि राष्ट्रिय गान भन भन्ने त हामीले ? त्यो मुस्लिम समुदायले मान्छन् ? नेपाली नै हो उहाँहरु, कुनैपनि धर्म आस्थासँग जोडिएको हुन्छ । बारम्बार किन विवादास्पद नियम बनाउँछन् । सरकारको अहिले यति शाख गिरेको छ, हामीलाई चिन्ता लागेको छ । यस्तै यस्तै कारणले यो बहुदलिय गणतन्त्रमाथि अनास्था प्रकट भएको छ । विभिन्न घटना घटिसकेको छ । यत्रो मिहेनतले ल्याएको नेपालको संविधानप्रति नै जनताको अनास्था छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *