एसीसी अन्डर १९ एसिया कप क्रिकेटः नेपालसँग युएई पराजित

भाद्र २४, काठमाडाैं । एसीसी अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले युएईलाई पराजित गरेकाे छ । श्रीलंकामा जारी एसीसी अन्डर १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईलाई १ सय १६० रनको विशाल अन्तरले पराजित गरेको हाे ।
नेपालले जीतका लागि २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेकोमा युएई मात्र ३४.४ ओभरमा १२५ रनमा अलआउट हुनपुग्यो । नेपाली विकेटकिपर सागर ढकालले तीन तथा रसिद खान, सूर्य तामाङ र पवन शर्राफले २–२ विकेट लिँदा युएईलाई सस्तैमा समेटियाे ।
खेलमा युएईका लागि वृतिया अरविन्द रुद्रावेलले सर्वाधिक २८ रनको योगदान दिए । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रन बनाए । उनले यसक्रममा ८ चौका र १ छक्का प्रकार गरे । नेपालका दुवै ओपनर शुन्य रन बनाएर पेभेलियन फर्केपछि उनले आशिफ शेखसँग ७१ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङलाई सम्हाले ।
शेखले ५४ बलमा आठ चौकाको मद्दतले ४५ रनको योगदान दिए । खेलको अन्त्यतिर कमलसिंह ऐरीले उत्कृष्ठ प्रदर्शन गर्दै नेपाललाई विशाल स्कोरतर्फ डोर्याए । उनले २५ बलमा ४१ रन बनाउँदा ५ चौका र २ छक्का प्रहार गरे । उनले रसिद खानसँग ७० रनको योगदान गरे । खानले पनि प्रतियाेगितामा ४४ रन बनाए ।
त्यस्तै, सन्दीप जोराले ४८ रनको महत्त्वपूर्ण योगदान दिए । उनले कप्तान पौडेलसँग मध्यक्रममा ८५ रनको साझेदारी गरे । समुह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।








